जीवनमा अनुभूतिसहितको स्थानान्तरण

233

– प्रकाश के.सी. / April 14, 2010

यो सत्य हो- हारेर जाँदै छु हङकङबाट । जीवनमा वास्तवमै भन्ने भए, जित्न केही पनि नसकेपछि, यावत् पराजयहरूको एक लामो खात लिएर छोड्दै छु हङकङ । पटक्कै लाज लागेको छैन, पटक्कै उत्साह छैन, जीवनमा यस्तो लाग्छ, धीतै मारेर हाँस्न सकिने समयबाट च्युत भएको छु । बाहिर सुनसान छ, एक्लै छु, चेरी बाहिर साथीसँग अन्तिमपटक किनमेल गर्न गएकी छ र त्यसैले मलाई अन्तिमपटक समय खाली मिलेको छ । झ्यालबाहिर सक्दो घाँटी तन्काएर परपरसम्म हेर्छु, लस्करै कारहरूको घुइ“चो दाहिनेतिरबाट बिल्डिङले छेकिने गरेपछि हराउँछन् । त्यो बिल्डिङको उतातर्फ कसरी कारहरू घुइँकिरहेको होला भन्ने जिज्ञाशा पटक्कै छैन । के नै फरक पर्छ र !

एघार वर्षपछि यसरी थातथलोलाई भोगाइको सीमा कटाउने गरेर निमिट्यान्न बनाई सदाकै लागि छोडेर जाँदा मनभित्र कसरी भावनाका ज्वारहरू उठ्दा होलान् ! त्यो लीलबहादुर क्षेत्रीको बसाइँ शीर्षकको उपन्यास पढ्दा मनमा उठ्ने गर्दथ्यो, म त्यो औपन्यासिक अनुभूतिको पात्र भएको ठान्दिनँ भन्नु पूरै सत्य नभए पनि पूरै गलत पनि होइन । बसाइँ सरिएकै हो, मनमा तर चिन्ता तथा उत्सुकताको लेस नै छैन । एउटा लामो समय यहाँ काटिएको हो र त्यसरी कटाइएका समयमा सम्पत्ति त कमाइएन, कमाइएन, सम्भावनाहरू पनि कमाइएन । सम्भावनाहीन अवस्थामा तर बाँचेको भने थिइनँ र भविष्यमा पनि त्यसरी पक्कै पनि बाँच्ने छैन । जीवनबाट हात उठाई अन्तका लागि समर्पण भने पक्कै पनि गरिँदैन ।

यसपालि नेपाल भएर जान सकिएन । नेपाल जान नसक्नुको कारण धेरै छन्, मेरो परिवेशभन्दा केही पर उभिएर मतिर हेर्नेले देख्दैनन् । हङकङबाट यूके जाँदै गरेको मेरो यात्राले मेरो परिवारलाई शून्यता दिएको पक्कै हो । यसरी टाढिएको लाग्ने मेरो वर्तमान हालत सायद यथार्थको गम्भीर चोट होला मेरो परिवारमा, तर घरबाट बाहिरिनासाथ परदेशिएको मानिनुपर्छ, त्यो मेरो हकमा ठीक हो तर एघार वर्षभित्र बिस्तारै परदेश भए तापनि नजिक मानिँदै आएको म सो परिवेशबाटै टाढा पुग्दै छु । आखिर जीवनमा कतिन्जेल यस्तो दौडमा लागिएला ! यही अस्पष्टताभित्र म मेरो परिवारमा पोलिने सम्झना भने भएकै छु । त्यसको अर्को तलामा, बुढ्यौलीको चौखटमा उभिरहेका बाबा, आमा हुनुहुन्छ । ….एक झुत्तो सङ्गिनीहरूसँग चिरबिराउँदै चेरी भित्रिएकी छे । र, म झ्यालबाहिर ताकिन छाडिदिन्छु, अनायासै भित्रै जात्रा थपिएको जो हुन्छ ।

वास्तवमा मैले धेरैको दिल दुखाएको छु । लेख्ने क्रममा अनि व्यक्तिने प्रयत्नमा मैले सीधा हेरेको छु, हुनसक्छ, सो क्रममा मेरो स्वाभिमानी व्यक्तित्व केही ज्यादै अनुदार भएको होला । कतिपय सार्वजनिक चासोका पक्षहरूमा म केही सम्बद्ध भएको होऊँ, म एउटा समाजको व्यक्ति पनि त हुँ । हालसालै उठाउनुपर्ने जरुरी दुर्इ-तीनवटा मुद्दाहरू छन्, कसैले उठाएकै छैनन्, तर अब यहाँको मूल आँगनबाट केही छेउ लाग्दै गर्ने बखत किन मन घोच्ने काम गर्नु !

