अन्यौलमा बेलायती मेरो पुस्ता -भीम बानिया

व्यक्तिको जीवनको शुरुवात आमाको कोखबाट हुन्छ र आमा त्यसबेला जुन ठाउँमा बस्छिन्, साधारणतया उसको वाल्यकाल पनि त्यही ठाउँमा बित्छ । तर जब उसको पखेटा लाग्छ अन्त कहाँ गएर हुन्छ वा कता पुग्छ, ऊ स्वयंलाई थाहा हुँदैन । निरत्न्तर प्रगतिको खोजीमा गंगा बगेझै निरन्तर बगिरहन्छ । तर गंगाको त एउटा निश्चित गन्तव्य छ …समुन्द्र । तर मानव गन्तव्यहीन छ । उसको जन्म ठाउँ थाहा भए पनि मर्ने कहाँ र कहिले होला, थाहा हुँदैन । यो बुझाइ राख्नु पर्ने कुरो होइन । झन आजकल त पृथ्वी खुम्चिएजस्तो सानो भएकाले र संचारको चरम विकासले गर्दा त जहाँ गएर अन्त भए पनि के भयो र भन्नेहरु पनि धेरै नै भेटिन्छन् । तर पनि कोही व्यक्ति मातृभूमिबाट बाहिरिएपछि अन्त कता वा कहाँ गएर हुने होला भन्ने प्रश्न त उसको मनमा भए कै हुन्छ । किनकि ऊ आफूले कल्पना नै नगरेको ठाउँमा आइपुगेको छ, जहा उसको कोही छैन । भोलि त मातृभूमि नै फर्किने नै होभन्दा भन्दै उसको सारा जीवन बित्छ । उसले इतिहास र अतीतलाई पनि फर्केर पटक पटक हेर्छ, अझै पनि यसै, यतै, भन्ने निर्णय गर्न सकिरहेको हुँदैन र अन्यौल मै व्यस्त भई समय विताइरहन्छ ।

यो सन्दर्भ मजस्ता धेरै नेपालबाट विदेश लागि वैदेशिक नागरिकता ग्रहण गर्ने वा विदेश पलायन भएकाको अन्तिम गन्तव्य कता भन्नेमा हो । बेलायतको परिवेशमा वसेर यो लेख कोर्न लागे पनि सायद यही कथा व्यथा अन्य देशका नेपाली वासिन्दामा पनि लागू हुन्छ भन्ने मेरो ठम्याइ छ । विदेश पलायन भएको यो पुस्ताको बेलीविस्तार लगाउनुपहिला अलि कति बेलायतमा विद्यमान तीन समूहको चर्चा गर्न सान्धर्भिक होला ।

विद्यमान तीन समूहमध्य पहिलो समूह बेलायती सेनावाट निवृत्त (पेन्सन) भई नेपाल गइसकेका र पछि बेलायत सरकारले आवासीय सुविधा दिएर बेलायत आई वसोवास गर्ने जसलाई आम नेपाली जिव्रोले भत्ता खाने टोली भने पनि म पेन्सनवाला टोली भन्न मन पराउँछु । दोश्रोमा म जस्ता हंगकंगबाट आएका (जो आईडीवाला हो ?) भनेर चिनिने, माओवादीले गर्दा ज्यान खतरामा छ भनी आउने, भुटानी हुँ भनी आउने, विद्यार्थी भई आउने र उच्च प्राविधिक भई आउनेहरु वा यी जे जसरी भए पनि बेलायती पासपोर्ट लिन भ्याएका वा पाएको टोली भनेर बुझौ । तेश्रो रह्यो यी दोश्रो समूहका सन्तान यहीँ जन्मेका हुन् वा अन्य देशमा जन्मेर वाल्यकालमा नै यता आएकाहरु जसको स्कुले शिक्षा यहीँबाट शुरु भयो ।

पहिलो समूह प्राय उमेरले ६५ नाघिसकेर ९८ वर्ष सम्मका भेटिएका छन् । उनीहरुलाई बेलायती नागरिकता वा पासपोर्टको कुनै वास्ता नै छैन र जे जसरी हुन्छ, आप्mनो अधिकार बेलायत सरकारले दिनै पर्छ भन्ने, सरकारले दिन सक्ने सबै सुविधाको उपभोग गर्ने र सकेसम्म दैनिक खर्च कम गरी केही वचत गरेर नेपालमा भएका पारिवारिक सदस्यको भरण पोषण गर्ने र बस्ने छन् । उनीहरुको अन्त लगभग सबैको बेलायतमै हुने निश्चित छ, जसमा केहीले मेरो लास नेपालमै पठाइदिनु भन्छन्, बांकी सबै यतैबाट स्वर्गतिर जानेछन् सायद । अरु, उनीहरुको दैनिकीतिर नलागौ, किनकि यो कथामा त्यो पाटो पर्दैन । तेश्रो समूह वा नेपालीको बेलायती दोश्रो पुस्ता म भन्छु , जसको अन्त कता भनेर सोच्ने बेला आएकै छैन र उसलाई त्यो सोच्ने फुर्सद नै छैन, ऊ अध्ययनमा व्यस्त छ । शतप्रतिशतले अति राम्रो अध्ययन गरेका छन् र मूलधारमा हरेक क्षेत्रको प्रतिस्पर्धामा व्याप्त छन् ।

दोश्रो समूह यानिकि मेरो मान्यताको पहिलो नेपाली पुस्ता, हुन त केही नेपालीहरु यो वर्गीकरण भन्दा अगाडि नै बेलायतमा वसेर दोश्रो पुस्ता हो म भन्ने पनि भेटिन सक्छन् तर ती नगन्य होलान् ।

“होइन साथी, घर त ठूलै किन्नु भयो त, नेपाल नफर्किने विचार छ क्या हो ?”
यसमा साथीको जवाफ आउँछ –
“नेपाल नफर्केर त के हुँदो हो, कति दुःख गरी राख्ने यो अर्काको देशमा ? सधैको चिसो हावापानीमा सकिंदैन बुढेसकालमा त, नेपाल नै जाने हो ।”
“..होइन, आफूले त रातो पनि लिइसक्यो अरे त ?”
“ए त्यो त फर्कने बेलामा फिर्ता गरी दिने हो । अहिले अरु देश घुमफिर गर्न सजिलो हुने भएर हो ।”
“ए हो । अनि कहिले भन्न खोजेको कति उमेरतिर फर्कदा होला त ?”

तर माथिकाे सो प्रश्नमा फरक फरक जवाफ पाइन्छ, केटाकेटी साना हुनेको जवाफ ‘केटाकेटी सानै छन्, तिनीहरुलाई यूनीतिर पठाएपछि लाग्नु पर्ला’, छोरा छोरी यूनी हुनेको जवाफ ..’भरखर पढ्दै छ, त्यो जागीरमा लागेपछि हिंडिहाल्ने हो’ । छोराछोरी जागीर खानेकाको जवाफ ..’अब विवाह गरी दिने अनि लौ गरी खाओ भन्ने अनि आफू नेपालतरि लाग्ने हो’ भन्ने हुन्छ ।

“कामधाम छोडेरै जाने त होला नी ?”
“होइन, ६५ सम्म त काम गर्न सकिएला नी, पाइन्छ के रे ।”

यी माथिका जवाफ मजस्ता सबैका एकै छन् । यो पुस्ताले बेलायत आएदेखि कामबाहेक अरु सबै अक्षरशः नेपालको धर्म संस्कृति, राजनीति, जाति, क्षेत्र र वानीव्यहोरासमेत पालन गर्छ । अधिकांश समय नेपालकै राजनीति र विकासकै कुरामा खर्चिन्छन् । नखर्र्चीयोस् पनि कसरी ? त्यही हुर्के पढेको, त्यही धूलोमाटो र पानी खाएर पचाएको, त्यही राजनैतिक संस्कार बोक्दाबोक्दै विदेश पलायन भएको, गाउँबाट सदरमुकाम झर्ने सपना, सदरमुकामबाट काठमाण्डौ चढ्ने सपना देखेको र ती सपना सबै पूरा भई बेलायतमा समेत सके २÷३ वटा नभए पनि एउटा घर र परिवारका सदस्यैपिच्छे एउटा एउटा कार भई सकेकोले अबको सपना भनेको नेपाल जाने र मोज गर्ने नै छ । यो समूह धेरै बाठो मान्छे मध्यमा पनि पर्दछ किनकि यिनीहरु प्राय नेपालको कलेजतहसम्म पुगेको, नेपालको कर्मचारीतन्त्रको जाने बुझेर काम लिन पनि सक्ने, अलि अलि अंग्रेजी पनि झारी हाल्न सक्ने, कमप्युटर पनि पटापुटु पारी हाल्ने तर दक्षता भने केहीमा नभएको, राजनीतितर्फ भनौ भने नेपालको सबै राजनितीक पार्टी, तिनका भातृ संगठन र तिनी भित्रको गुट उपगुटमध्य एकमा अवश्य सहभागी भएका, उमेरका कारण नेपालमा पनि कोही न कोही आफ्नाे मानिस वा साथी माथिल्लो ओहोदामा पुगेको, जसको प्रयोग उसले सजिलै गरिरहेको, सम्पत्तिमा पनि केही पैतृक र केही शुरु शुरुमा पेपर बन्दैन कि, नबनेमा फर्किहाल्न पर्छ कि भन्ने सोंचले आफैले आज्र्यको पनि केही भएको, त्यो पनि नेपालको एनआरएन नियमले के कतिसम्म राख्न पाउने हो अझै निश्चित नभएका आदि पर्दछन् । यी यावत कुराले उसलाई अझै पनि नेपालतिरै अन्त गर्नुपर्छ भन्ने अन्तरमनको एक कुनाले भन्दै गरेको हुन्छ ।

तर अर्को पाटो उसले बाहिर नदर्शाए पनि भित्र मनमा के छ होला भन्ने विस्तारमा जाउँ । देश छाडेको धेरै भइसक्यो जति नै बाहिर बसेर नेपालको सिस्टमको विरोध गरे पनि देशले विकाशको लामै फड्को मारिसकेको छ । साथी भाइहरु हिजोको मोटरसाइकल होइन, करोडभन्दा बढी पर्ने कार फेरी फेरी चढ्ने भएका छन् । यता आफू नियम कानूनको परिधि ननाघ्ने बानी परिसकेको छ भने त्यहाँ नियमअनुसार जाउँ भने कुनै काम पनि समयमा हुन सक्दैन । सानातिना कामका लागि पनि नेता, दलाल वा पैसा अगाडि सार्नु पर्दछ । मालपोत जाउँ, तपाईंको यो कागज मिलेन, मिलाएर ल्याउनुस् र सिफारिस खै ?, नापीमा जाउँ जतिपटक जानु त्यही जग्गा र कागज हो तर तपाईंको जग्गा बढी देखियो वा जग्गा पुगेन, जिल्ला प्रशासन जानुस् फाइल भेटिएन हजुर वा तपाईंको फाँटको मानिस विदामा छ भोलि आउनुस्, म नै हेरिदिउँला, वडा जाउँ लालपुर्जा खै ? जग्गा नै नहुनेलाई पनि । यता जति नै ठूलो रोग लाग्दा पनि निःशुल्क उपचार पाउने बानी, उता टाउको दुख्यो डाक्टर साहेबभन्दा, आज भर्ना हुनुहोस्, तपाईको दिशा पिसाब र रगत जांचपछि एक्सरे गर्न पर्छ भन्छ । पैसा झरिन्जेल यहीं ठीक हुन्छ भनी राख्ने, पैसा तिर्न नसक्ने देखिएपछि भने यहाँ राम्रो भएन, मणिपाल, बीर अस्पताल लानुहोस् भन्ने ।

अब साथीभाइ इष्टमित्रतिर जाउँ, के हाल छ त ?

इष्टमित्रमा दाजुभाइ दिदीबहिनी बाहेकका कसैका छोराछोरीले चिन्दैनन् । अरुका छोराछोरीलाई आफूले चिन्न कोशिस गर्दा उसको बाबु बाजेको अनुहार सम्झी अनुमान लगाइसोध्नु पर्छ । आफूलाई चिनाउनु पनि भाइ भतिजको नामको सहारा लिनु पर्ने, कतै कुनै कार्यक्रम वा सामाजिक भेटघाटमा जाँदा पनि सबैले ट्वाल ट्वाल्ती हेर्ने, कसैले पनि वास्ता नगर्ने । आफ्ना साथी भाइ दौतरी पनि आआप्mनै पारिवारिक जनजालले घेरिएका हुने र भेटिए समय पनि दिन सक्दैनन्, उसका पनि आप्mनै समय तालिका र कार्याक्रम हुने, कता न कोही भेटिहाले पनि विदेश बसिन्जेल कहिल्यै नसम्झने वा अघिल्लोपटक आउँदा नभेटी गईस् भन्ने गुनासो मात्र गर्ने । सम्पन्न साथीलाई हेर्याे भने विलाशी गाडी र महल अनि उसका कुरा सबै अरबपति र आफ्नै पार्टीका दाइ(नेता)को मात्र कुरा हुने, कुने काम भनिदिन्छु र गराइ दिनसक्छु भन्ने । आफू त विदेशी लाहुरे । यता आफ्नै गति सं.म्झदा ६५ नाघेपछि सके सबै नभए पनि २÷४वटा दाँत झरिसकेको, प्रेशर वा डाइविटिजको रोगी, खानामा यो पनि खान नहुने, त्यो पनि खान हुँदैन, झन मन मस्तिष्कमा अशुद्द (मिसावट) खाना भन्ने छाप । विरामी परेमा विदेशबाट छोराछोरी समयमा आउन नसक्न,े सबैको समान परिस्थिति । अरुलाई भन्दा उमेर छँदा विदेशमा मस्ती गर्यौ, अहिले बुढेसकालमा हामीलाई दुःख दिने भन्ने आफन्तहरुबाट प्रश्न आउने प्रशस्तै सम्भावना पनि हुने म जस्ताको भविष्यको अनुमान लगाउन सकिन्छ । के गर्ने त ? अन्त कता त ? प्रश्नमै रहेको हुन्छ ।

लौ भो यतै अन्त गर्नु पर्छ भनौ भने ?

छोरा, छोरी, बुहारी, नाति नातिनी सबै यतै पढेका, सबका सब नोकरी गरेका, वा अध्यनमा व्यस्त हुने समान अवस्थाको अनुमान लगाउन सकिन्छ । उनहीरुको समय पाउन अग्रिम अनुरोध गर्नु पर्दछ ताकि उसले पनि आफ्नो मालिकसँग, कामसँग, परिवारसँग अनुरोध गर्ने समय पाओस् । उनीहरुको र आफ्नो समय, कुरा, र चालन केही मिल्दैनन् । विहान र साँझ त नित्यकर्म गर्दा ल, समय सजिलै जाला तर दिनको समयमा जीवन साथी र आफू मात्र । रोग त कुनै कुनै अवश्य हुन्छन् नै दुवै जनाको, एकै प्रकृतिको विमार भए त धेरै सजिलो हुन्छ तर फरक प्रकृतिका भए भने त झन् समस्या । एउटालाई एक छिन बसौ न त भन्यो ढाडले हुँदैन भन्छ, अर्कोलाई एकछिन उठौं न त भन्यो घुँडाले हुँदैन भन्ने हुन्छ । जवानीमा साथसाथै हिँड्ने भनी खाएका कसम आजसम्म निभाउँदै आए पनि अब शरीरले साथ नदिँदा तोडिन्छन् । तिमी जाऊ, खाऊ मैले सकिन भन्नु पर्ने । एउटालाई व्लड प्रेशर हाइ छ, नुन खानै नहुने, अर्काेलाई लो छ, चर्को चाहिने, दुई भान्सा गर्न परेमा के होला ? यी यावत कुरा यो पुस्ताका समस्या हुन् । दिन आज भोलिभन्दा झन छिटो छिटो आए जस्तो छ, जतिसुकै व्यायाम र खानपिनमा ध्यान दिए पनि अनुहार र खुम्चिँदै गएको छ र शरीरमा कहिं न कतै दुखाइ थपिंदै गएको छ तर पनि निर्णय अझै पनि लिन सकेको छैन, भोलि म कता लाग्ने भन्नेमा अन्यौल नै छ, योजनाविहीन राम भरोसे ।

हुन त जीवनलाई बुझेका भन्नेहरुले अक्सर भन्ने गर्दछन्, बाँच्ने क्रममा भएका अतीतका गल्तीहरुलाई सम्झेर चुक्चुकाई अनि भविष्यको रुपरेखामा उल्झेर चिन्तित भई आफ्नो अमूल्य वर्तमानलाई खेर नफालौं, जीवनमा सक्दो मस्तसँग आजको फाइदा लिऔं, र मनग्य बाँचौं । यो खासगरी तेस्रो पुस्ताको बेलायती नेपालीहरुमा लागू हुन्छ तर जति नै सम्झे तथा बुझे पनि मजस्ता पुस्ताको मनमा बस्नै नसकेको यस उक्ति, पढ्नलायकको मात्रै भएको छ । मजस्ताको जीवन वास्तवमा भन्ने भए मरुभूमिमा भौंतारिएको मृगको तृष्णाजस्तै भएको छ । कहिलेकाहिँ त लाग्छ, हामी वास्तवमा धोबीको कुकुरजस्ता भएका छौ, घरको न घाटको जस्तै न बेलायतको हुन सकेका छौं, न नेपालका रह्यौं ।

