लन्डनमा पनि फेरिएनन् नेपाली

-प्रकाश के.सी. / June 2, 2010 [Back Dated Article]

विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ पार्क गरिएका गाडीहरुबाहेक सडक शून्य हुन्छ, तर चराचुरुङ्गीहरुको भने दिनको अत्यन्तै व्यस्त प्रहर शुरु भइसकेको लाग्दछ । विहानी, जाडोलाग्दो नभई न्यानो भएको हुन्छ र म त्यही न्यानोमा न्यानिँदै घरको दायाँतिर विस्तारै दौडन्छु । खासगरी यो बेला, तटस्थ रहँदा मनमा तर्कनाहरु ब्युतिन सकेको छैन र त्यही तर्कनाहरुलाई केलाउनका लागि सखारै सडकलाई जगाउन हिँडेको हुन्छु ।

अक्स्फोर्डलाई आफ्नो बासस्थान बनाउने चन्द्र हिजो बिरक्तिएर यूकेमा स्थापित कुनै नेपालीको गुनासो पोख्दैथिए-”वर्मा गइयो कर्मसँगै भनेको जस्तो, यहाँ पनि उही नेपाली कर्म लिएर आइएछ । कोही नेपाली पनि नयाँ आउने नेपालीलाई सघाउन तयार छैनन् । नेपालीले नेपालीलाई चुस्न र नेपालीबाट चुसिन जुनसुकै देशमा बस्ने नेपालीहरुको पनि स्थापित कर्म नै भएको रहेछ ।” चन्द्रलाई साउथहलमा काम लगाउन खोज्ने नेपालीले, काम गरेपछि हरेकमहिना सय पाउण्ड आफ्नो खातामा राखिदिनु पर्ने सर्त राखेका रहेछन् । सेक्युरिटी कम्पनीमा काम लगाइदिन खोज्ने उक्त नेपालीलाई हरेक महिना नभई बरु एक मुस्ट निश्चित रकम दिन्छु भन्दा नमानी, आखिरमा दोस्रो तथा फाइनल इन्टरभ्यू नै खारेज गराएकोमा चन्द्रको ठूलो गुनासो रहेको थियो । बाहिर कसैलाई पनि नभन्न आफूलाई भनेको र आफूले पनि अन्त कसैलाई नभनेको अवस्थामा पनि त्यसरी आफ्नो अन्तरवार्ता नै खारेज गरिएको कार्यलाई बेमानी भन्दै सो कार्यको गुनासो गर्ने चन्द्रजस्तै हाटफिल्डको वेयरहाउसमा काम लगाउने त्यहीँ काम गर्ने एक नेपाली टिम लिडरले चाँहि कागज गराएर प्रतिव्यक्ति पाँचसय र हजार पाउण्ड असुल्ने गरेको पनि जानकारीमा आएको छ । बाहिर कसैलाई जानकारी नदिने सर्त राख्ने ती नेपालीहरुको विरुद्धमा तिनका कम्पनीमा उजुरी दिनु जरुरी भएको वेम्ब्ली निवासी चक्र बहादुर बताउँदछन् । यस्ता कुप्रथाहरु बिस्तारै मिडियाहरुमा आइहाल्ने पनि सम्वद्धहरु जताउँदछन् ।

कत्तिको तीतोपन रहेछ यहाँ नेपाली नेपालीबीच ! जति नै प्रयास गरे पनि नेपालीहरु समूल रुपमा स्थानीय समाजसँग हाँसको हूलमा हाँसजस्तै गरी मिल्न भने पक्कै सक्दैनन् । तिनलाई पर्यन्तमा नेपाली समाज, नेपाली साथ नै चाहिन्छ । यहाँ जुगौंजुगबाट अन्य देशका आप्रवासीहरु रहेका छन् । तिनीहरु जति र जस्तो हालतमा भए तापनि तिनीहरु सम्पूर्ण रुपमा आफ्नो सँस्कृति, रीतिथिति अनि चालचलनसँगै छन् । भारतीयहरुको दबाब यहाँ यस्तो छ कि दीपावलीमा सरकारी छुटि्ट मिल्ने गर्दछ भने मुसलमानहरुका इँदमा तिनलाई पनि सोही अभ्रि्रायले छुटि्ट मिल्ने गर्दछ, तिनका रीतिथितिमा स्थानीय समाज चाखपूर्वक रमाउने गर्दछन् । तर नेपाली समुदायको त संख्या नै थोरै होला, विभिन्न आप्रवासीहरुको लिस्टमा नेपालको समुदायको नाम पनि अझै राखिएको छैन एकातिर भने, अको संख्याामा रहेका नेपालीहरुमा त्यस्तो प्रकारको आपसी सहिष्णुता नै देखिँदैन । आन्तरिक सामुदायिक भेदभावमा चूर देखिने नेपाली समुदायहरु, समुदायभित्र नै जातिगत रुपमा पृथक रहेका छन् । गुरुङहरुमा नै चारजाते र सोह्र जातेबीचको फाटो छ भने र्राईहरुबीच भूमि पूजा गर्ने र ढुङ्गाको पूजा गर्नेबीच फाटो छ, त्यस्तै मगरहरु समूल कम, विविध ज्यादा लाग्ने गरी फरक हुन धेरै रहर गर्नेजस्ता लाग्दछन् भने यहाँ आर्यनहरुबीच पनि त्यस्तै फाटो देखिएको छ । क्षेत्री, बाहुन र ठकुरी क्षेत्री हुँदै भविष्यमा शुद्ध क्षेत्री, बाहुन र ठकुरीहरुबीचमा हाँगाहरु पलाउन सक्ने अनुमानलाई नकार्न सकिँदैन ।