०००००००

एउटा बिलकुल नयाँ परिवेशमा, नयाँ सम्भावना र नयाँ त्रासहरूको एक मुठो मानसिक विचलन मन तथा मस्तिष्कभरि लिएर, सम्पूर्ण विदेशीहरूको सहयात्रामा चेरीसँगै एअर न्युजिल्यान्डको १३ घन्टाको उडान अवधिकोतुहलपूर्ण रहेन । १२ वर्षअगाडि, एक्लै काठमाडौंबाट अन्जान सहर हङकङमा आउन, नेपाल एअरलाइनको उडानसँगै बत्तिँदै आउँदा, एकैपलमा मन शान्त नरहेको, छटपटी र अनिश्चयका धमिराहरूले मन कुटुकुटु खाएर बेचैन भएको आफ्नो सो घडीको यात्रानुभव बताउने चेरी लगभग आठ-नौ घन्टा मस्तसँग निदाएकी थिई । आफ्नो लोग्नेको साथको आभासको कारण हो भन्ने ठान्थिई चेरी, म भने पटक्कै निदाउन सकिनँ, पटक्कै शान्त रहन सकिनँ ।

सन् १९९८ को अप्रिलमा हङकङ आउने क्रममा, निगमको उडान भर्दा जुन किसिमको उत्साह तथा उमङ्ग थियो, त्यसको शेष नरहेको हाम्रो लन्डन उडानको लगभग आधा अवधि, हङकङमा बिताइएका समयहरूको फ्ल्यासब्याकमा विलीन भएर बित्यो भने लगभग तीस मिनेट छोडेर, बाँकी आधाअवधि, चीनको अनकन्टार विशालतामाथिको गहन बादलहरू, टर्कीको पठारहरू, समुद्रको भयानकताहरू, रसियाको सेताम्मे हिमपातपूर्ण समतलहरू हेर्दै बित्यो । टुरिस्टहरूले नेपाल मन पराउनुका कारण पनि बुझियो । जीवनको अत्यन्तै खण्डग्रस्त हालतको अभिशप्त भोगाइ भोग्ने ती मानवहरू, धर्तीमा फुल्दो जीवितपनको आत्मसात् गर्न नेपाल आउने रहेछन्, मलाई लाग्यो । कतै हरियाली नभएको लाग्ने, पहाड-पर्वतहरूको अकालमा समथरको विशालताले निल्न खोज्ने तटस्थताभित्र सन्त्रासको जीवन कति आक्रान्त हुँदो हो ! मलाई सो अवस्थाको कल्पना मात्रले पनि हतास बनाउँदै लग्थ्यो । जीव र जीवनको नामोनिसाना नदेखिने सेताम्मे बस्तीहरूमा रहेका घरघरभित्र कसरी समाजिकता धानिँदो हो !

वास्तवमा, मलाई लाग्छ, मानवजातिका लागि आदर्श वातावरणीय अवस्था भएको क्षेत्र भनेको एसिया नै होला । विभिन्न मौसमका मिठासपूर्ण प्रदर्शनीहरूसहित धर्तीको अनुपम अनि विविध रसपूर्ण स्वरूपमा मानवजातिको बेलगाम अनुभूति कति काव्यिक लाग्छन्, कति ओजपूर्ण लाग्छन् ! हरेक बिहानी जीवनको नयाँ सम्भावना बोकेर उदाउने सूर्य, बाह्र घन्टापछि, भोलिको प्रशस्तै सम्भावनालाई छोडेर अनि भोगाइ तृप्तिलाई मानवमनभरि छोडेर अस्ताउँछ खासगरी हाम्रातिर तर हवाइजहाजको सानो झ्यालबाट टर्की, रसिया, जर्मनी आदि देशहरूमाथि उड्दै जाँदा भने लागेन, सो देशहरूमा त्यसरी नै हाम्रो साझा सूर्य उस्तै सम्भावनाहरू र तृप्तिहरूको समागम भएर उदाउने अनि अस्ताउने गर्छ । हुन त मानिस जे र जस्तो परिस्थितिमा पनि जीवन धान्न र सोही पर्यायमा जीवनलाई फुलाउन सक्षम हुन्छ, त्यो भने आफ्नो ठाउँमै स्थापित तथ्य हो । हङकङको भागदौडपूर्ण एघारवर्षे अनुभूतिको लर्को लिएर आएको मन, रसिया तथा युरोपमा सेताम्मिएको समथरहरू देख्दा अत्यास त मान्छ नै । मैले बाराम्बार आफ्नो फेसबुकमा लेख्ने गर्दछु- मलाई यत्तिका लामो हङकङ बसाइले पानीजस्तै अत्यन्तै सङ्क्रमित बनाएको छ ।

भागदौडपूर्ण जीवन भए पनि हङकङमा जीवन अत्यन्तै सुरक्षित र सुनिश्चित छ, जीवन जीवित र सञ्चारित छ र त्यही पनको बानीले मलाई कमजोर बनाएको छ, सशङ्कित बनाएको छ । त्यही सङ्क्रमितपनले नै हो, अनिश्चितताको उक्लँदो आभास मात्रै जगाउँदै थियो, जति-जति म हङकङलाई पर-पर छोड्दै आउँदै गर्थे ।