1484
3

मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता

एकोहोरो हेर्दै त्यसै रमाउने उमेरकी आफ्नी सानी छोरीलाई खेलाउँदै मार्था गुनगुनाउन थाल्छिन्, ‘…मै छोरी सुन्दरी, कसरी भरुँ पानी…!’, आफ्नी विदेशी श्रीमतीको अबोधपन र लोग्नेको भाषा सिक्न खोज्ने उनको प्रयत्नलाई प्राकृतिक रूपमा स्वीकार्दै ४५ वर्षीय राघव क्षेत्री त्यसै मुस्कुराउँछन् र समयको रङ्गीन कलेबरमा अनायसै हात परेको जीवनको नयाँ अध्यायलाई समेट्न थाल्छन् । जीवनमा समयहरू एकप्रकारले महत्त्वपूर्ण रहेको अनुभूतिका साथ हरेक पलको उत्तम उपयोग गर्ने आफ्नो प्रण रहेको बताउँदा त्यसमाथि सहमत हुनलाई आग्रह गरेको भावमा सोफामा लम्पसारिएका राघवलाई हेर्छिन् मार्था । ‘मेरो विचारमा वास्तवमा हात पर्ने अवधि नै जीवन हो’ भन्दै बिस्तारै मायाले प्याट्ट मार्थाको गोह्रो गालामा हिर्काउँछन्, लन्डनस्थित क्याम्डेनटाउको आफ्नो अपार्टमेन्टमा । त्यसको सात हजार तीन सय चालीस किलोमिटर पर, काठमाडौंस्थित जोरपाटीमा रहेको एक बुटिक सपभित्र प्लास्टिकको झोलामा बिहानको खाजा बोकेर १७ वर्षीया करिश्मा पस्दै गर्दा ४३ वर्षीया आमा नन्दिता क्षेत्री नजिकैको टेबुललाई खाली पार्न थाल्छिन् । सानै उमेरमा पनि दोब्बर जिम्मेवारी लिँदै आएकी छोरीको परिपक्वताले कहिलेकाहीँ आमा नन्दितालाई निक्कै नै उदासीन बनाउँछ । छोरीको उमेरजन्य पनलाई मास्न बाध्य हुनुपरेकोमा एक अभिभावकको रूपमा आफू असफल भएकी नन्दिता बारम्बार सोच्ने गर्छिन्, ‘..सम्झौताको अर्को नाम नै जीवन रहेछ,’ आईडीडी कलमा केही पल संवेदनशील बनिन् नन्दिता ।

माथिका दुई परिस्थिति या परिवेशलाई जोड्ने समयको सुरुवात एघार वर्षअगाडि अर्थात् १ जुन, २००१ काठमाडौंबाट भएको हो । राघव क्षेत्री लाजिम्पाटस्थित एक निजी कम्पनीमा सधैंजसो सखारै पुगेका थिए । जीवनमा वैवाहिक जीवन एक आमनेपाली परिवारसरह नै सामान्य रूपमा चलेको थियो । राम्रो योग्यता र कडा परिश्रमले पनि राघवको परिवारलाई सन्तोषजनक किसिमले चलाउन नसकेको उनले तब पनि सकारेकै थिए तर नेपालका लागि आम हुँदाहुँदै पनि केही गर्ने धोको उनको मनबाट हराएको थिएन । स्वर्गीय बाबुको जस्तो नाम छोडेर जान नसक्ने लागे तापनि विभिन्न प्रकारले आफ्नो नामलाई चम्काउनतर्फ उनी अग्रसर भइरहेका थिए । जीवनमा सफलतालाई बुझ्ने र त्यसरी परिभाषित गर्ने आआफ्नै शैली हुन्छ भन्ने बुझ्दै राघव आफ्नो प्रकारको परिभाषाले आफ्नो जीवन र्सार्थक बनाउने प्रयत्नमा लाग्दै गर्दा सो दिन अर्थात् २००१ को जुन १ तारिख, एउटा कम्पनको रूपमा उनीलगायत तत्कालीन हजारौँ होनहार युवाको हृदयमा परेको थियो । पत्याउनै नसकिने गरेर तत्कालीन राजपरिवारको समूल परिवारको हत्या भएको थियो । काठमाडौं नै शून्यप्रायः भएको थियो भने मुलुकका लागि केही गरी बाबुको जस्तै नाम चम्काउने प्रण गरेका राघवको विश्वास एक्कासि छिन्नभिन्न हुन पुगेको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत उनको सरकारले तत्कालीन समयको अत्यधिक कालो उक्त दिन र उक्त घटनालाई रहस्यपूर्ण घटनाको रूपमा संसारमा चिनाउनबाहेक केही गर्न सकेनन् । परापूर्वको कोतपर्वको व्याख्या आउँदा, सो बेलाका आमजनता कति निरीह रहेछन् भन्ने सोच्ने एकप्रकारले विकसित भइसकेको मान्ने आमजनता पनि कालान्तरमा उस्तै तोपपर्वताकाका जनतासरह भेडा मात्रै लाग्ने गरी आगामी दरसन्तानका मनमा पर्ने इतिहासको रूपमा आबद्ध भएका थिए सो घडीपर्यन्त । राघव भन्छन् मलाई लाग्थ्यो, अब केही हुन्छ, तहल्का मच्चिन्छ, देश छिन्नभिन्न हुन्छ, माओवादीको राज यत्रतत्र हुन्छ, त्योभन्दा अगाडि जनता स्वःस्फुर्त रूपमा आन्दोलित हुन्छन् । तर, सामान्य प्रतिक्रियाबाहेक केही भएन अनि त्यो केही विशेष होला कि भन्दै नभइरहेको अवस्था यत्तिको कष्टकर थियो कि मैले र मेरा धेरै जमातका साथीहरूले सजिलै पचाउन सकेनौँ अनि जीवनलाई नयाँ किसिमले सोँच्न थाल्यौँ ।’ खासगरी आफूलगायत आफ्नो एक समूल परिवारलाई आफू स्वयम्ले धान्नेहरूलाई हरेक अप्रासङ्गिक, अप्राकृतिक अनि अप्रत्यासित अवस्थाले एक्कासि पोल्ने गर्दछ । मुलुक तत्कालीन अवस्थामा माओवादी विद्रोहले गर्दा आततायी थियो । माओवादी अनि नेपाली सेनाको सङ्क्रमणमा युवामन अस्वस्थ बन्दै गएको त्यो त्यस्तो अवस्था थियो, जब शान्त जीवन अनि सम्पन्न जीवनको वहानामा हजारौँ युवाहरू मुलुकबाट निकास खोज्दै गरेका थिए । केही गर्ने प्रण गरेकै पलमा पनि पारिवारिक सहमतिमा पारिवारिक खुसीको लागि सयौँ युवाहरूसँगै २००१ कै सो घटनाउप्रान्तको अर्को महिना अर्थात् जुलाईमा राघव अमेरिका भासिन बाध्य भए । राघव सम्झन्छन्, ‘भविष्य तत्कालका लागि उज्ज्वल लाग्ने देखेको भए तापनि एक अति नै अनौठो पीडा यस्तरी छातीभित्र उब्जिन थालेको थियो कि परिवारलाई सदाकै लागि गुमाउँदै छु, उक्त यात्रा नै अन्तिम यात्रा हो कि जस्तो लागेको थियो ।’ जन्मेको ठाउँ, सपनाहरूका महलहरू सजाएको ठाउँ, माया गरेको र माया लगाएको ठाउँ, ठोक्कर लागेको अनि आफै आँसु पुछेको ठाउँ र साथमा आफ्नो परिवार अनि सानी छोरीलाई त्यो बेला छोडेर जाँदा, जुन बेला मुलुक जे पनि बन्न सक्थ्यो, कसको मन अस्थीर रहँदैनथ्यो र ?

‘सानी छोरीको भविष्यको चिन्ता, सन्त्रस्त तत्कालीन आफ्नो पारिवारिक यथार्थ, अनि आकाशजसरी दिनप्रतिदिन चुलिएको लाग्ने महँगी र अति नै अस्तव्यस्त तथा आक्रामक लाग्ने तत्कालीन सामाजिक परिवेशलाई पचाउन सकिएन, हुनसक्छ, त्यही परिवेशले हामीलाई खाएको होस् । हामी परिवारलाई केवल आफ्नै रहरको सानो पुलिन्दामा आफ्नै सामर्थ्यले बलियोसँग बाँध्न चाहन्थ्यौँ, त्यसैको प्रभावमा त्यसरी हामी आफ्नो वैवाहिक जीवन बिताउने प्रण सजिलैसँग गरेका थियौँ । जिन्दगीलाई सम्झौताको जलपले सिँगार्नैपर्ने रहेछ, मैले त्यो घडी बुझेको हुँ ।’ नन्दिता बितेका सम्झनाहरू खोतल्ने क्रममा निक्कै नै साहित्यिक बनेकी उनको गम्भीर तर वजनदार स्वरबाट सजिलै थाहा लाग्दथ्यो । आफ्नो पाटाको जीवनलाई रङ्गीन सम्झनाशील आँखाले हेरेर उनी सायद बताउँदै थिइन् । बितेको डेढ दशकले तत्कालीन नेपाललाई के र कस्तो स्वरूपमा लगेको छ, त्यो सर्वविदितै छ, तथापि आम तर योग्य नेपाली मानसिकतामा उक्त डेढ दशकले कस्तो प्रभाव पारेको छ त भन्ने सन्दर्भलाई हेर्ने सानो प्रयत्नस्वरूप यो रिपोर्ट तयार गरिँदै छ ।

एक स्पोन्सरको भरोसामा अमेरिका भित्रिएका राघव त्यहाँ पनि दुई महिनाले गर्दा ढिलो बन्न पुगे । विल क्लिन्टनले पास गराएका आप्रवासीसम्बन्धी एम्नेस्टीको म्याद सन् २००१ को अप्रिलबाट सकिएको थियो, जसले एक निश्चित समयसम्म अमेरिकी सरकारलाई कर तिरेर रहन पुगेका आप्रवासीहरूले ग्रिनकार्ड पाउने आधारको अन्त्य गरायो । त्यसपछि राघवलगायतका युवाहरू अर्को एम्नेस्टी नबनुन्जेलसम्म आफूहरू पर्खने भन्दै सोही अवस्थाको कागजमा हस्ताक्षर गर्न पुगेका थिए, जसलाई बुस प्रशासनले कहिल्यै गम्भीरताका साथ पुनरावलोकन गर्न आवश्यक देखेन र त्यसको आशामा रहेका अन्यजस्तै राघवको पनि आफ्नो भिसाको म्याद गुज्रेको थियो । त्यसलगत्तै आफूलाई शरणार्थीको क्याटागोरीमा दर्ता गराउन सफल भएको भए तापनि स्पोन्सर साहुको दयामा दश वर्ष, श्रीमती, छोरीलगायतका परिवारका सदस्यहरूको सम्झनामा साँझहरू रक्सीमय बनाएर बिताउन बाध्य भए । त्यहाँ पनि केही हुन्छ कि भन्ने आशामा रहँदारहँदै अनुहारभरि समयको क्रूर छाप तेज गतिमा बढ्दै गएको समयमा राघव जीवनमा भोग्न नपाएका हजारौँ पलहरूका लागि अग्रिम रूपमै शोक मनाउन थाल्दथे । एकपटकको जीवन त्यसरी अस्तव्यस्त होला भन्ने कलेज जीवनमा आफूले पटक्कै नसोचेको बताउने राघवले एकपछि अर्को गर्दै आफ्ना सपनाहरू भत्किरहेको बारम्बार महसुस गरेको बताउँछन् र उनलाई लाग्दछ, जस्तो भोग्यो त्यस्तै नै जीवन हो भने जीवन दिक्कलाग्दो रहेछ भन्ने उनको खोज हुनेछ ।

राष्ट्रियताको भावना तब प्रबल लाग्दछ, जब अन्य मुलुकमा आप्रवासी भई रहन बाध्य भइन्छ भनेर धेरै विद्वान्हरूले बारम्बार लेखेका, बोलेका छन् तर विदेशी मुलुक, खासगरी सम्पन्न विदेशी मुलुकमा रहने अनि भास्सिने प्रयत्नमा मानिस त्यही राष्ट्रियताको भावलाई तीर्ण अनि जीर्ण बनाउँछन् । नेपालमा राजा वीरेन्द्र परिवारको सर्वनास भएपछि समस्त राजनीतिमा पनि त्यसकै हाराहारीमा सर्वत्र विनासहरूको सुरुवात हुन थाल्यो । माओवादीहरूको दबाब तीव्र हुन थाल्यो भने मूलधारका मानिएका पार्टीहरूबीच राष्ट्रिय साझा महत्त्वमा पनि एकमत हुन सकेन । तर, त्यही अवस्थामा नै मूल राष्ट्रिय धारमा माओवादीको प्रवेश भयो । नेपालको तत्कालीन वा नेपालको आधारभूत व्यवस्थालाई कुनै पनि आधारमा नमान्ने माओवादी त्यही व्यवस्थाभित्र, त्यही व्यवस्थालाई आधार बनाएर आए पनि समस्त राजनीतिमा त्यसले अन्योल परिवेशबाहेक केही दिन सकेन । त्यसकै प्रतिफल हो तत्कालीन राजा ज्ञानेन्द्रले देशको बागडोर आफ्नो हातमा लिन सक्षम भए । तर, त्यसरी सजिलै शक्ति आफ्नो हातमा लिए तापनि गलत सहयोगीहरूको साथले गर्दा आफैं नै मूलधारबाट बाहिरिन उनी बाध्य भए । यसरी नेपाल विविध शैली र प्रयोगबाट परिवर्तित भइरहने अवस्थामा भने परिवारलगायत पारिवारिक जीवनमा स्थायित्व खोज्ने लाखौँ जनता विक्षिप्त भइरहेका थिए । त्यही बेलामा नेपालबाट विदेशमा लाखौँ नेपाली भ्ास्सिएका थिए । माओवादी कहरको क्रूर पञ्जाबाट फुत्केर आएको बहाना बनाउँदै नेपालीका भव्य व्यक्तित्वहरू विदेशी मुलुकमा शरणार्थी भएर भविष्यको जोहो गर्न लाग्दै गर्दा भने त्यही सङ्क्रमित नेपालमा त्यही सङ्क्रमित हालतमा रहँदै जिजीविषा धान्न आ-आफ्नो ल्याकतले मूलधारका नेपाली चलायमान भएका थिए । नन्दिताले पनि सानो बुटिक सप सुरु गरिन् । मानिस परिवेश र परिस्थितिजन्य बन्दो रहेछ, त्यस्तै नन्दिता आफू पनि बनेको बताउँछिन् । कहिलेकाहीँ हप्ताको एक या दुई दिन बडो डर र मुस्किलले दोकान खोले तापनि व्यापार शून्य भई गहनाहरू बेची भाडा तिर्नुपरेको बताउने नन्दिता जे र जस्तो अवस्था भए पनि त्यसको भरपूर सदुपयोग गर्न पछि नपरेकी बताउँछिन् । उनी सानी छोरीलाई बोकेर लाहुरेको घरघरमा पुगी तिनका श्रीमती तथा छोरीहरूलाई शृङ्गार गर्ने काम केही लामै समय गरेको घटना निकै रोचकताका साथ भन्छिन्- ‘कसैलाई समस्या र अभाव फालाफाल त कसैलाई साधन र स्रोत नै फालाफाल ! सानी छोरीका मनभरि जमेर रहेका रहरहरूलाई आमा भएको नाताले सजिलै बुझ्न सके तापनि विवश भई अबुझ बन्नुजस्तो पीडादायी, लोग्ने साथमा नहुँदाको अवस्था पनि लागेन ।’ राघवले अमेरिकामा दिनरात कम पारिश्रमिकमा पनि काम गरी अलिअलि पैसा नेपाल पठाउन थालेपछि भने नन्दितालाई ठूलै राहत मिलेको थियो । छोरीलाई राम्रो स्कुलमा त पढाउन सकिने भइयो भन्ने सन्तुष्टि उनलाई तत्काल महत्त्वपूर्ण लागेको थियो । यता नेपाली चाडपर्वहरू परिवारको सम्झनामा भक्कानिएर रक्सीमय बनाई बिताउनुबाहेक अन्य विकल्प आफूले देख्दै नदेखेको राघव भावुक हुँदै बताउँछन् भने आफ्नो लोग्नेको आवाजमा आएको परिवर्तन र भाषालाई बुझ्न कोसिस गर्दा नसकेपछि मार्था झर्किँदै सोध्छिन्, ‘तपाईंहरूले मेरोबारेमा कुरा गरेको त होइन ? अङ्ग्रेजीमा बोल्नुहोस्, तपाईंहरू दुइटै ।’ राघव त्यसपछि हाँसिदिन्छन् । लाग्थ्यो, हाँसो पनि खुलेर नआउने गरेर उनी सान्दर्भिक भइसकेका रहेछन् आफ्नो बितेका पलहरूको सम्झनासँग ।