भर्खरै भएको चुनावमा एकजना नेपाली, काउन्सिलरमा निर्वाचित भएका छन् । गम बहादुर गुरुङ यसरी काउन्सिलर हुने नेपालीमा तेस्रो नेपाली भएको थाहा लागेको छ । काउन्सिलर गुरुङको अन्तरवार्ताहरु नेपाली मिडियामा सतहिएका छन् । स्थानीय समाजसँग अर्थात् यूकेको मूलधारमा नेपालीहरु प्रवेश गर्न अत्यन्तै जरुरी भएको देख्ने काउन्सिलर गुरुङ भन्छन् – “इन्टेग्रेसन इज भेरी इम्पोर्टेन्ट । हामीले विदेशमा आएर यहाँको समाजमा र रहनसहनमा आफूलाई इन्टेग्रेट गर्न अति नै जरुरी छ । म उनीहरुको वर्थ-डे पार्टीमा जान्छु, उनीहरुको चर्चहरुमा जान्छु, उनीहरुको ओपन-डेहरुमा जान्छु र म उनीहरुको सल्लाह र वे-अफ-लाइफलाई फलो गर्छु तथा मेरो परिवारलाई पनि त्यसमा भिजाउँदै गइरहेको छु ।” काउन्सिलर गुरुङको उदाहरण विवादास्पद छ । स्थानीय समाजमा आफूलाई समाहित गराउनका लागि यहाँको स्थानीय समाजजस्तो बन्न जरुरी हुँदैन । नेपालीले नेपालीपनलाई जस्ताको तस्तै नै आफैसँग साँचेर यहाँ सम्मिलित हुनसक्दछ । हिन्दू धर्म या वौद्ध धर्मलाई नै शिरोधार्य गरेर बेलायती हुनसक्दछन् नेपालीहरु, जसरी भारतीय, पाकिस्तानी, अअफ्रिकन, चाइनिज आदि भएका छन् । चाइना टाउनमा चाइनिजहरु र्सगर्व चाइनिज भएर रहेका छन् भने साउथहलमा भारतीयहरु सम्पूर्ण रुपमा भारतीय भएर वर्षौं वर्षबाट जीवनयापन गरिरहेका छन्, तिनलाई त्यसै हालतमा स्थानीय समाजले स्वीकारेका छन् तर खाँदिएर नेपालीहरु जसरी अल्डरसट, फार्नबोरोतिर रहेका छन्, तिनीहरु नेपाली परिचय गुमाउँदै गएको यस्तो समाजको रुपमा स्थापित हुँदैगइरहेका छन् कि जसलाई स्थानीय समाजले इज्जत पनि दिँदैनन् । ‘नार्सिसिज्म’ले ग्रस्त नेपाली समाज स्थानीय समाजमा समाहित होइन, आफ्नो प्राकृतिक अस्तित्वसहित विलय हुने जोहोमा रहेका लाग्दछन् । सोही स्थानमा केहीअगाडि, एक महिला विद्यार्थीलाई काम दिने वहानामा बलात्कार गर्न खोज्ने नेपालीको पनि उदय भएको छ र त्यस्तालाई सामाजिक वहिष्कार गर्न नसक्ने समाजको अस्वस्थ स्थिति पनि उदाङ्गिएको छ ।