सागरमाथि केही उडेपछि भने बादलै-बादलको घनामण्डलमाथि उडेको केही मिनेटपछि भने मध्याह्नको चर्को घाममा हरियाली र जीवित भूमि देखिएको लन्डनमाथि उड्दै गरेको बखतमा भने लागेन, जीवन त्यस्तो कष्टकर नहोला, जति केही अघि, सेताम्मे फाँटहरू देखेर लागेको थियो । मानव मन आश्चर्यजनक रूपले अवस्थाहरूसँग सापेक्षता राख्न सक्षम हुन्छ । हरियाली फाँट, स-साना घरहरू, खुल्ला परिवेशको दृश्यावलोकन गराउँदै हाम्रो हवाईजहाजले लन्डनको एक परिक्रमा लगायो । नटिङ्घम बस्ने ७७ वर्षीया विधुवा मार्गारेट भन्दै थिइन् – …तिमी लक्की रहेछौ, लन्डनको बारेमा तिम्रो पहिलो इम्प्रेसन खराब रहेन, यसले तिमीलाई यूकेमा स्थापित गराउन धेरै मद्दत दिनेछ । ..जीवनलाई सक्दो भोग्नुपर्छ भन्ने धारणा राखी हरेक ६ महिना एसियाका विभिन्न देशहरूमा प्याकेज टुरमा निस्कने उक्त वृद्धा आफैंमा एक उदाहरण थिई, जुनसुकै बेलामा पनि पढ्न रुचाउने ती वृद्धाको जीवनदेखिको बुझाइले मलाई धेरै पाठ दिइरहेको थियो । जीवन वास्तवमै रद्दीमा फ्याँकिने वस्तु होइन, त्यसको सक्दो उपभोग गर्नैपर्ने हुन्छ । उक्त वृद्धामा साथ पनि हुनसक्छ, यात्रा अन्योलपूर्ण रहेन ।

भारतमा प्रवेश गरेकोजस्तै आभास दिनेगरी भारतीय मूलका नरनारीहरू अध्यागमनमा रहेको देख्दा केही अनौठो लाग्यो, त्यसो त मित्र, हुमजी पनि त भित्रै नै अर्थात् प्लेनबाट झरेको केही मिनेटमै मलाई पिकअप गर्न आउनुभएको थियो । तुरुन्तै चेकइन भएर बाहिर निस्कँदा, दक्ष जेठान श्रीमतीसहित हुनुहुन्थ्यो । बाहिर एकैपटक चिसो हावाले गाडीसम्म पुग्ने बेलामा छोएको हो । घाम झलल लागे पनि तातोलाई चिस्याउनसम्मत हावा मार्चभरि चल्ने रहेछ, खराब लागेन ।

०००००००

गाडीहरू बेलाबेलामा सुइँकिइरहेका लाग्थे, सम्साँझै लन्डनको यो भेक भने पैदलयात्रीविहीन भएको थियो, खासै निस्किएन आएको साँझ । यतातिर उड्ने रात, उडानको तेह्रौँ घन्टापछि मिलेको सिङ्गो र लामो रात पनि आँखालाई थकाउन त्यत्तिको सक्षम भएन, तर पनि पर्दाहरूको चिराबाट सूर्यको लालिमा नछिरिन्जेलसम्म तातो सिरकबाट बाहिरिने आँट गरिनँ ।

साढे सात बजेतिर क्यामेरा लिएर, लुगाको थुप्रो मात्र लाग्नेगरी फुकेर सडकमा झरे । सफा अनि नीलो आकाश स्वच्छ देखिन्थ्यो । स-साना वाल्किनी भएका घरहरू लस्करै चारैतिरका सडकहरूको आरपार थिए । सडकहरूका किनारहरूमा विभिन्न कारहरू पार्क गरिएका थिए । गाडीहरूको आवातजावत थिएन र सडकको बीचोबीच अगाडि बढ्दै अनि फोटो खिच्दै गएको थिएँ, धेरै धेरैबेरसम्म । तर, कुनै मानिसहरू मस्तको बिहानमा वाक गरिरहेका थिएनन्, कतै कुकुरहरू भुकेनन्, कतै कुखुराहरू बासेनन् । मानिसहरूविहीन सहर देखिएको लन्डनको यस भेक एक किसिमले भुताहाजस्तो लाग्थ्यो । शीतले लछ्रप्पै भिजेको प्लेग्राउन्डको पिङ हावाको सानो लहरमा पनि बिस्तारै मच्चिरहेको थियो । त्यसले झन् भुताहा शून्यताको आभास दिन्थ्यो । सायद, आइतबार अर्थात्, छुट्टीको दिन भएर हुनसक्ला, साढे आठ बजेसम्म पनि सडकमा मानिसहरू देखिएका थिएनन् । एकाङ्कीपनाको चरमलाग्दो यो भेग, सखारै हल्ला तथा भीडहरूले हमला गर्ने हङकङको हुङहोमस्थित मेरो बासस्थानको ठीक विपरीत थियो । एउटा गहन शान्ति भने त्यसपछि मनभरि छाएको छ ।

-हङकङ र लन्डनबाट

About: Prakash K.C.

A nature lover who enjoys roaming around and play with camera as hobby and writes his mood, memory, experience and present social affairs across the different web portals.

Top
000webhost logo