माओवादीको संलग्नतामा र अगुवाइमा सरकार बनेको पनि यो दुईपटक हो । आततायी बनेर कहलिएका माओवादीहरूकै सरकार हुने बेलामा पनि नेपाली मूलधारको परिवेशमा भने सामाजिक स्थिरता आएको छैन । हरेक पार्टीहरूले आफ्नो पार्टीको स्वार्थका लागि मात्र सोच्ने र तदनुरूप लाग्ने भएकोले पनि मुलुकमा शान्ति अझै छाएको छैन । आफ्नो स्वार्थभन्दा माथि उठ्न नसकेका पार्टीहरूको तरङ्गबाट आम जनताका सोच पनि पृथक रहन सकेको छैन । त्यसरी लामो प्रहरसम्म अमेरिकामा ग्रिनकार्ड पाउने प्रलोभनमा वा आफ्नो शरणार्थी केसको सुनुवाइ सकारात्मक हुने आशामा बस्दाबस्दा राघव हतासिन थालेका अवस्थामा वार या पार हुने गरेर अर्को मौकाको ताकमा रहेको बताउने क्रममा उनी अगाडि भन्छन्, ‘जीवन जस्तो भोग्यो, त्यस्तै हो रहेछ । परिस्थिति भनेको हावा हो र त्यसैको वहावमा आफूलाई वहन दिनु नै आजको युगमा बुद्धिमानी हो भन्ने मेरो अनुभव रह्यो ।’ अमेरिकामा जम्न सकिने अवस्था नाजुक बन्दै गएकोले राघव यूके छिर्ने दाउमा रहन थाले, गत वर्ष अर्थात् २०११ को सन्दर्भ यो । त्यसका लागि एक यूकेवासी युवतीसँग हेलमेल बढाउन धेरै पहिलेदेखि नै थालिसकेका थिए । नन्दिता सम्झिन्छिन्, ‘कतिपटक उहाँलाई अब र्फकनुस् भने तापनि उहाँ भन्नुहुन्थ्यो, त्यतिका वर्ष बिताइसकेपछि पनि विदेशमा रहने जुगाड नगरी कसरी र्फकनू ?, त्यसै भएर पनि हुनसक्छ, मैले उहाँलाई उहाँले सोँचेजस्तो नगर्न कहिल्यै भनिनँ । वैवाहिक मूल्य र मान्यताहरू नै खल्बलिने गरेर गरिने उपायहरूमा म चुपचाप नै बसेँ र बसिरहेकी पनि छु । जिन्दगी भनेको सम्झौता रहेछ, त्यसैले भन्छु म अब । यत्तिका वर्ष छुट्टिएर बसिसकेपछि अब केही वर्ष किन नपर्खने भन्नेतिर लागेर उहाँलाई सघाएँ ।’ हो, नन्दिताको सहमतिपछि राघव मार्थासँग नजिकिएका थिए र त्यसलाई पक्का बनाउने क्रममा लागिपरे । अवसरहरूको खोजी गरिने प्रयत्नमा खासगरी विदेशी भूमिमा वैवाहिक मूल्य र मान्यताहरू अनि राष्ट्रियता तथा स्वाभिमान आदि गौण भएर रहने रहेछ भन्ने राघव सम्झन्छन् । आखिरत: मार्थालाई कानुनी रूपमा विवाह नै गरेर त्यसैको भरमा उनी यूकेमा स्थायी नागरिक भएर छिरेका छन् । यो विवाहलाई भने, नन्दिता सिर्फकागजी विवाह ठान्छिन्, अझै । विवाहलाई बाटो खुला गर्नका लागि उनले नै नेपालबाट आफ्नो र राघवको सम्बन्धविच्छेद भएको कागज बनाएर पठाएकी थिइन् । उनलाई लाग्छ- विदेशीहरू नेपालीजस्तो वैवाहिक सम्बन्धमा त्यसरी गम्भीर हुँदैनन् र त्यहाँबाट सम्बन्ध टुटेपछि राघव मुक्त हुनेछन् । विश्वासले नै सृष्टिलाई धानेको हुन्छ तर विश्वासमा कति धर्ैय रहन्छ भन्ने त व्यक्तिगत क्षमताको कुरा पनि हो । राघवले पनि त्यस्तै सोच्दासोच्दै वा विश्वास राख्दाराख्दै मार्था गर्भवती भएकी थिइन् र अहिले त एक सानी मायालाग्दी छोरीकी आमा बनिसकेकी छिन् । जुन सम्बन्ध अब यस्तो पक्का अनि जेलिँदो डोरीजस्तै बनेको छ कि राघवले दिनप्रतिदिन जेलिनुबाहेक अन्य केही गर्न सकेका छैनन् । ‘उपायहरूको अभावमा जीवनलाई जसरी चल्छ, चलाउनुबाहेक अन्य योजनाहरू बनाउन म असफल भएँ ।’ यो उनको वास्तविक तथा यथार्थिक निचोड थियो ।

गत २००९-१० मा नेपाल राष्ट्र बैंकले निकालेको एक तथ्याङ्कअनुसार विदेशबाट लगभग सर्त्ताईस लाख सङ्ख्यामा रहेका नेपालीले आफ्ना परिवारहरूलाई २३१.७३ विलियन नेपाली रुपैयाँ पठाएका थिए र त्यो क्रम झन् बढ्दो छ । गत साल अर्थमन्त्री भरतमोहन अधिकारीले ३८४.९० विलियन नेपाली रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । नेपाल सरकारले करबापत असुल गरेको रकमले उक्त बजेटमा ६३ प्रतिशतले आफ्नो स्थान ओगटेको थियो भनिएको छ । विदेशी अनुदान १८ प्रतिशत, विदेशी ऋण ६ प्रतिशतसहित आन्तरिक स्रोतबाट उठाइएको ऋण १० प्रतिशत पनि सोहीभित्र परेको भनिएको सो बजेटमा रेमिट्यान्सको भाग कति थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अहिलेको परिवेशमा कैयन विदेशी मुलुकमा श्रमशक्तिको रूपमा आफ्ना नागरिक उपलब्ध गराउने मुलुकमध्ये नेपाल मुख्य देशको लहरमा पर्न आएको छ । तब पनि नेपालमा सो विषयमा सही र प्रभावकारी नीतिको तर्जुमा गरिएको छैन । दूतावासको अभावमा अनि सशक्त नियमको अभावमा लाखौँ नेपाली विदेशीभूमिमा शोषित भइरहेको अवस्था एकातिर छ भने इन्टेलेक्च्युअल प्रपर्टर्ीीानेर अवसर प्रदान गरिनुपर्ने ल्याकतमा रहेका अन्य हजारौँ-हजार विदेशी भूमिमा हराउन पुगेका छन् । त्यसले नेपालको समूल विकासमा कत्तिको नोक्सानी गरेको छ भनेर गम्भीरताका साथ खोजबिन पनि गरिएको छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइने नेपाली श्रमहरूको सही व्यवस्थापन हुनुपर्ने र त्यसलाई आधिकारिक रूपमा सरकारीस्तरबाट अवलोकन गर्नुपर्ने आवश्यकतालाई आफ्नो सरकारले गम्भीरताका साथ लिएको बताए तापनि आजसम्म सोसम्बन्धी कुनै ठोस कदम चालिएको छैन । कुनै पनि होनहार नेपालीको मुलुकबाट हुने पलायनतालाई सङ्ख्याको हिसाबबाट हेरिनुहुँदैन । त्यसले र त्यसको लहरले कालान्तरमा पर्ने राष्ट्रिय नोक्सानीको महत्त्वउपर सरकार सम्वेदनशील हुनुपर्छ । राघवजस्ता योग्य व्यक्तित्वको पलायन सङ्क्रामक हालतमा रहेको मुलुकबाट हुँदै जाने हो भने, ६०१ जनाजस्ता बाहुबल या यस्तैयस्तै अनेक तिकडम जालझेल र कुटिलताका आधारमा सदनमा भित्रिएका नीतिनिर्माताहरूबाट बन्ने नीतिनियमहरूले देशको भविष्य कस्तो देखिएला भनेर आरामैसँग कल्पना गर्न सकिन्छ । त्यही ६०१ जनाको लहरबाट उठेर मन्त्रीसम्म बनाइएका व्यक्तिबाट आठ सयवटा जिल्लाको परिकल्पना गरिनु पनि उही ६०१ उब्जनीको आधार हो भन्न सकिन्छ ।

अवसर र आधारको खोजीमा यो कालमा नभौंतारिनेहरू कमै होलान् र त्यही जस्तै केही कट्टर देखिने गरी यूके भित्रिएका राघवलाई वर्तमान बेलायती अवस्था र प्रेमपूर्ण उनको दाम्पत्य जीवनले अनौठोसँग विमुढ बनाएको हो, राघव स्वीकार्दछन् । कागजपत्रहरूलाई एकत्रित गर्दागर्दै अनि सोही गतिमा विभिन्न स्थानहरूमा विभिन्न रूप र हालतको काम खोज्दाखोज्दै मार्था गर्भवती बनेकी थिइन् । अब, यहाँ काम खोज्दै गरेको अवस्था र मार्था गर्भवती हुन पुगेकी अवस्थालाई एकाकार गराउन खोजिएको नभई सान्दरि्भक यसरी बनाइएको हो कि त्यो अवस्थाको सुरुवात काम खोज्नुजस्तै गरी आततायी राघवलाई लागेको हो । विदेशीहरू सांसारिकतामा तिनको वैवाहिक जीवनलाई क्षणभङ्गुर सम्झने नन्दिताको भरोसाको आधार अनायासै खस्केको त्यो यस्तो दिन थियो जसबारे राघवले आजपर्यन्त सूचित गर्न सकेका छैनन् । सांसारिकतालाई एक-अर्कासँग पारस्परिक बनाउन सक्षम एक छोरीको रूपमा भर्खरै मार्थाको कोखबाट जन्मेपछि वास्तवमा भन्ने भए आफू अब भने योजनाविहीन भएको राघव बताउँछन् भने नन्दितासँग एक पूरा जीवनको जस्तो सम्पूर्ण योजना छन् । बितेका दशकभित्र दाम्पत्य सुखको नाममा आफूले गुमाएका समयको भर्ताल गर्ने सोचका साथमा बितेका वर्षहरूलाई नरमाइलो सपनाजसरी भुलाउन सकिने योजना बुन्दै हतारिएर समय गुजार्दै गरेकी नन्दितालाई योजनाविहीन बन्दै गएका राघवको मानसिकताबारे केही पत्तै छैन । विछोडिएका सुरुका वर्षहरूमा जुन अनुपात र अनुरागका साथ साटिएका वार्तालापहरू थिए, त्यो अहिले दुवैले नै भुल्दै गरेको दुवैलाई लाग्न थालेको छ भने, अनौठोसँग मार्थाको संस्कृतिलगायत चालचलनहरूभित्र नचाहँदानचाहँदै एकाकार हुँदै जानु आफ्नो बाध्यता मात्र नभई अब अहिले समर्पण बढ्दै गएको राघव बताउँछन् । धर्म व्यक्तिभित्रको सत्यको प्रदर्शनी हो र त्यो सत्य कहिल्यै सङ्कीर्ण नहुने विश्वास दिनप्रतिदिन प्रबल हुँदै जानु र क्रिश्चियन धर्मभित्रका चलनहरूले मन लोभ्याउँदै जानु पनि उनी आफ्नो मार्था र सानी बच्चीप्रतिको समर्पण भन्न रुचाउँछन् । तर त्यही सत्यको प्रदर्शन भने अझै दुवैतिर अनि आफैसँग पनि गर्न सामर्थ्य जुटाउन सकेका छैनन् । नन्दिता र करिश्माबारे न त उनी अहिले सविस्तारसँग मार्थालाई भन्न सकेका छन् न मार्था र सानी छोरीबारे सम्बन्धलाई नन्दितासँग नै खुलाउन सकेका छन् । गीतामा लेखिएको ‘जे भइरहेको छ ठीक भइरहेको छ र जे हुनेछ त्यो पनि ठीकै हुनेछ’ भन्ने उक्तिलाई सत्य होस् भन्ने कामना हरेक दिन गर्न भने भुलेका छैनन् राघवले । कफीको तीतो स्वादलाई क्याम्डेन रोडको चहलपहल अनि हतारतिर मिल्काउँदै मुक्त हुन खोजेसरी आङ तन्काउँदै भन्छन्, ‘हतारमा जीवनलाई ढुक्कसँग बुझ्नै सकिएनछ विगतमा भन्ने अहिलेको मेरो स्थिरताले सुझाएको छ ।’

आफ्नो र जेठी श्रीमतीको नाम गोप्य राखेर भए पनि आफ्नो हालतको असमञ्जस परिस्थितिलाई सार्वजनिक गर्नका लागि उक्साएका राघवकै आकाङ्क्षाअनुसार नन्दितालाई पनि राघवको वर्तमान हालातमा खुलासा गर्न सकिएन, तर उनको भविष्यको योजनाबारे सुन्दा मन त्यसै अमिलो भएर आएको छ । आफू पढेर डाक्टर हुने लक्ष्य राखेकी करिश्मा दु:ख-अप्ठ्यारो जे-जस्तो भए पनि आफू भने श्रीमान्बाट एक्लिएर नबस्ने आफ्नी आमाको अगाडि खुल्लै भन्छिन् । उता सो भनाइले नन्दिताले के र कस्तो प्रतिक्रिया जनाइन् थाहा छैन, तर प्रत्यक्षत: भनिन्, ‘असमयमा मेरी छोरी प्रौढ बने पनि जीवनमा आइपर्ने हजारौँ अरुचिकर हालतबारे केही थाहा छैन । यसलाई जीवनमा सम्झौता कति गर्नुपर्छ भन्ने केही अनुमान नै छैन । के गर्नु, हाम्रो पालामा नेपाल नै यस्तै भइहाल्यो, यिनीहरूको पालामा यिनले भोग्ने नेपालमा एकप्रकारले स्थायित्व आओस्, त्यही कामना गर्दै छु ।’ राघव आफ्नो हालत र बाध्यता अनि यथार्थको खुलेरै भन्न केही सक्दैनन् । समाजले व्याख्या गरेर उचित अनि अनुचित भनाइएको अवस्थाहरूलाई सोही अर्थमा उनी बुझ्न चाहन्नन्, सायद यो क्षेत्रीको विवशता हुनसक्छ यो उनी साधारणतया बुझपचाउन खोज्दै छन् जिम्मेदारीको, तर खुल्न नचाहँदा पनि उनको हालतलाई सजिलै अनुमान गर्न सकिन्छ । धेरबेरै चुप बसेपछि उनी बोल्दछन्, ‘लामो समयको ग्यापको प्रभाव हुनसक्छ, त्यत्ति साह्रो पोल्दैन अचेल घरको सम्झनाले, किनकि, अमेरिकामा आफूले दु:ख गरेरै भए पनि नेपालमा परिवारको सुखको राम्रै जोहो गरिदिएकै हुँ, यत्ति हो कि सोचेजसरी योजनाहरू सफल भएनन् र बाँकी थाँती रहेका समयलाई कसरी जोडूँ, त्यो सोचले भने बाराम्बार जलाउँछ । पहिला नेपाल र्फकन र फर्केर फेरि उता जान मिल्ने व्यवस्थाको अभावमा दिनप्रतिदिन नेपाल फर्केको सपना देख्नेले अहिले नेपाल र्फकन र फेरि त्यताबाट यता र्फकन मिल्ने कानुनी अवस्थाले व्यवस्थित भइसक्दा पनि नेपाल यही हालातमा फर्किहाल्न सक्ने आँट जुगाड गर्न सकेको छैन । त्यसैले नै आफूलाई परिस्थितिको भरमा छाडिदिएको छु, अब त्यसले जता लान्छ त्यतै बहँदै गर्छु ।’

58
Nira Shrama

यात्रामा एउटा प्रेम (स्मरण)

– नीरा शर्मा

जनवरी महिनाको चिसो मौसममा म अमेरिका हान्निएकी छु, एक्लै । जहाजमा यसै पनि ‘उग्रभलाद्मी’ मानिसहरू यात्रा गर्छन् । तिनको अनुहारमा औपचारिक हाँसोबाहेक कुनै हार्दिकता र न्यानोपन हुँदैन । सबैलाई कि उङ्नु छ, कि पिउनु छ । नीरस यात्राका काठजस्ता सहयात्रीहरू मैले कैयौं पटक बेहोरेकी छु तर सधैं दोहोरिने यात्रा इतिहास त्यो पटक भंग भएको थियो अनि त्यसैले यसलाई सम्झन लायक बनायो । आकाशमै कथाहरू बने र पात्रले कहिले नमेटिने एउटा छाप मुटुमा हानेर गयो । आजको यो संस्मरण त्यही सुनौलो फ्रेम भएको चस्मा लगाउने युवकको नाममा ।