धेरै पर दौडिएछु । घाम चरक्कै भएर पूर्वी क्षितिजको धेरैमाथि चढिसकेपछि भने म वापस घरतिर विस्तारै हिँड्दै र्फकन्छु । केही गाडीहरु विस्तारै हुइँकिँदै गर्दछन् । सडकका दायाँ-वायाँका घरहरुमा भने पूर्ण चकमन्नता उस्तैगरी व्याप्त हुन्छ । मानिसलाई राम्रो जीवन जिउनका लागि राम्रो घर, राम्रो जागीर वा सम्पत्ति भएर मात्र पुग्दैन, तिनलाई राम्रो समाज चाहिन्छ, सो समाजमा ‘आफ्नो पन’ चाहिन्छ, सो पनमा ‘आफ्नो रीत’ चाहिन्छ, ‘आफ्नो परम्परा’ चाहिन्छ । निधारमा हल्का पल्पलाएको पसिनालाई पुछ्दै नजिकैको दोकानबाट चियाको चुस्की लिन मन लाग्दछ, कसैको पिँढीको दलानमा टाँगिएको रेडियोबाट ताजा समाचार सुन्न मन लाग्छ, छरछिमेकसँग केहीबेर गफ्फिँदै राजनीतिमा केही चिन्ता गर्न मन लाग्छ तर कोही हुँदैनन् वरपर । नेपालीहरुविहीन समाजले भित्रभित्रै टोकेको जस्तो लाग्दछ मलाई । मान्छेको मुख हेर्न अतालिएको जस्तै गरी नेपालीको मुख हेर्न र नेपाली भाषामा बोलेको सुन्न अतालिएकी चेरीलाई सम्झन्छु, -अस्ति मात्र उसले एक हूल नेपाली विद्यार्थीहरु काम खोज्न इन्पिmल्ड टाउनमा गफ गर्दै हिँड्दै गरेका देखेकिहुन्छे तर नजिक पर्न पनि लाजलाग्ने गरी बोल्दै हिँडेका ती विद्यार्थीहरुका पाँच मीटरको दूरीमा पनि उसलाई उभिन अप्ठ्यारो भएको हुन्छ । नेपाली समाजकै प्रसङ्गमा भर्खरै उक्त बेसोमतिला विद्यार्थीहरुलाई सम्झिँदा यो एउटा तथ्यको पनि सम्झना आउँदछ -’पढ्दैमा पनि मान्छे बुद्धिमान हुँदैन, समाजले, मानिसलाई बुद्धिमान बनाउँछ ।’ सायद, यसैले होला, कतिपय नेपाली अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई नेपालीहरु बाक्लिएर बसोबास भएको समाजमा राख्न चाहँदैनन् । ख्वै ! होला भनूँ पनि कसरी ? अनि होइन भनूँ त झन् कसरी ?

यस देशको रहनसहनसहित यहाँको माटोलाई आफ्नो सम्झी यहाँको कानूनअर्न्तर्गत अशल नागरिक भई जीवनयापन गर्ने कसम खाएर यहाँकै नागरिकता लिएका नेपालीहरुका ठूलो उपस्थिति रहेको तमू धीँको वौद्ध-जयन्तीको वार्षिक कार्यक्रममा नेपाली राष्ट्रिय गीत बजाइन्छ र सोही आशयलाई इङ्गित गर्दै सबै उभिन्छन् । राष्ट्रियताको सवालमा, नागरिकको नागरिक-नीतिको आधारमा एउटा अस्वाभाविक पक्ष यो हो एकातिर भने, अर्कोतिर, सोही आधार र सवालमा स्वाभाविक पक्ष पनि हो । नेपालीहरु कहिल्यै पनि स्वभावबाट मुक्त हुन भने नसक्ने नै हुन्, भन्न मन लाग्छ यतिखेर साथमा थप्दै, नेपालीहरु आभार व्यक्त पनि औपचारिक रुपमा गर्न जान्दैनन् । तर यस्तैमा, यो पनि हो कि, नेपाल सरकारबाट गत केही महिनाअगाडिबाट सुचारु गरेको यनआरयन परिचय पत्रको कार्यान्वयनको बारेमा बुझ्न लायकको भएको एकातिर छ भने अर्कोतिर यमआरपीको कार्यान्वयनलाई पर्खनेहरुका बारे बुझ्न जरुरी छ, दूतावास र यनआरयनए यूकेसँग सम्पर्क साँध्न मेरोलागि जरुरी भएको छ ।

यस्तै नकारात्मक प्रसङ्गहरुमा यो पनि सम्झना आउँदछ कि, नेपाली जातीय विविध भेषभुषामा सजिएर नेपाली गीतहरुमा नाच्न, गाउन, वा सो प्रकारका भेलाहरुमा रम्न नयाँ पुस्ताका युवायुवतीहरु अत्यन्तै लालायित भएका छन् । समूल रुपमा आफूलाई बेलायती भनाउने यी पुस्तालाई रहरै रहरमा आफ्नो सँस्कृतिको लोभ बढेकोछ, बालबालिकाका यस्तो रहरहरुलाई अभिभावकहरुले अवश्य नै उकेरा दिनु नै पर्दछ । वास्तवमा तिनीहरुका मात्र यिनै रहरहरुले आगामी वर्षरुमा नेपालको पन बचाउने छ ।

घरभित्र छिर्दा घरकाहरु सबै मस्तसँग सुतिरहेका हुन्छन् । घामसँग सुत्ने र उठ्ने नेपाली स्वभावले यहाँ नराम्रोसँग फेल खाएको छ । मे महिनाको अन्त्यसम्म घाम १० बजे रातिसम्म तन्दरुस्त नै रहने र विहान साढे चार बजे वापस देखिने गर्नाले सबैजस्तो नेपालीहरु पनि बाक्लो पर्दालाई तानेर सुत्न वाध्य हुन्छ र म पनि फेरि अर्थात् साढे छ तिर ओच्छ्यानतिर लम्कन्छु जहाँ यथावत रुपमा मस्तसँग चेरी निदाइरहेकी हुन्छे ।