Nira Shrama

‘म बल्ल सेक्युरिटी जाँचको लाइनमा छु । यात्रा अनिश्चित हुन्छ नै, मेरो त सर्त नै अनिश्चय यात्राको हो ।’

कानमा तिखो गरी ठोक्कियो नेपाली आवाज । सुन्दै हार्दिकता लाग्ने, कुनै दम्भ र औपचारिकता नभएको विशुद्ध आवाज । उसको आवाजको हार्दिकताले मेरा कानसँगै आँखा पनि त्यतै तानिए । मैले टाउको मात्र होइन, जीउ नै पूरै उतैतिर फर्काएर हेरेँ । लाइन निकै लामो थियो । यत्रो बेरसम्म थाहा नपाएरै हामी सँगसँगै रहेछौं । अग्लो र पातलो ज्यानको त्यो युवकको व्यक्तित्वले मलाई तानिरहेको थियो ।

मैले फर्किएर नै नहेर्नुपर्ने, हेरिहालेँ । जब आँखा जुध्यो, ऊ मुसुक्क हाँस्यो । त्यो हेराइ र मुस्कानले कोही चिनेको मान्छे पो हो कि झैं लाग्यो तर सजिलै बोलिहाल्ने कुरा पनि आएन । फेरि अर्कोपटक पुलुक्क नहेरी बस्न पनि सकिनँ । जब दोस्रोपल्ट उसले पनि मलाई नै हेरिरहेको पाएँ । नारी सुलभताले यहाँ पनि मार खायो । मैले हतारमा आँखा भगाएर नदेखे जस्तो गरे ।

ऊ पत्तै नपाई कुन बेलादेखि मेरो मनभित्र बसेर एउटा रोमान्चित हलचल मच्चाइरहेको रहेछ । अब भने लाइनभरि नै हाम्रा आँखाहरूले लुकामारी खेल्दै निकै बेरसम्म दोहोरी गाइरहे । ओहो, कस्तो हठातसँग आइ लागेको परिस्थिति । कस्तो हठातसँग झुल्किएको एउटा पात्र, कस्तो तीव्र र सुमधुरसँग सुरु भएको एउटा प्रेम ।

चम्किलो हरियो चेक सर्टमाथि रातो टाई लगाएको त्यो केटालाई सुनौलो फ्रेम भएको सानो चस्माले बडो स्मार्ट देखाएको थियो । लाम्चो अनुहार र पातलो दारीमा उसलाई त्यो चस्मा विछट्टै सुहाएको थियो । कोही चिनेकै मान्छे पो हो कि? अझै श्रीमान्का कुनै नातेदार पो हुन् कि? बिजुली चम्किएझैं पिलिक्क एउटा विचारले मन थोरै सशंकित बन्यो । उसलाई आफन्त र नातेदारका रूपमा स्वीकार गरेर यात्रा औपचारिक र बोझिलो बनाउने मनै थिएन मलाई ।

‘के हामी परिचित हौ?’ – उसले मेरो आगमनलाई स्वागत गर्दै उही हार्दिकता भरिएको स्वरमा प्रश्न गर्‍यो । मलाई आफूले पहिले पहल गरेकोमा कता-कता शंकोच लाग्यो । तर जे हुनु भैसकेको थियो । मैले पनि आफुलाई सक्दो सहज बनाउँदै, ‘हामी परिचय गर्न त सक्छौं नि’ भने । ऊ मज्जैले मुस्कुरायो ।

‘मेरो नाम … … । घर पोखरा ।’ उसले आफ्नो परिचय दिएको थियो ।

‘मेरो … … । मेरो पनि पोखरा नै हो त ।’ म केही उत्साहित भएँ ।

‘ओहो, छिमेकी परेछौं । तर सुन्नुस् न, मलाई ऊ त्यो पातले गोरे मान्छेको काउन्टरमा जानु छ । हजुरको पालोमा त्यो मानिस पर्‍यो भने मलाई जान दिनुस् न है । उसले नजिकै आएर एकसासमा बोल्यो । मानौं एउटा गह्रौं भारी मलाई दिएर सुस्ताएजस्तै । त्यहाँ काउन्टरमा नम्बर पनि थिएन, तर नेपाली पासपोर्टका लागि जम्मा दुइटा काउन्टर छुट्याइएको थियो तर उ किन त्यही जानुपर्ने हो कारण खुलाएन । मैले प्रश्न गरेर कारण सोध्न नपाउँदै उसले फेरि भन्यो । ‘प्लिज त्यति सहयोग गर्नुस् न । म तपाईंलाई सबै कुरा पछि बिस्तारमा बताउँला ।’

त्यतिबेला म समय र नियतिको खेल सम्झेर छक्क परेको थिएँ । जसले मलाई नजानिँदो गरी तानिरहेको थियो ऊ मसँग सहयोग मागेर नजिकिँदै थियो । म खुसीले फक्रेँ र हलुंगी भएँ अनि हुन्छ भनेर हामीबीचको दूरी अरू कम गरेँ । यसरी एउटा कथामा उनिँदै गएझैं अचानक अपरिचित दुई पात्र परिचित मात्र भएका थिएनन्, सहयोगी र आत्मीय पनि हुदै थिए ।

लाइन काउन्टरको नजिक पुगिसकेको थियो । उसले भनेजस्तै उसलाई बोलाउनुपर्ने काउन्टरले मलाई बोलायो । मैले उसलाई पठाइदिए । उसको अनुहारभरि डर र चिन्ताका रेखाहरू बग्दै थिए पसिनासँगै । मैले ऊ किन त्यसरी डराउँदै छ भनेर बुझ्नै सकिनँ । सोध्न पनि समय थिएन । मैले ‘अल द बेस्ट’ भनेँ । त्यतिबेला उसले मेरो हातै समातेरै धन्यवाद भनेको थियो । ओहो कति सजिलै च्याप्प हात समातेको होला । अनपेक्षित भए पनि मलाई विशेष प्यारो र मीठो लाग्यो उसको स्पर्श । कोही आफ्नो मनको मान्छेले छोएजस्तै ।

ऊ गयो तर नियमित काउन्टरबाट उसलाई अन्तै लगियो । मेरो शंका अरू सघन भयो । किन लगेको होला उसलाई मात्र? तर मैले गर्न सक्ने त्यहाँ केही थिएन । सेक्युरिटी जाँच सकेर म एक्लै निस्किएँ । ऊ निकै बेर आएन । चारैतिर हेरेँ, निकै बेर पर्खिएँ तर ऊ आएन । आँखादेखि मन सम्म फेरि बेचैनीले चिथोर्न थाल्यो । के एउटा पात्रको अनुपस्थितिमा यो कथा उडान नभर्दै ‘ग्राउन्डेड’ भएको हो त? मनमा यस्तै आशंका र प्रश्नहरू मडारिन थाले । तर न म फर्केर जान सक्थेँ न पर्खने धैर्य नै थियो । मीठोसँग कल्पना गरेको एउटा कथाको वियोगान्तक अन्त्यको आशंकाले मैले आफूलाई फेरि एकपटक अभागी यात्रीको दर्जा दिएँ ।

Nira Sharma

तर …….

तर फेरि हठातसँग ऊ गेट नम्बर १५ अगाडि आइपुग्यो । उड्ने समय अझै बाँकी थियो । ऊ सरासर म बसेकै ठाउँमा आयो र फेरि उसरी नै हात समातेर भन्यो, ‘धन्यवाद, तपाईंले गर्दा म आज जिन्दगीकै अप्ठेरो खुट्किलो उक्लिन सफल भए ।’

‘कस्तो खुड्किलो?’

‘हेर्नुस्, एटलान्टापारिको त्यो एकादेश एउटा सपना हो मेरा निम्ति । मलाई निदाउन नदिने सपना । मलाई सबै थोक दाउमा हाल्न लगाउने सपना । अन्यथा नसोच्नुहोला । मैले सबै लिगल च्यानलहरू प्रयोग गरे आफ्ना सपनाको निम्ति । सफल भइनँ अनि घरखेत सबै बेचेर दलाललाई ४० लाख बुझाएँ । सपनाले बाँच्नै दिएन । त्यसैले ज्यानलाई हत्केलामा राखेर म मेरो सपनाको देश हिँडेको छु । त्यो काउन्टर बस्ने मानिस सेटिङको हो । त्यसैले म उही भएको ठाउँ जानुपरेको । तपाईंले छोडिदिनुभयो धन्यवाद ।’

उ धाराप्रवाह अघि बढ्दै गयो । ‘हेर्नुस्, घर छोडेर दिल्लीको होटलमा बसेको ठ्याक्कै महिना दिन भयो । आज धन्न कटेँ, च्यानल मिलेकाले । कति साथी यहींबाट फर्कन्छन् । हिजै मात्र त्यही होटलमा बसेका तर अर्कै दलालका चार जना फर्किए । हजुर त मेरो लागि भगवान नै हुनुभो ।’ ऊ बोलिरहँदा कथाले अचानक लिएको मोडले म झसङ्ग भएँ तर उसको अमेरिका मोह देखेर मलाई बडो बिस्मात लाग्यो । तिम्रो सपनाको देश, सपना जस्तै सुन्दर छैन भनूँ कि झैं लाग्यो तर भनिन । बरु सोध्नै पर्ने एउटा प्रश्न सोधेँ ।
‘अमेरिकाको भिसा छ तिमीसँग?’

‘छैन, छैन र त सेटिङ मिलाउनुपरेको । म स्तानबुलबाट ब्राजिल जान्छु । अनि ब्राजिलबाट मेक्सिको । मेक्सिकोबाट पैदलमार्ग हुँदै क्यलिफोर्निया छिर्ने योजना हो, सबै ठाउँमा च्यानल मिल्यो भने । साँच्चै तपाईं कहाँ जान लाग्नुभएको?’

‘म पनि तिम्रो सपनाको देश नै जाँदैछु ।’ वाउ, उ रोमान्चित भयो । मानौँ अमेरिका स्वर्ग हो र म स्वर्गमा बस्ने अप्सराजस्तै केही हुँ ।

तर उसको अमेरिकासँग जोडिएको फेन्टासी देख्दा मन नमीठो भएर अमिलियो । उसले उठाएको जोखिम देख्दा आफ्नै आङ सिरिङ्ग भयो । के पृथ्वीको कुनै एउटा कुनो पुग्नुको यत्रो मूल्य हुन सक्छ? तर उसले आँटिसकेको थियो । उसको सफलताको कामना बाहेक म अरु केही पनि गर्न असमर्थ थिए ।

‘कफी पिउनुहुन्छ?’ एकछिनको सन्नाटा चिर्दै बोल्यो ऊ । ‘हुन्छ जाऔँ’ मैले सहज बनाउन खोजेँ आफू र वातावरण दुवैलाई ।

हामीले कफी पियौं । उसले अमेरिकाका विषयमा बुनेका सबै सपना सुनायो । मैले सुनेँ । म भित्रभित्रै हाँसिरहेकी थिएँ । उसले देखेको सपनाको वास्तवमै बिपनासँग कुनै पनि तालमेल थिएन, तर वास्तविकता बताएर उसलाई दु:खी बनाउन चाहन्नथेँ म । कफीको पैसा तिर्ने बेला मेरो हात नै समातेर मलाई रोक्यो उसले । घरी-घरी उसका हातले मलाई छोइदिँदा आगोको छेउको घिउझैं लाग्दै थियो आफूलाई । मैले उसको आँखामा हेरेँ जहाँ म थिएँ अथवा उसको अमेरिकाको सपनासँग जोडिएकी एउटी पात्र थिई । म आज दाबीका साथ भन्न सक्दिनँ तर त्यो बेला एउटी विवाहिता महिला सबैथोक भुलेर एउटा सपनाजस्तो युवकसँग सपनाजस्तै प्रेममा थिई । बस म यति भन्न सक्छु । त्यो विचित्रको प्रेमकथा थियो । विचित्रको आकर्षण थियो । केही घण्टाको यात्रा पछि छुट्टिने निश्चित थियो र पनि ऊसँग मेरो प्रेम भयो ।

हाम्रो उडानको समय आयो । मुस्कुराउँदै प्लेन भित्र पुग्यौं तर हाम्रो सिट सँगै थिएन । दुवैको अनुहारमा बादल छायो । म अगाडि थिएँ । ऊ पछाडि । हामीले उसको छेउको मान्छेलाई विशेष आग्रह गरेर अगाडि पठायौं र पछाडि सँगै बस्यौ । हाम्रो प्रेमको उडान र जहाजको उडानले एकनासले उचाइ लिँदै गयो ।

‘कति घण्टा ट्रान्जिट हो स्तानबुलमा?’ उसले एउटा नमीठो सत्य सम्झाइदियो ।
‘पाँच घण्टा ।’ मेरो जवाफमा उस्तै नैराश्यता थियो ।
‘अनि तिम्रो ?’
‘मेरो भोलि ।’
ऊ मभन्दा बढ्ता उदास हुदै भन्यो, एकछिन मौन भयौं फेरि बोल्यो, भयो भुलौं जिन्दगीका बाध्यताहरू । भागमा परेको जीवन बाचौं हुन्न?’

मैले सहमतिमा टाउको हल्लाएँ ।
‘के पिउँछौ?’
‘वाइन ।’
‘तिमी?’
‘वाइन नै ।’

हामीले वाइन मगायौं । अनि फेरि मगायौं र फेरि मगायौं । हामीले केही भुल्न र केही सुरु गर्न चाहेका थियौं सायद । नत्र नशाको सहारा लिनु आवश्यक थिएन । हामी स्वयं नै एक-अर्काको नशाले आफैं-आफैं मदहोस भैसकेका थियौं । नशाको शिथिलता र उन्मादका बीच कुनै मेहनती किसानले खेती गरेजस्तो आकाशको बीचैबीच उडिरहेको जहाजमा एकर अर्काको अँगालोमा हामी निदायौ अथवा निदाएजस्तो गरिरह्यौं ।

यात्रारत रहँदा सायद चियाइरहने आँखाहरूबाट मुक्त हुन्छ र पोखिएर छताछुल्ल हुन्छ मान्छे । मैले पनि त्यो पललाई हातबाट उम्किन दिइन । सबै बन्धन, सबै सर्त र सबै सम्बन्धहरूबाट मुक्त भएर आफू र मात्र आफू भएर बाँच्न चाहेँ । झन्डै आठ घण्टाको लामो उडानभरि हामी प्राय: मौन नै बस्यौ । आँखाहरू बोले । धड्कनहरू बोले । रहरहरू पोखिए । केही अघिसम्म अपरिचितझंै लाग्ने अँगालोहरू भरिए र श्वास साटासाट भए र ती सबैको उपद्रोलाई हामीले मौनतापूर्वक स्वीकार गरिरह्यौं ।

‘सुन न ।’ ल्यान्डिङको सूचना पाएपछि उसले शब्दमा केही बोल्यो ।
‘भन ।’
‘आज नजाउ न प्लिज ।’
‘मेरो ३ वर्षे छोरो श्रीमानसँग एयरपोर्टमा पर्खिरहेको हुनेछ ।’
‘फ्लाइटहरू क्यान्सिल पनि त हुन्छन् ।’
‘तर, त्यसको सुचना एयरपोर्टको बोर्डमै डिस्प्ले हुन्छ ।’
‘त्यसो भए एयरपोर्ट बाहिर कतै २ घण्टा मलाई देऊ न ।’
‘लैजाऊ ।’
‘नाइँ ।’

‘आफैंले मागेको होइन तिमीले?’
‘हो तर त्यतिले नपुग्ने भो मलाई ।’ ऊ निकै भावुक देखियो । अनि थपक्क मेरो काखमा टाउको राखेर सुतिदियो ।
‘मलाई पनि तिमीसँगै लैजाऊ न है ।’ बडो मीठो लागेको थियो पहिलो पटक उसले आफ्नै जस्तो गरेर गरेको आग्रह । मसँग जवाफ थिएन तर मनमा ऊ प्रति असिम प्रेम जागेर आयो ।
‘केही त बोल ।’
‘तिमीलाई थाहा छ मैले चाहेर पनि तिमीलाई सँगै लैजान सक्दिनँ ।’ उसले बुझेझैं गरि टाउको हल्लायो । त्यसपछि हामीले त्यो साँझ स्तानबुलमा सँगै बितायौं । चुपचाप तर कसिलोसँग हातहरू बाँधेर ।

अनि छुट्टिनुअघि फोटा खिच्यौं । उसले मेरो भाइबर नम्बर लियो र मैले उसलाई जहाँ-जहाँ पुगे पनि मलाई खबर गर्दै रहने बाँचा गराएँ र अन्तत: एउटा भारी मन लिएर उसलाई त्यही एयरपोर्टमा छोडेर म न्युयोर्क उड्ने सुरक्षा जाँचतर्फ लागे । जाँचको अन्तिम घेरा नाघ्नै लाग्दा ऊ दौडिँदै आयो र केही बिर्सेझैँ गरी भन्यो –
‘सुन त, मेरो पासपोर्ट त लगेकी छैनौ नि?’
‘छैन किन लान्थेँ र? अघि फोटो खिचेपछि मोबाइल पनि तिमीलाई नै दिएको छु हेर त ।’ मैले भनेँ ।
ऊ खिस्स हाँस्यो तर नमीठो ।
‘सुन न’ फेरि आयो उसको बेचैन मनको आवाज ।
‘भन छिटो भन, हेर त म ढिलो हुँदैछु ।’
‘केही त लिएर जाँदैछौ नि?’
‘हो लिएर जाँदैछु, तिम्रा केही स्पर्शहरू । जसले मलाई भित्रैसम्म छोएका छन् ।’

Nira Sharma - Saptahik

त्यसपछि जिन्दगी यन्त्रवत चल्न थाल्यो । घर, काम, श्रीमान् र छोराछोरीको सेरोफेरोमा नियमित चक्रमा घुमिरह्यो । म पुगेको धेरै दिनसम्म पनि उसको केही खबर आएन । म घरिघरि भाइबरमा अनलाइन छ कि हेरिरहन्थेँ तर कहिले अनलाइन देख्दिनथेँ । एक दिन भाइबरमा म्यासेज आयो ।

‘हाइ प्यारी, तिमीलाई सम्झिरहेको छु । तिम्रो मायाको ऊर्जाले यात्रा सहज भएको छ । अहिले बोल्न मिल्दैन । फेरि मिलेको बेला कल गर्छु ।’ तर मैले जवाफ दिन नपाई अफलाइन भयो ।

जिन्दगी नामको चक्र फेरि दैनिकीमा फन्को लगाउँदै गयो उसको माया र सम्झना समय पाउँनासाथ धिपिक्क धिपिक्क बल्थे र सँगसँगै हिँड्थे पनि, तर जब थिचिन्थ्यो वास्तविक जिन्दगीको बोझले तब छुटेझैं लाग्थ्यो पर कतै ।

त्यसको झन्डै दुई महिनापछि फोन आयो । ऊ पटक्कै खुसी थिएन । थाकिसकेको थियो जिन्दगी र जिन्दगीले दिएको अनिश्चित यात्रासँग । मेक्सिको जंगलबाट उसले फोन गरेको थियो । ‘२५ दिन भयो हामी भोकै तिर्खै जंगलै जंगल हिड्दै छौ । आज बिहानै हामीले पासपोर्ट च्यात्यौ । अब तिमीलाई अन्तिम कल गरेर फोन पनि फ्याँक्नुपर्छ । हामी सायद मेक्सिको र क्यालिफोर्नियाको बोर्डरमा छौं । बाँचेर तिम्रो देश आइपुग्छु जस्तो लागेको छैन । आइपुगेछु भने कोसेली लिएर अवश्य भेट्न आउनेछु ।’

०००

फेरि जिउनुको नाममा घुमिरह्यो जिन्दगी । दिन बिते । महिना र वर्ष बिते तर यो बीचमा उसको कुनै खबर आएन । म दुईपटक नेपाल पुगेर फर्किएँ र प्रत्येक ट्रान्जिटमा मेरा आँखाहरू उसकै खोजमा समय काट्थे । मलाई अब यात्रामा कसैसँग बोल्ने रहर पनि जागेन । आफ्नो एउटा पात्र र एउटा कथा नै यस्तो अधुरो रहेपछि मलाई यात्रादेखि फेरि बैराग लागेर आयो ।

तर एकदिन ऊसँग त्यसरी नै अचानक भेट भयो जसरी दस वर्षअघि दिल्ली एयरपोर्टमा भएको थियो । साँझको समय, शरद् ऋतुको याम, डब्लिन पार्कको बीचमा एक लोग्ने मान्छे, एक नारी र एक बच्चा थिए । मैले उसलाई परैबाट चिनिहालें । ऊ प्रशस्त मोटाइसकेको थियो र पनि मैले उसलाई चिनेँ । नजिक गएँ तर उ दिल्ली एअरपोर्टमा हाँसे जसरी हाँसेन ।

म अझै नजिकै गएँ । उसको अनुहारमा हेरेर मुस्कुराएँ तर ऊसले प्रत्युत्तरमा अनौठो मानेर हेरिरह्यो । म के गरूँ के गरूँ अलमल्लमा परें । मेरो मुखबाट हठात् निस्कियो, ‘के हामी परिचित हौं?’
उसले औपचारिक र कृत्रिम मुस्कान छोड्दै भन्यो ।
‘आई ड्न्ट थिंक सो ।’

ढल्किँदै गैरहेको साँझ मेरा निम्ति एक्कासि मध्यरातजस्तो भएको थियो । मैले उसको अनुहारबाट आफ्नो अनुहार हटाएँ र त्यहाँबाट हतार-हतार बाहिर निस्किएँ । एउटा निष्पट्टता र सन्नाटाले मलाई लखेटिरहेको थियो, तर कान भरी भने एउटै आवाज गुन्जिरहेको थियो ।
‘आई डन्ट थिंक सो.. आई डन्ट थिंक सो…’

म भने आफूलाई बलजफ्ती कन्भिन्स गराउन खोजिरहेकी थिएँ । ऊसले सही भन्यो, ऊ स्तानबुल एयरपोर्टमा बिदा भएको त्यो हँसिलो युवक हुँदै होइन, अहँ पटक्कै होइन ।

‘साप्ताहिक’ बाट
प्रकाशित मिती : आश्विन २३, २०७३
Published Date : October 9, 2016

Source Link :
http://saptahik.ekantipur.com/news/2016-10-09/20161009122649.html

49

जनार्दन शर्मा, देवत्वकरण र यथार्थ – मिलन शर्मा

नेपालमा अहिले चर्चामा छन् पूर्व उर्जामन्त्री तथा वहालवाला गृह मन्त्री जनार्दन शर्मा । माओवादी केन्द्रकाे तर्फबाट जनार्दन शमाले उर्जा मन्त्रालय समालेपछि निक्कै परिवर्तनहरू गरे । सबैभन्दा पहिला चमत्कारिक रुपमा कार्यकारी अधिकृत परिवर्तन गरे । एमाले समर्थित मुकेश काफ्लेलार्इ हटाएर चौंथो बारियातामा रहेका कुलमान घिसिङलार्इ कार्यकारी अधिकृत बनाए | घिसिङले पनि चमत्कार गरेजसरी नै लोडसेडिङ अन्त्य गरिदिए । आम नेपालीको समस्याको रुपमा रहेको लोडसेडिङ अन्त्य हुनाले सारा नेपालीले कुलमानको जय जयकार गरे । जनार्दन शर्मा पनि एकाएक सफल उर्जामन्त्रीको रुपमा चित्रित भए । सबैले राम्रो भनेको मान्छे राम्रै हुन्छ भन्ने कल्पना सबैलाई हुन्छ त्यो स्वभाविक हाे । तिनै राम्रा मान्छेले पनि नराम्रो गर्छन् भन्ने पत्याउन अवश्य पनि गाह्राे हुन्छ तर बिडम्बना तिनै राम्रा मान्छेले देशलाई सँधै दुख्ने उपहार छोडेर गएका छन् बुढी गण्डकी आयोजना ।

पहिला जनार्दन शर्माकाे बारेमा जानाैं । जनार्दन शर्मा ‘प्रभाकर’को जन्म बि.सं.२०२० साल बैशाख १२ गते रुकुम जिल्लामा भएको हो । जनार्दन शर्माका एक छोरी र एक छोरा छन् । शर्मा बिसं २०६४ सालको संविधानसभा निर्वाचनमा रुकुम जिल्लाको क्षेत्र नम्वर २ बाट ३० हजार २ सय ७० मतप्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रेमप्रकाश ओली क्षेत्रीले ९ हजार २ सय ५० मत प्राप्त गरेका थिए । तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का शेरबहादुर के.सीले ६ हजार ६८ मत प्राप्त गरेकाथिए । राजनीतिशास्त्र र नेपालीमा स्नातक शर्मा बिसं २०३६ सालको विद्यार्थी आन्दोलनमार्फत् राजनीतिमा सक्रिय भएका हुन्। शर्मा बिसं २०५५ सालमा तत्कालिन नेकपा (माओवादी)को केन्द्रीय सदस्य बन्नेका हुन् । सशस्त्र बिद्रोह कालमा माओवादी लडाकूका डेपुटी कमाण्डर भएर काम गरेका शर्मा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र हुन् । उनी यसअघि शान्ति तथा पुर्ननिमाण मन्त्री भएर काम गरिसकेकाछन् ।

बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको उर्जामन्त्री जनार्दन शर्माले जनाएका छन् । नक्कली भ्याट बलि बनाई राजश्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बूढी गण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिने निर्णय गरिएको हो । चिलिमे हाइड्रोपावर कम्पनीअन्तर्गत स्यान्जेन विद्युत आयोजनाले गेजुवासँगको ठेक्का सम्झौता रद्द गरी उसलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखेको थियो ।

Kulaman Ghising

सबैतिर हाइ हाइ कमाइरहेको बेला खुसुक्क यस्तो राष्ट्रघाती निर्णय गरेर शर्मा उर्जा मन्त्रालय छोडेर गए । के.पी ओली सरकारले निर्णय गरिसकेको र आफूले सही मात्र गरेको जनाउने शर्मालार्इ कुन कानूनले सही गर्न वाध्य बनायो भने बताउन चाहँदैनन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले औपचारिक रुपमै सो निर्णयको बिरोध गर्नु भएको छ । नयाँ शक्ति पार्टीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै उहाँले यो कदमको बिरोध जनाउनु भएको हो । यस्तै विज्ञहरुले पनि बूढीगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

विज्ञहरुले नेपालको जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रलाई उत्साही बनाउन र वैदेशिक लगानी भित्रयाउन समेत बूढीगण्डकी जलविद्युत आयोजना नेपाल आफैले बनाउनुपर्ने पनि स्पष्ट पारेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै जलस्रोतविद् लक्ष्मीप्रसाद देवकोटाले बूढीगण्डकी जलविद्युत आयोजना नेपाल आफैले सम्पन्न गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले बूढीगण्डकी जलविद्युत आयोजना नेपाल सरकार आफैले सम्पन्न गरे वैदेशिक लगानीसमेत भित्रयाउन वातावरण बन्ने पनि उल्लेख गरे । जलस्रोतविद् देवकोटाले जलविद्युत आयोजनामा लगानी गर्न नेपालमा धेरै वित्तीय संस्थाहरु समक्ष रहेको पनि स्मरण गराए । अर्का जलस्रोतविद् रामहरि कोइरालाले बूढीगण्डकी जलविद्युत आयोजना विदेशी कम्पनीलाई दिने सरकारको निर्णय मुलुकको हितमा नरहेको बताए । उनले सरकार र निजी क्षेत्रको लगानीमा सो आयोजना निर्माणको काम सम्पन्न गर्न सकिने पनि स्पष्ट पारे ।

यता माओबादी कार्यकर्ता शर्माको देवत्वकरण गर्न पछि परेका छैनन् । हाल गृह मन्त्री रहेका शर्माबाट चमत्कार हुन्छ भन्ने दिवा सपना फेसबुकको भित्ताभरि पोतेर शर्मा नै आधुनिक नेपालको खम्बा हुन् भन्ने भ्रम छर्न माओबादी कार्यकर्ता तलिन देखिन्छन् । राम्रो काम सबै जनार्दनले गरेको भनेर भ्रम छरिएको छ ।

Meelan Sharma

नेपालले चाहँदा यो आयोजना सम्पूर्ण रुपमा आफ्नै लगानीमा निर्माण गर्न सक्छ । सरकारले पनि पेट्रोलिएम पदार्थमा रु.पांच कर लगाउने निर्णय गरेको थियो जसबाट उठेको राजस्व सोही आयोजना निर्माणको लागि प्रयोग हुने जनाइएको थियो । बीबीसीले सोही प्रश्न गर्दा उर्जा मंत्री शर्मा तेत्रो लगानी देशले गर्न नसक्ने र देशलार्इ घाटा नरहेको भन्दै पन्छिएका थिए | शर्माले उर्जा मन्त्रालयले मार्केट टेस्ट गर्दा हामी आफै तेत्रो लगानी जुटाउन सक्दैनौ भन्ने रिपोर्ट आएकोले गेजुवालाई दिने निर्णय गरिएको बताए । आम जनताको ठूलो आशा हुँदाहुँदै पनि नेपाल आफैले बनाउन सक्दैन भन्नु शर्माको बोलीपछाडि केही न केही रहस्य लुकेको हुनुपर्छ ।

शर्मा पनि जुनै जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ गर्ने पात्र मात्र हुन् । हामी नेपाली होमा हो मिलाउँदै जादाँ सत्य र यथार्थलाई पनि बिर्सने गर्छौं । गुण र दोषको आधारमा मान्छेलाई मापन गर्दै जानुपर्छ । जनार्दन शर्माको देवत्वकरण होइन, उनलाई पनि यथार्थको धरातलमा उभ्याएर देश र जनताप्रति उत्तरदायी बनाउनु पर्छ ।

तस्वीर श्राेत : नेट

70
NRNA UK

गैरआवासीय नेपाली संघको चुनाव, बेलायतमा नेपाली राजनीति शुरु

सेन्टर लण्डन जाने दुई तले रातो बसमा चढ्दै गरेको बखत, माथिल्लो तलाको पछाडिको सिटमा बस्ने दुई अधवैंशे नेपालीमध्ये एक, फोनमा कसैसँग बोल्दै गरेको स्पष्टै सुनिन्थ्यो — ‘….त्यो पाल्पाली ढाकाको टाई र स्टकोट मेरोलागि, …. अँ…. अँ..तेरो साइजको र तेरो भाउज्यूको लागि ढाकाको पछ्यौरा पठा’ …ए झण्डै भुल्या’ ….त्यो अस्ति नै भन्याथेँ नी ?….खुकुरी, …..हो, तर चाँदीले बेह्रेर माछापुछ्रे हिमालको चिन्ह जडेको चाहिँ पठा’, कर्द पनि भा’को है ? जति परे नी म व्यओर्छु ।…..हुन्छ, हुन्छ ।….’

ढाकाको टोपी नै लगाएर लण्डन कुद्ने बसमा यात्रा गर्दै, पोखरामा आफ्नो काकाको छोरोसँग बोल्दै गरेको, रमाइलो देखिने विनोद गुरुङ थिए । फोन राखेपछि भन्दै थिए — ‘……नेपाली देखिएर बेलायताँ बस्ने मज्जा नै बेग्लै खाले हुँदो र’छ गोराका अगाडि ।….’ अनि यहाँको नागरिकता लिइसकेर यहाँकै रैथाने भइसकेको अवस्थामा देश अनुसारको भेष गर्नुपर्ने होइन र हामीले? भन्ने प्रश्नमा उनी केही गम्भीर भएका थिए — ‘…..हेर्नुस्, याँ केही हाम्रा मान्छेहरुमा त्यो भरम छ । हाम्लाई बेलायतले गोरा बनाउनका लागि हाम्लाई पखालेर, टल्का’र अनि रंग्या’र याँको नागरिकता दिया’ होइनन्, कानूनले हाम्लाई हाम्रो संस्कृति अनि परम्परासितै राख्या’ हुन् र आफ्नो परम्परा अनि संस्कृति मान्छेको आफ्नो अस्तित्व हो । यो काम गर्ने थलो हो, याँको कानून र व्यवस्थाहरुमा रम्दै हाम्लाई आफ्नो अस्तित्वको सम्मान गर्न पाउने अधिकार हुन्छ, बुझ्या’ हो ?..’

नेपालबाट विदेशमा निर्यात हुने बस्तुहरुमा, मुख्यतः हस्तकलाहरु रहेका छन् । तर खासगरी यो दशकमा आएर हस्तकलाका साथै नेपाली संस्कृति अनि रैथानेपन दर्शाउने बस्तुहरु, जातजातिका पारम्परिक भेषभुषाहरु, पारम्परिक जातीय परिचायक समेटेका साँस्कृतिक समानहरु आदि ज्यादा निर्यात भएका छन् र निःसन्देह ती सामानहरुका क्रेताहरुका ठूलो संख्या भनेका, विदेशमा बस्ने नेपाली अर्थात् गैरआवासीय नेपालीहरु हुन् । संसारको कुनै पनि देशमा बस्ने कुनै पनि नेपालीका घरमा गएर हेर्ने हो भने नेपाली झण्डा, नेपाली ढाका टोपी, पछ्यौरा आदि पक्कै नै देख्न सकिने छ । एक तथ्यांकअनुसार, अमेरिकामा नेपाली झण्डाको खपत अन्य हस्तकला तथा गार्मेन्ट भन्दा ज्यादा भएको थियो केहीअघि । यस्तैमा, नेपाली साँस्कृतिकताको प्रवर्धनहेतु अहिले विस्तारै गैरआवासीय योजनाअनुसार हरेक देशमा एउटा नेपाल हाउस खोलिँदै छ, जहाँ सम्पूर्ण रुपमा नेपाल अटाइने छ, तथापि विभिन्न देशहरुमा नेपाली जातजातिका आआफ्ना कम्युनिटिहलहरु पनि थुप्रिँदै छन् । त्यसैले त्यस्ता सामानहरुको खपत निर्यातमा बढोत्तरी पक्कै नै हुनेछ ।

First NRN Conference 2005

यही अक्टोबरमा, काठमाण्डौमा हरेक दुई वर्षमा एकपटक हुने गैरआवासीय नेपालीहरुको भेला हुन गइरहेको छ र त्यसैको पूर्वाद्धमा, विभिन्न संसारका ७५ देशहरुमा राष्ट्रिय समन्वय परिषदको चुनाव हुँदै छ । एकातिर कन्द्रीय कार्य समितिको चुनावको चुनावी चहलपहल बढ्दैछ भने त्यसैको हाराहारीकै चहलपहल, राष्ट्रिय स्तरमा ती ७५ देशहरुमा चल्दै छ । वर्मा गए कर्मसँगै भनेजस्तै गैर राजनीति, गैर जातीय, वर्गीय अनि क्षेत्रीय स्वरुपको संगठन मानिने गैरआवासीय नेपाली संघ अहिले सर्वत्र त्यही अवस्थाले रङ्गिएको चाहिँ छ र त्यही क्रमले राष्ट्रिय स्तरमा आआफ्नो गुट वा प्यानलहरु तयार पार्ने क्रमहरु केन्द्रीय तहबाटै चल्दैछन् र त्यहीअनुरुप राष्ट्रिय स्तरमा चुनावी गति लिइरहेकाछन् ।

सन् २००३ को अगस्ट महिनामा, लण्डनमा एक सानो भेलाले पारित गरेर त्यही सालको अक्टोबरमा गैरआवासीय नेपाली संघको पहिलो अधिवेशन काठमाण्डौमा भएको थियो । ‘एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने नाराका साथ शुरु भएको गैरआवासीय नेपाली संघमा अहिले ७५ मुलुकहरुमा बस्ने झण्डै ६० लाख नेपालीमूलका वा नेपालीहरु बसोबास गर्दछन् । निश्चय नै यो उल्लेखनीय संख्या हो । दुई वर्षभन्दा ज्यादा अवधि विदेशमा बिताउनेहरु गैरआवासीय नेपालीहरु हुन् भन्ने परिभाषाले गैरआवासीय नेपालीको परिचयको स्पष्टता व्यक्त्याउन सकेको छैन । नेपाली पासपोर्ट र नागरिकता बोक्ने नेपालीहरु सँधै नै वहालवाला नेपाली नागरिकहरु हुन्, तिनलाई १८२ दिन विदेशमा बस्दैमा गैरआवासीय नेपाली संघभित्रका नेपाली हुनु जरुरी हुँदैन,मान्य सो अर्थमा हुँदैन । तिनको अस्तित्वको रक्षा वा जिम्मा ती देशमा भएका नेपाली दूतावासले लिएका हुन्छन् वा प्रतिनिधित्व गरेका हुन्छन् । विदेशी नागरिकता लिएकाहरु नै वास्तवमा ‘…एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने नाराभित्र पर्दछन् । हुन त, आश्विन १, २०७२ गैरआवासीय नेपालीलाई नयाँ संविधानले नागरिकता दिने व्यवस्था गरेको छ, जसबाट बताइएअनुसार माथि उल्लेख गरिएको झण्डै ६० लाख मध्येबाट करीव ४०,००० विदेशी पासपोर्टबाहकहरु मात्रै लाभान्वित हुनेछन् । संविधानमा उल्लेख गरिएको छ… “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क बाहेकमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज, निजको बाबु, आमा, बाजे, बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ,” । तर यसलाई कार्यान्वयन गर्ने कानून नबनिसकेकोले यो अहिले कागजमा नै सीमित छ । र अहिले राजनीतिक अधिकार नदिएकोमा बेलायतको लिभरपुलमा एक प्राज्ञहरुको टोलीले असन्तोष व्यक्त गरी त्यसलाई सच्याइनको लागि, बेलायतका लागि नेपाली राजदूतमार्फत् नेपाल सरकारलाई आग्रह गरेका छन् ।

सन् २००५ बाट बेलायतमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदको विधिवत स्थापना भएको थियो । लगभग ३०,००० नेपाली आप्रवासीहरुको जनसंख्या भएको सो बखत नेपालीहरुको ठूलो संस्थाको रुपमा बेलायतमा यती नामक संस्था रहेको थियो । त्यसपछि बेलायतमा नेपालीहरुको स्थायी बसोबास गर्ने क्रम बढ्दै गयो र अहिले अनुमानित रुपमा डेढ लाखभन्दा बढी रहेको बताइएको छ । एक जमानामा सबैको साझाजस्तै बन्दै गएको यती संस्था निक्कै नै साँघुरिएको छ भने जातीय संस्थाहरु एकपछि अर्को बन्दै र विशाल अनि शक्तिशाली हुँदै गएका छन् । तर त्यसैमा सबैको साझा सँस्था बन्न सक्ने अवस्थामा रहेको गैरआवासीय नेपाली संघको बेलायत शाखामा व्यापक रुपमा राजनीति व्याप्त रहेको छ भने पछिल्लो समयमा आएर यसभित्र जातीयताले प्राथमिकता पाएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ, बेलायतमा विशेषगरी मानिएको अवधि भनेको सन् २००९ देखि २०११ को हो । सूर्य गुरुङको नेतृत्वको त्यो कार्य समितिले उल्लेखनीय काम खासै नगरे तापनि समाजमा सो संस्था प्रतिको गरिमालाई उच्च तथा भरपर्दो भने पारेको थियो । त्यसपछि कूल आचार्यको दुई वर्ष अनि एक एक वर्ष गरी योगेन क्षेत्री र महेन्दै कँडेलको अवधिले समाजमा संस्थाप्रति निक्कै नै नकारात्मक प्रभाव पारेको थियो ।

एनआरएनएलाई पैसावालाहरुको संस्था भनिन्छ । सयौं कार्यक्रमहरुको आयोजना गर्नुका साथै नेपालमा परेको आपतविपतदेखि आआफ्ना देशहरुमा बसोबास गर्ने नेपाली समुदायहरुमा पर्ने आपतविपदहरुमा प्रमुख रुपमा आर्थिक सहयोग गर्ने संस्थामा धेरैजसो रुपमा एनआरएनए नै पर्दछ, केही अपवादवाहेक । हुन पनि, नेपालमा आर्थिक विकासमा लगानी भित्र्याउने भनेर मुख्य रुपले लाग्ने यस संस्थाबाट यसरी आशा गरिनु र यसलाई त्यसरी परिभाषित गर्नु अति होइन, सान्दर्भिक नै हो । र त्यही आशयले यस संस्थामा लाग्नेहरुले संस्थाबाट कमाउने होइन, गुमाउने हुन्छ । आफ्नो समयको साथसाथै प्रशस्तै पैसाहरुको लगानी गर्ने यसै संस्थाको बेलायत शाखामा मुख्य रुपमा आचार्य र उनीपछि एकएक वर्षका लागि नेतृत्व लिने क्षेत्री अनि कँडेललाई बेलायतमा पैसा खाएको, पदको दुरुपयोग गरेको जस्तो आरोपहरु सार्वजनिक हलमा सबैको सामुन्ने लगाइयो । आफूले आफ्नो पक्षका लागि आफैले सदस्य शुल्क तिरी सदस्यहरु बटुल्ने तिनलाई पैसा खाएको आरोप लगाइनु हास्यास्पद थियो । त्यतिखेर मेरो यूके डट कमले आफ्नो सम्पादकीयमा ‘…अब, बेलायतमा व्यक्तिले होइन, संस्थाले वा संस्थाको प्रतिनिधिले गैरआवासीय नेपाली संघको बेलायत शाखाको नेतृत्व लिनुपर्दछ, जसको शुरुवात तमूहरुले गर्नुपर्दछ…’ भनी लेखेको थियो । सोही किसिमले नै तदनुरुप सन् २०१५ देखि २०१७ सम्मको लागि तमू धिं यूकेका भूपू अध्यक्ष मूक्षेत्र गुरुङ्गको नेतृत्वमा एक विशाल आकारको गैरआवासीय नेपाली संघ, बेलायतको कार्यकारी समिति तयार भएको थियो, जसले यही सेप्टेम्बर ०९ तारिखदेखि आफ्ना पदाभार सुम्पँदै छ ।
NRNA UK
आगामी कार्य समितिको नेतृत्व गर्नका लागि गत दुई कार्यकालदेखि उपाध्यक्ष भइरहेका वर्तमान उपाध्यक्ष हिराधन राई, एक कार्यकाल उपाध्यक्ष भइसकेका वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कृष्ण तिमिल्सिना र अर्का वर्तमान उपाध्यक्ष योगकुमार फगामी तथा आफ्नो फेशबुक वालमा उमेदबारी दिने घोषणा गरेका अर्का उपाध्यक्ष डासुराम पाण्डेबीच नेतृत्वको लागि चुनावी चहलपहल शुरु भइसकेका छन् । हिराधन राईलाई योपालि राई तथा लिम्बूहरुको व्यापक सहयोग मिल्ने पक्का छ र उनी किरात राई यायोक्खाका संस्थापक सदस्य हुन् । विगत चार वर्षदेखि लगातार रुपमा गैरआवासीय नेपाली संघ, बेलायतको उपाध्यक्ष बनेका हिराधन राईसँग यस संस्थासँगको व्यापक अनुभव एकातिर छ भने अर्कोतिर एनआरएनए अभियानलगायत रोजिहिरा फाउन्डेशन नामक च्यारिटिमा सक्रिय रुपमा समाज सेवामा लागेका छन् । बेलायतस्थित नेपाली समाजको हितको लागि आफूले वर्तमान कार्यसमितिको लागि सम्झौता गरेको र योपालि पनि गर्न सक्ने तर समाजले उनको योगदानको कदर गर्दै आफूलाई जिताउनेमा आफू विश्वस्त भएको बताउने राईले एक औपचारिक कार्यक्रम गरी अध्यक्ष पदको प्रत्यासीको लागि घोषणा गरिसकेका छन् ।

Hiradhan Rai
Photo credit : Milan Tamu

हिराधन राई, अध्यक्ष (प्रत्यासी)
गैर आवासीय नेपाली संघ यूके, (अधिवेसन), ९ सेप्टेम्वर २०१७

प्रतिवद्धता–पत्र

‘मेरो प्रतिवद्धता विविधतामा एकता एनआरएन यूकेमा मेरो प्रतिवद्धता’

घरदेशबाट परदेशमा आइ विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीको भावना, चाहना र सपनाको प्रतिबिम्बित साझा संस्था हो– गैरआवासीय नेपाली संघ (एनआरएन) । यो एनआरएनले आफ्नो अभियान सञ्चालन गरेको १३ वर्षभन्दा बढी भइसक्यो भने हामी अहिले ७ औं महाधिवेशनको संघारमा छौं । विविध धर्म, संस्कृति, भाषा, पेशा, व्यवसाय, भूगोल र वर्गको अनेकतामा एकता एनआरएनको पहिचान हो ।

मातृभूमिको सेवा गर्ने पवित्र उद्देश्यले नेपालीको हकहितको आवाजलाई संस्थागत गर्दै बुलन्द पार्ने यो महान् अभियानमा संलग्न मेरा आदरणीय अग्रज गुरुहरुको कार्यशैलीबाट धेरै कुरा सिक्ने र पे्ररणा लिने सुनौलो अवसर प्राप्त भयो । त्यस्तै आफू पनि विभिन्न कोणबाट यस यात्रामा अनवरत खटिने मौका पाएकै छु । एनआरएनको यो ओरोह अवरोहमा धेरै कुरा सिक्न पाएं । ती भोगाइ र सुझावलाई एउटा मार्ग निर्देशक मान्दै, एनआरएनलाई सबै नेपालीको साझा र आत्मीय संस्था बनाउनका लागि अब नयां शिराबाट आगाडि बढ्नु पर्छ भन्ने मेरो निष्कर्ष हो । एनआरएनको उद्देश्यलाई प्राथमिकतामा राख्दै अब हुने एनआरएनए यूकेको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिवद्धता सार्वजनिक गर्न चाहन्छु । मेरो घोषणा पत्रको मर्म नै हरेक नेपालीबीच एकता हो । हामीमाझ विविधतामा एकता छ, जसलाई म एकताको संकेत भनेर सम्बोधन गर्न चाहन्छु ।

एकता – आफ्नो विदेश यात्रा भनौं वा आफ्नो जीवनको थालनी भनेको गोर्खा पल्टनबाट भएको हो । त्यसैले मेरो जीवन गोर्खा आन्दोलन वा गोर्खासंगको मुद्दाबाट अलग हुनु भनेको मेरो जीवन नै नहुनु सरह ठान्दछु । तसर्थ, गोर्खाको जीत नै मेरो जीत हो । गोर्खाको समस्या समाधान नहुञ्जेल आफू गोखासंग सम्बन्धित कुनै पनि मुद्दामा सहकार्य गरी अगाडि बढ्न तयार छु ।

– नेपाल हाउस यूके निर्माण गर्ने कार्यलाई विशेष प्राथमिकता दिंदै लाप्राक वस्ती निर्माण र एनआरएन हाउस निर्माण अभियानमा विशेष सहयोग गर्नेछु ।

राष्ट्रियता – ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो मूल भावना समेटिएको ‘गैरआवासीय नेपाली नागरिकता’ राजनीतिबाहेक सबै अधिकार पाउने नागरिकता हामीले संविधानबाट प्राप्त गर्न सफल भएका छौं । तर अहिलेको अवस्थामा प्राप्त उपलब्धि कार्यान्वयन गराउनु उत्तिकै चुनौतिपूर्ण छ । उपलब्धिको रक्षा गर्दै बांकी अधिकारका लागि एनआरएनले विशेष भूमिका खेल्नुपर्ने छ । यस अभियानलाई बिशेष रुपमा अगाडी बढाउने योजनाको थालनी गर्नेछु ।

मेरो कार्यकालमा यी कुरा हुनेछ :

– एनआरएनका सदस्यलाई कार्ड बनाइ विभिन्न पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक छुटका लागि गरिएको अभियानलाई प्राथमिकताको साथ अगाडि बढाउने छु ।

– एनआरएन कोषको व्यवस्था गरी पञ्जीकृत सदस्यलाई सम्भव भएसम्म आपतकालमा सहयोगको व्यवस्था गर्ने ।

– स्वास्थ्य, शिक्षा, ट्राफिक ब्यवस्थापन, कन्स्ट्रक्सन, फुड तथा अन्य थुप्रै विधाका ज्ञाताको सुझाव र सल्लाहअनुसार दूताबाससंग समन्वय गरी नेपालमा विशेष स्किल ट्रान्सफर कार्यक्रम सञ्चालनमा ल्याउने ।

– बेलायतमा रहेका बौद्धिकवर्गलाई एनआरएन यूकेप्रति आकर्षण गर्ने कार्यक्रम ल्याउने छु । उहांहरुको सुझाव सल्लाहले एनआरएनलाई अगाडि बढाउने वातावरण सिर्जना गर्नेछु ।

– बेलायतस्थित सबै संघ संस्थाहरुसंग समन्वय गरेर कार्य गर्ने ब्यवस्थाको रचनात्मक ढांचा तयार गरि सबै संस्थाको अपनत्व एनआरएनमा दिलाउने गरि संस्थाको विकास गर्न विशेष भूमिका खेल्ने छु ।

– बेलायतबासी नेपालीसंग एनआरएनए यूके भन्ने विशेष कार्यक्रमको थालनी गरि एनआरएनए यूकेमा धेरै भन्दा धेरै नेपालीहरुको सहभागिता गराई सबै नेपालीहरुमा मेरो एन आर एन हो भन्ने आत्मीयताको बिकास गर्न विशेष भूमिका खेल्ने छु ।

– एनआरएनए यूकेको सम्पूर्ण गतिविधिलाई जनमानसमा पारदर्शी ढंगले बाहिर ल्याउने छु ।

– नेपाली बालबालिकाको आवश्यकता र रुचीलाई ध्यानमा राखी अभिभावकले आफ्नो बालबालिकाका लागि नेपाली भाषा कक्षा, संगीत र खेलकुदका कार्यक्रम चलाउंदै आउनु भएको छ । यसलाई अझ व्यवस्थित गर्नको लागि एनआरएनए यूकेले विशेष च्यारिटी कार्यक्रम तथा यूके सरकारको स्थानीय सरकारसंग समन्वय गरी आवश्यक रकमको व्यवस्था गर्नुको साथै, नेपाली साना बालबालिकालाई राष्ट्रिय गीतमा भनिएजस्तै एउटै फुलको मालामा गांस्ने प्रयत्न गर्नेछु ।

– युवा भनेको भनेको भोलिको हाम्रो भविष्य निर्धारक हुन् । हरेक युवाको प्रगति र विकाससंग हाम्रो समाज जोडिएको छ । मेरो कार्यकालमा अब नेपाली युवाहरुलाई लक्षित गरि विशेष प्रकारको युवा सशक्तिकरण तथा सिपमुलक अभियानको थालनी गरिनेछ । त्यस्ता अभियान भन्नाले युवाहरुलाई लक्षित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरि युवाहरुलाई माथिल्लो तहको काम तथा व्यापारमा प्रत्ष्क्ष फाइदा हुने खालको सरल र अर्थपूर्ण कार्यक्रम रहनेछ ।

– एनआरएन समूदायको नेपालमा लगानी भित्रयाउन तथा सुरक्षित लगानीको ग्यारेन्टी गर्न पहल गर्नेछु ।

– गैरआवासीय नेपाली संघको काठमाण्डौंस्थित एनआरएन भवन, लाप्राक, शंखमुल लगायतका परियोजनालाई मूर्तरुप दिन आवश्य पहल गर्ने छु ।

– भूतपूर्व गोर्खा लगायत गैरआवासीय नेपालीहरुको पूर्णअधिकार सहितको नागरिकताको निरन्तरताको लागि विशेष अभियान सञ्चालन गर्ने छु ।

जीवनी : नेपालको खोटाङ बासपानीका समाजसेवी मणिप्रसाद राईको साईंला छोराको रुपमा मेरो जन्म भएको हो । गाउंकै विद्यालयबाट वि.सं. २०४२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएं । तत्कालीन परिवेश र परम्पराअनुसार वि.सं. २०४४ (सन् १९८७) सालमा म ब्रिटिश आर्मीमा भर्ना भएं । हङकङमा नै सैन्य तालिम सकें, १८ वर्षसम्म सैनिक सेवाका क्रममा मैले विभिन्न तालिमसंगै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पदकसमेत प्राप्त गरें ।

ब्रिटिश आर्मीमा सेवारत रहंदा १० वर्ष पिटिआइका रुपमा काम गरें । त्यस अवधिमा अफगानिस्तानमा संयुक्तराष्ट्र संघीय अन्तर्रा्ष्ट्रिय शान्ति सेनाको प्रशिक्षकका रुपमा सेवा गरें । संयुक्त राष्ट्रसंघीय पदक तथा फरक राष्ट्रका सुरक्षाकर्मीसंगको अनुभवलाई अन्य क्षेत्रमा समेत मैले सदुपयोग गरिरहेको छु । १८ वर्ष लामो सैनिक सेवामा रहंदा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा समेत मैले धेरै समय बिताएं । प्रशस्त प्रशिक्षार्थी उत्पादन गरेर मैले जीवनमा अनुशासन र नेतृत्व विकासमा धेरै अध्ययन र अनुभव हासिल गरेको छु ।
अध्ययनलाई जीवनको अभिन्न अंग सम्झी हालै मैले Anglia Ruskin University बाट व्यवस्थापन विषयमा स्नातक उपाधि लिएको छु । यसैगरी सैनिक सेवालाई रोजीरोटीको रुपमा मात्रै होइन, एउटा अवसरको रुपमा लिंदै हङकङ, ब्रुनाई, बेलिज, सियरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलियालगायत दुई दर्जनभन्दा बढि राष्ट्रको भ्रमण गरिसकेको छु ।

जीवनमा धेरै आरोह–अवरोह भोग्दै अगाडी बढ्ने क्रममा मैले सैनिक सेवाबाट अवकाशपश्चात जीवनलाई चार क्षेत्रमा केन्द्रित गरेर अगाडि बढाइरहेको छु ।

१. व्यवसायिक जीवन : व्यवसायिक रुपमा प्राप्त गर्ने सफलता र आत्मविश्वासले मानिसले भावी कार्य दिशा तय गर्दछ । त्यसैलाई मध्यनजर राखेर मैले पनि विभिन्न पेशा व्यवसायमा हात हालें । सैनिक सेवाबाट अवकाशपश्चात बेलायतमै व्यवसाय सुरु गर्दा ब्रिटिशसंग प्रतिस्पर्धा गर्दै नाइट क्लब, बार, रेस्टुरेन्ट व्यवसाय हुंदै ‘इ एन्ड डब्लु’ कम्पनीको प्रवन्ध निर्देशकको रुपमा काम गरें । गोर्खा सेभिङ फाइनान्सको संस्थापक शेयर होल्डर हुं । त्यहींबाट मैले आर्थिक क्षेत्रमा व्यावसायिक जीवन अगाडी बढाएं । व्यक्तिगत प्रगतिसंगै जन्मभूमिप्रति पनि आफ्नो उत्तरदायित्व छ भन्ने कुरालाई महशुस गरेर नेपालमा कृषि, पशुपालन, हाउजिङ्गलगायतका क्षेत्रमा समेत लगानी गरेको छु ।

२. सामाजिक जीवन : समाजसेवी बुवाको पथलाई पछ्याउंदै सुरुदेखि नै म पनि सामाजिक क्षेत्रमा सक्रिय थिएं र अहिले पनि त्यत्तिकै सक्रिय छु । बेलायत तथा जन्मभूमि नेपालमा समेत सेवा पुरयाउने प्रयास जारी छ । स्थानीय ग्रेटर रसमोर कम्युनिटीको संस्थापक खेलकुद प्रबन्धकको रुपमा मेरो संलग्नता थियो । अहिले समाजसेवाको आयामलाई अझ व्यापक बनाउन लागिरहेको छु ।

किरांत राई यायोक्खा बेलायतको संस्थापक सदस्य, खोटाङ समाज यूके, मिशन टु हेल्प नेपाललगायतका संस्थामा सक्रिय रहंदा नेपालमा भूकम्प गएका बेला तत्कालै बेलायतमा नेपाल भूकम्प आपतकालीन अभियानको संयोजक भइ सहयोग रकम तथा सामाग्री संकलन गर्दै नेपाल पठाउने काम गरें ।

झन्डै दश हजार केजी सहयोग सामाग्री कार्गोमार्फत नेपाल पठाउनुका साथै स्थलगत रुपमै रोजिहिरा फाउन्डेशनकी सचिव श्रीमती रोजिना प्रधान राईसमेतको संलग्नतामा सिन्धुपाल्चोकको दुर्गम भेग इचोक क्षेत्रमा पुगी सामाग्रीहरु वितरण गरें । चेञ्ज फर हेल्थ नेपालसंग मिलेर संयुक्त रुपमा स्वास्थ्य सेवा शिविर सञ्चालन, राहत वितरण, एनआरएनए यूके, रोजिहिरा फाउन्डेशन, नेपाल भूकम्प आपतकालीन अभियान यूकेमा रहेर नेतृत्व गरेको क्षण सम्झदा आफूलाई गौरव लाग्छ ।

बुवा मणिप्रसाद राईले बासपानी माध्यामिक विद्यालयलाई निःशुल्क प्रदान गर्नुभएको जग्गामा हाल स्कुल सञ्चालन भएको छ । सर्वसाधारणलाई शिक्षाप्रति अझ आकर्षित गर्न रोजिहिरा फाउन्डेशन स्थापना गरी गरिब असहायहरुको लागि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छु । बालबालिकालाई आवश्यक सहयोग, मुस्कान समाज सेवामार्फत बाढीपीडितलाई सहयोग रकम उपलब्ध गराएको छु ।

‘मिशन टु हेल्प नेपाल’ तथा नर्भिक अस्पतालसंग सहकार्य गरी खोटाङको बाक्सिला क्षेत्रका विभिन्न १५ गाबिसका जनताका स्वास्थ्य जांच एवं उपचारका लागि बृहत स्वास्थ्य शिविरको सञ्चालन कार्यको संयोजन समेत गरेको थिएं । नेपालमा भएको बागमती सरसफाई अभियानमा पनि स्थलगत रुपमै सक्रिय सहभागी भएं ।

नेपाल र ब्रिटेनबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलको भब्य रुपमा सफल पर्न एनआरएनको तर्फबाट संयोजकको भूमिका निभाएं । खोटाङ सेवा समाज यूकेको पहल र मेरो संलग्नतामा जिल्लामा ७ वटा एम्बुलेन्स पुरयाउन सफल भएका छौं ।

३. गोर्खा अभियान : गोर्खा हुनु आफैंमा गौरवानुभूति छ नै, साथै आफैं गोर्खा हुनुको नाताले पनि गोर्खाको हकहितका लागि सक्रिय रहनु मेरो जिम्मेवारी हो । तसर्थ सन् १९९४ देखि १९९८ सम्म तत्कालीन गेसो अभियानमा सक्रिय भइ गोर्खाको हकहितको लागि लागि रहें । तत्पश्चात सन् २००२ देखि बिजीडब्लुएसको संस्थापक सदस्यको रुपमा सुरुदेखि नै सक्रिय छु । अहिले बेलायतमा गोर्खाको हकहितको लागि भएको सत्याग्रह अभियानमा समेत सक्रिय सहभागिता जनाइरहेकै छु ।

४. एनआरएन अभियान : एनआरएनको स्थापनाकालदेखि सदस्य छु । त्यही बेलादेखि एनआरएन अभियानमा सक्रिय सहभागी बन्दै वर्तमान एनआरएन यूके कार्यसमितिको उपसभापति छु । गोर्खाको जायज मागमा एनआरएनलाई सहभागी गराउने कुरामा मेरो सदैब सक्रिय भूमिका रहयो भन्ने ठान्छु । एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारालाई आत्मा साथ गर्दै नागरिकताको मुद्दालाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो विशेष भूमिका रहनेछ ।

******************

यस्तै अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका बेलायती नेपाली समाजमा निकै सहयोगी, तथा समाजसेवी वर्तमान आईसीसी सदस्य कृष्ण प्रसाद तिमिल्सिनाले समाजले आफ्नो काम तथा समाज अनि संस्थाप्रतिको लगनलाई ध्यानमा दिएर गैरआवासीय नेपाली संघ, बेलायतको अर्को कार्यकारी चरणको नेतृत्व गर्ने मौका दिनेमा ढुक्क भएको बताउँदछन् । उनले अगस्टमा एक औपचारिक कार्यक्रम गरी आफू सार्वजनिक हुने बताउँदछन् ।

Krishna Timilsina

मेरा आदरणीय जन, प्रियजन, सहकर्मी, शुभेच्छुक :

प्रवास बसाइँको यी १७ बर्षले धेरै सिकायो, धेरै दियो र धेरै भोगियो पनि ! समय बलबान छ । अनेकन आरोह-अबरोह पार गर्दै जिन्दगीको यो घुम्तीमा आई पुगेको छु । थाहा छैन, आगामी बाटो कति सहज छ कि अप्ठ्यारा र पनि कर्तब्यपरायणतामा किन्चित बिचलित न भै यो बाटो तय गर्नु छ ! मलाई लाग्छ – बेलायत बसाईको यस अबधिमा धेरैसंग बाक्लो उठबस गरियो (कतिलाई तितोपिरो पनि बोलियो होला, कतिलाई सहयोग गर्न सकिएन पनि होला तर मैले मेरो आफ्नो बिबेकले भ्याएसम्म कसैको कुभलो चिताईन, यसमा मलाई गर्ब छ ।

परदेशीको मर्म र सम्बृद्धिको लागी बिगत १४ बर्षदेखि हाम्रा अग्रजहरुको सुझबुझपूर्ण सोच र नेतृत्वमा एन आर एन आज यो अवस्थामा छ । हामी सबैले गर्बका साथ भन्न सक्ने भएका छौ म यस गौरबशाली संस्थाको सदस्य हुं भनेर ! भलै गर्न पर्ने थुप्रै कामहरु अझै बांकी छन् । अप्रतक्षरुपमा शुरुवाती दिनदेखि नै यसमा लागिएता पनि जिम्मेवारीको हिसाबले बिगत ९ बर्षदेखि परोक्षरुपमा नेतृत्वदायी भूमिकामा रहें । संधै मेलमिलाप र सहकार्यको लागि मैले कहिल्यै मुल नेतृत्वको दाबी गरिन । संधै मिलाउनकै लागि आफूलाई सहज निकासको प्रमुख पात्र बनाएँ तर अब समय आएछ, धेरै मित्रजन, सहकर्मी, अग्रजहको समेत रायअनुसार म बर्ष २०१७/१९ को लागि NRNA UK को अध्यक्ष पदको दाबेदारी गरेको छु ! मलाई योग्य र उचित सम्झे मतदान गर्नु होला यदि म काबिल रहेनछु भन्ने लागे पनि यस संस्थालाई दीगो र भरपर्दो बनाउन तपाईको सदस्यता अपरिहार्य छ । कृपया सदस्य बन्नको लागि www.nrna.org.np मा गै मान्य हुने फोटो ID, Proof of address र एक प्रति फोटो सहित August 14, 2017 भित्र सदस्यता बनिदिनु हुन सादर अनुरोध गर्दछु !

हार्दिक धन्यबाद सहित,

बिनितः
कृष्ण प्रसाद तिमिल्सिना (NRN UK 2017-2019)
अध्यक्ष पदका प्रत्यासी

******************

Yog Kumar Phagami
(Photo credit: HAB)

फेशबुकको आफ्नो वालमा अध्यक्षको लागि आफ्नो उमेदबारीलाई सार्वजनिक गर्ने वर्तमान उपाध्यक्ष योग कुमार फगामीले केहीपछि औपचारिक रुपमा घोषणा गर्ने बताएका छन् । मगर सँग तथा मोनाबाट प्रशस्तै सहयोग मिल्ने फगामीले तीव्र गतिमा चुनावको प्रचारप्रसार थालिसकेका छन् । फगामीको बारेमा फेशबुकमा ओम बजांगे रोका मगरले लेखेका छन् :

१ : एनआरएन युकेको पूर्ब महासचिव र बर्तमान उपाध्यक्ष,

२ : मगर संघ युकेको पूर्ब महासचिव, वर्तमान बरिष्ठ उपाध्यक्ष,

३ : म्याग्दी प्रवासी समाज यूके (मोना) को पूर्व अध्यक्ष,

४ : बेजिंगस्टोक नेपाली समाजको पूर्ब अध्यक्ष,

५ : Intake 85 को बर्तमान अध्यक्ष र

६ : म्याग्दी बेगखोला समाज यूकेको बर्तमान अध्यक्षलगायत अन्य धेरै संगठनहरुमा पनि उहाँको सहभागिता छ ।

हालसम्म उहाँको अगुवाइ र संयोजकमा थुप्रै राम्रा कामहरू भएका छन् । अहिले सबैकुरा लेखेर साध्य छैन तर आफ्नो समाज र गाउँको लागि गर्नुभएको योगदान नलेखी रहन सक्दैन, जुन यसप्रकार छन् :

१ : म्याग्दी बेगखोला गाबिसमा मोटर बाटो खन्नको लागि उहाँकै संयोजकत्वमा झन्दै १ करोड २० लाख रुपैयाँ रकम संकलन भएको थियो र मोटरको सडक पनि खनी सकिएको ।

२ : उहाँकै अध्यक्षतामा म्याग्दी प्रबासी समाज यूके (MONA) ले म्याग्दी जिल्लालाई ३ वटा एम्बुलेन्स हस्तान्तरण ।
३ : उहाँकै संयोजकत्वमा म्याग्दी प्रबासी समाज यूके (MONA) ले Free WiFi को लागि झण्डै ३० लाख रुपैयाँ संकलन गरेको ।
४ : मगर समाज यूकेको भवन खरिद गर्नको लागि निबर्तमान मगर संघको अध्यक्ष श्री दुत पुनको अध्यक्ष्यतामा भवन खरिदको लागि यौटा संयोजक टिम छुट्टाएको थियो, त्यसभित्र रहेर उहाको पनि उल्लेखनीय भूमिका रहेको ।

उनको फेशबुकमा उनले आफूलाई भोट दिन यसरी आग्रह गरेका छन् ।

यहाँहरु सबैलाई धन्यबाद,

तपाइँहरुको सहयोगले यहाँसम्म उभिएको अवस्था हो र अब एक पटक आआफ्नो ठाउँदेखि के गर्न सक्नुहुन्छ, प्रयास गरिदिनु होला र तपाइँहरुलाई पैचो लगाएको रहेछु भने पैचो तिर्ने समय होला, होइन भने पैचो लगाउनुस्, म अवस्य तिर्ने छु र कम्तीमा पनि प्रचार प्रसारको जरुरी हो र आआफ्नो फेसबुकमा वा साथीलाई यही समाचार दिनु हुन् अनुरोध गर्दछु र यो मेरो अन्तिम प्रयास रहने छ र बिगतमा पनि यहाँहरुले सहयोग नगरेको होइन तर परिस्थितिबस यो मेरो अन्तिम अनुरोध हुने छ र भविस्यमा यूकेको यो माहोलमा मभन्दा सक्षम व्यक्ति हामीले उत्पादन गर्न सक्ने छौं ।

******************

अर्का आफ्नो फेशबुक तथा दैनिक नेपालको अनलाइन एडिसनमार्फत् सार्वजनिक भएका उपाध्यक्ष डासुराम पाण्डेको चर्चा बाहिर खासगरी चुनाव प्रचारप्रसारको लागि सुनिएको छैन ।

Dashu Ram Pandey

‘विगत लामो समयदेखि एनआरएन यूकेको अभियानमा निरन्तर लागिरहेको छु । र, अहिले वर्तमान कार्यसमितिको उपाध्यक्षको रुपमा पनि रहेका कारण मेरो उम्मेदवारी स्वभाविक हो,’ अध्यक्षका उम्मेदवार पाण्डेले दैनिक नेपालसँग भने – ‘मेरा अग्रज, साथीभाई र समाजका अन्य व्यक्तित्वहरुले मलाई जुन खाले सहयोग, सद्भाव र समर्थन जनाउँदै आउनुभएको छ, उहाँहरुकै सल्लाह र सुझाव अनुसार मेलै अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।’ उनले थपे (‘एनआरएन यूकेको नेतृत्व लिँदै कतिपय नमुनायोग्य योजना र कार्यक्रमहरु पूरा गर्ने अठोट पनि लिएको छु । एनआरएन यूकेलाई संसारका अन्य देशको तुलनामा नमुनायोग्य बनाउन सकिन्छ ।’
[Source : http://www.dainiknepal.com/2017/06/247045.html]

******************

पहिलेको जस्तो गरी आफै पैसा हालेर सदस्यता बटुल्ने परिपाटी योपालिदेखि बन्द हुने ठूलो विश्वास राखिएको छ। त्यसको पहिलो कारणचाहिँ सदस्य शुल्क १० पाउण्डबाट बढाएर २५ पाउण्ड बनाइनु हो भने अर्कोचाहिँ अनलाइनपद्धतिबाट सदस्यता वितरण गरिने चलन चलाइनु हो भन्ने मानिएको छ । यद्यपि, गत साल उही १० पाउण्ड शुल्क पनि बढी भयो भनी कार्यसमितिमै सो शुल्क रकम घटाउनका लागि भनिएको थियो तर योपालि, फैशला नबदलिने गरी १० पाउण्डबाट २५ पाउण्ड दर कायम सर्वसहमतिबाट पारित गरिएको बताइएको छ, जसमध्ये १० पाउण्डचाहिँ एनआरएनए भवनको लागि जाने कुरा व्यक्त्याइएको छ । तर पच्चीस पाउण्ड तिरेर बेलायतमा केही देखिएका अनि हामी नै एनआरएनएको अधिकारी हौं भन्नेहरुका लागि खेल खेलिने माध्यम बन्न नचाहनेहरुको समूहहरु तयार हुँदै गरेको पनि जानकारीमा आएका छन् ।

जे र जस्तो कारण तथा योग्यता देखाए पनि योपालि जातीय संस्थाको सहयोगबिना अध्यक्ष पदमा विजय कोही हुन सक्लान् जस्तो देखिएको छैन र यदि जिते पनि तिनलाई अन्यले सजिलै आफ्नो कार्यकारी चरण पार गर्न दिने छैनन् भन्ने घटनाहरुको भुक्तभोगी हुनेहरु सबैले सजिलै अनुमान लगाउन सक्दछन् । गैरआवासीय नेपाली संघ भनेको महासँघ होइन, तर अघोषित रुपमा यस संस्थाले महासंघको अवधारणाको स्वरुप लिँदै गएको बुझिन थालिएको छ । व्यक्तिले नेतृत्व गर्दा समाजमा जातिगत विषमताको अवस्थिति देखिन थालेको थियो तर यो पालिको कार्यसममितिमा त्यस्तो खालका विषमताहरु नदेखिनु वा नसुनिनुमा या त जातिगत आडडेढ लाख नेपाली रहेको यूकेमा संस्थाको नेतृत्वको लागि भोट हाल्नको लागि निम्नतम संख्याको किटानी हुनु जरुरी छ । वर्तमान कार्यसमिति (जसलाई अर्को सफल कार्यकालको रुपमा लिन थालिएको छ) मा साधारण सदस्य संख्या ४,००० रहेको छ । डेढ लाखबाट जम्मा चार हजारले चुन्ने कार्यसमितिले सबैलाई प्रतिनिधित्व गरेको आफैमा अनौठोलाग्दो हुन्छ ।

NRNA UK
(Photo credit: HAB)

एनआरएनको परिचयपत्र बोक्नेहरुले कतिपय पसलहरु, रेष्टुरेन्टहरुमा छुट पाउने क्रमको शुरुवात भइसकेको छ र त्यसलाई अझ प्रभावकारी बनाउने वचनवद्धता प्रत्यासी हिराधन राई राखेको छन् । जबसम्म आम मनमा एनआरएनएको महत्व तथा परिचयले ल्याउने लाभांशको बारेमा सूचित गर्न सकिँदैन, जबसम्म यस संस्थामा लाग्नु भनेको सामाजिक प्रतिष्ठा मात्रै हो भन्ने भान हुन्छ, अनि जबसम्म पैसावालाहरु मात्र होइन, पैसा नहुने तर विद्धता हासिल गर्नेहरुले नेतृत्व दिन खोज्दैनन्, तब संस्थामा सदस्यहरु स्वस्फूर्त रुपमा बढ्ने क्रम आउला भनेर सोँच्न , खासगरी बेलायती परिवेशले दिँदैन । मान्छेहरुलाई खुशी पार्नकै लागि भनेजस्तै गरी पदहरुको सिर्जना गरिनु, कामको भन्दा प्रचारको ज्यादा भोकाहरु संस्थामा भरिँदै जानुले पनि संस्थाप्रति आम मनमा उदासीनता पलाउनु सान्दर्भिक हुन्छ । तथापि हरेक आप्रवासी नेपालीहरु सदस्यता लिएर गैरआवासीय नेपाली संघको साधारण सदस्य नबने तापनि नेपालको कानूनी आधारमा विधिवत गैरआवासीय नेपाली नागरिक हुन्, र हरेक गैरआवासीय नेपालीहरुका मनमा पोखराका विनोद गुरुङ्गको मनमा जस्तै नेपालीपन, आफ्नोपन, आफ्नो अस्तित्वसरह झाङ्गिदो छ ।

– प्रकाश के.सी.

61

जीवनमा अनुभूतिसहितको स्थानान्तरण

– प्रकाश के.सी. / April 14, 2010

यो सत्य हो- हारेर जाँदै छु हङकङबाट । जीवनमा वास्तवमै भन्ने भए, जित्न केही पनि नसकेपछि, यावत् पराजयहरूको एक लामो खात लिएर छोड्दै छु हङकङ । पटक्कै लाज लागेको छैन, पटक्कै उत्साह छैन, जीवनमा यस्तो लाग्छ, धीतै मारेर हाँस्न सकिने समयबाट च्युत भएको छु । बाहिर सुनसान छ, एक्लै छु, चेरी बाहिर साथीसँग अन्तिमपटक किनमेल गर्न गएकी छ र त्यसैले मलाई अन्तिमपटक समय खाली मिलेको छ । झ्यालबाहिर सक्दो घाँटी तन्काएर परपरसम्म हेर्छु, लस्करै कारहरूको घुइ“चो दाहिनेतिरबाट बिल्डिङले छेकिने गरेपछि हराउँछन् । त्यो बिल्डिङको उतातर्फ कसरी कारहरू घुइँकिरहेको होला भन्ने जिज्ञाशा पटक्कै छैन । के नै फरक पर्छ र !

एघार वर्षपछि यसरी थातथलोलाई भोगाइको सीमा कटाउने गरेर निमिट्यान्न बनाई सदाकै लागि छोडेर जाँदा मनभित्र कसरी भावनाका ज्वारहरू उठ्दा होलान् ! त्यो लीलबहादुर क्षेत्रीको बसाइँ शीर्षकको उपन्यास पढ्दा मनमा उठ्ने गर्दथ्यो, म त्यो औपन्यासिक अनुभूतिको पात्र भएको ठान्दिनँ भन्नु पूरै सत्य नभए पनि पूरै गलत पनि होइन । बसाइँ सरिएकै हो, मनमा तर चिन्ता तथा उत्सुकताको लेस नै छैन । एउटा लामो समय यहाँ काटिएको हो र त्यसरी कटाइएका समयमा सम्पत्ति त कमाइएन, कमाइएन, सम्भावनाहरू पनि कमाइएन । सम्भावनाहीन अवस्थामा तर बाँचेको भने थिइनँ र भविष्यमा पनि त्यसरी पक्कै पनि बाँच्ने छैन । जीवनबाट हात उठाई अन्तका लागि समर्पण भने पक्कै पनि गरिँदैन ।

यसपालि नेपाल भएर जान सकिएन । नेपाल जान नसक्नुको कारण धेरै छन्, मेरो परिवेशभन्दा केही पर उभिएर मतिर हेर्नेले देख्दैनन् । हङकङबाट यूके जाँदै गरेको मेरो यात्राले मेरो परिवारलाई शून्यता दिएको पक्कै हो । यसरी टाढिएको लाग्ने मेरो वर्तमान हालत सायद यथार्थको गम्भीर चोट होला मेरो परिवारमा, तर घरबाट बाहिरिनासाथ परदेशिएको मानिनुपर्छ, त्यो मेरो हकमा ठीक हो तर एघार वर्षभित्र बिस्तारै परदेश भए तापनि नजिक मानिँदै आएको म सो परिवेशबाटै टाढा पुग्दै छु । आखिर जीवनमा कतिन्जेल यस्तो दौडमा लागिएला ! यही अस्पष्टताभित्र म मेरो परिवारमा पोलिने सम्झना भने भएकै छु । त्यसको अर्को तलामा, बुढ्यौलीको चौखटमा उभिरहेका बाबा, आमा हुनुहुन्छ । ….एक झुत्तो सङ्गिनीहरूसँग चिरबिराउँदै चेरी भित्रिएकी छे । र, म झ्यालबाहिर ताकिन छाडिदिन्छु, अनायासै भित्रै जात्रा थपिएको जो हुन्छ ।

वास्तवमा मैले धेरैको दिल दुखाएको छु । लेख्ने क्रममा अनि व्यक्तिने प्रयत्नमा मैले सीधा हेरेको छु, हुनसक्छ, सो क्रममा मेरो स्वाभिमानी व्यक्तित्व केही ज्यादै अनुदार भएको होला । कतिपय सार्वजनिक चासोका पक्षहरूमा म केही सम्बद्ध भएको होऊँ, म एउटा समाजको व्यक्ति पनि त हुँ । हालसालै उठाउनुपर्ने जरुरी दुर्इ-तीनवटा मुद्दाहरू छन्, कसैले उठाएकै छैनन्, तर अब यहाँको मूल आँगनबाट केही छेउ लाग्दै गर्ने बखत किन मन घोच्ने काम गर्नु !

०००००००

एउटा बिलकुल नयाँ परिवेशमा, नयाँ सम्भावना र नयाँ त्रासहरूको एक मुठो मानसिक विचलन मन तथा मस्तिष्कभरि लिएर, सम्पूर्ण विदेशीहरूको सहयात्रामा चेरीसँगै एअर न्युजिल्यान्डको १३ घन्टाको उडान अवधिकोतुहलपूर्ण रहेन । १२ वर्षअगाडि, एक्लै काठमाडौंबाट अन्जान सहर हङकङमा आउन, नेपाल एअरलाइनको उडानसँगै बत्तिँदै आउँदा, एकैपलमा मन शान्त नरहेको, छटपटी र अनिश्चयका धमिराहरूले मन कुटुकुटु खाएर बेचैन भएको आफ्नो सो घडीको यात्रानुभव बताउने चेरी लगभग आठ-नौ घन्टा मस्तसँग निदाएकी थिई । आफ्नो लोग्नेको साथको आभासको कारण हो भन्ने ठान्थिई चेरी, म भने पटक्कै निदाउन सकिनँ, पटक्कै शान्त रहन सकिनँ ।

सन् १९९८ को अप्रिलमा हङकङ आउने क्रममा, निगमको उडान भर्दा जुन किसिमको उत्साह तथा उमङ्ग थियो, त्यसको शेष नरहेको हाम्रो लन्डन उडानको लगभग आधा अवधि, हङकङमा बिताइएका समयहरूको फ्ल्यासब्याकमा विलीन भएर बित्यो भने लगभग तीस मिनेट छोडेर, बाँकी आधाअवधि, चीनको अनकन्टार विशालतामाथिको गहन बादलहरू, टर्कीको पठारहरू, समुद्रको भयानकताहरू, रसियाको सेताम्मे हिमपातपूर्ण समतलहरू हेर्दै बित्यो । टुरिस्टहरूले नेपाल मन पराउनुका कारण पनि बुझियो । जीवनको अत्यन्तै खण्डग्रस्त हालतको अभिशप्त भोगाइ भोग्ने ती मानवहरू, धर्तीमा फुल्दो जीवितपनको आत्मसात् गर्न नेपाल आउने रहेछन्, मलाई लाग्यो । कतै हरियाली नभएको लाग्ने, पहाड-पर्वतहरूको अकालमा समथरको विशालताले निल्न खोज्ने तटस्थताभित्र सन्त्रासको जीवन कति आक्रान्त हुँदो हो ! मलाई सो अवस्थाको कल्पना मात्रले पनि हतास बनाउँदै लग्थ्यो । जीव र जीवनको नामोनिसाना नदेखिने सेताम्मे बस्तीहरूमा रहेका घरघरभित्र कसरी समाजिकता धानिँदो हो !

वास्तवमा, मलाई लाग्छ, मानवजातिका लागि आदर्श वातावरणीय अवस्था भएको क्षेत्र भनेको एसिया नै होला । विभिन्न मौसमका मिठासपूर्ण प्रदर्शनीहरूसहित धर्तीको अनुपम अनि विविध रसपूर्ण स्वरूपमा मानवजातिको बेलगाम अनुभूति कति काव्यिक लाग्छन्, कति ओजपूर्ण लाग्छन् ! हरेक बिहानी जीवनको नयाँ सम्भावना बोकेर उदाउने सूर्य, बाह्र घन्टापछि, भोलिको प्रशस्तै सम्भावनालाई छोडेर अनि भोगाइ तृप्तिलाई मानवमनभरि छोडेर अस्ताउँछ खासगरी हाम्रातिर तर हवाइजहाजको सानो झ्यालबाट टर्की, रसिया, जर्मनी आदि देशहरूमाथि उड्दै जाँदा भने लागेन, सो देशहरूमा त्यसरी नै हाम्रो साझा सूर्य उस्तै सम्भावनाहरू र तृप्तिहरूको समागम भएर उदाउने अनि अस्ताउने गर्छ । हुन त मानिस जे र जस्तो परिस्थितिमा पनि जीवन धान्न र सोही पर्यायमा जीवनलाई फुलाउन सक्षम हुन्छ, त्यो भने आफ्नो ठाउँमै स्थापित तथ्य हो । हङकङको भागदौडपूर्ण एघारवर्षे अनुभूतिको लर्को लिएर आएको मन, रसिया तथा युरोपमा सेताम्मिएको समथरहरू देख्दा अत्यास त मान्छ नै । मैले बाराम्बार आफ्नो फेसबुकमा लेख्ने गर्दछु- मलाई यत्तिका लामो हङकङ बसाइले पानीजस्तै अत्यन्तै सङ्क्रमित बनाएको छ ।

भागदौडपूर्ण जीवन भए पनि हङकङमा जीवन अत्यन्तै सुरक्षित र सुनिश्चित छ, जीवन जीवित र सञ्चारित छ र त्यही पनको बानीले मलाई कमजोर बनाएको छ, सशङ्कित बनाएको छ । त्यही सङ्क्रमितपनले नै हो, अनिश्चितताको उक्लँदो आभास मात्रै जगाउँदै थियो, जति-जति म हङकङलाई पर-पर छोड्दै आउँदै गर्थे ।

सागरमाथि केही उडेपछि भने बादलै-बादलको घनामण्डलमाथि उडेको केही मिनेटपछि भने मध्याह्नको चर्को घाममा हरियाली र जीवित भूमि देखिएको लन्डनमाथि उड्दै गरेको बखतमा भने लागेन, जीवन त्यस्तो कष्टकर नहोला, जति केही अघि, सेताम्मे फाँटहरू देखेर लागेको थियो । मानव मन आश्चर्यजनक रूपले अवस्थाहरूसँग सापेक्षता राख्न सक्षम हुन्छ । हरियाली फाँट, स-साना घरहरू, खुल्ला परिवेशको दृश्यावलोकन गराउँदै हाम्रो हवाईजहाजले लन्डनको एक परिक्रमा लगायो । नटिङ्घम बस्ने ७७ वर्षीया विधुवा मार्गारेट भन्दै थिइन् – …तिमी लक्की रहेछौ, लन्डनको बारेमा तिम्रो पहिलो इम्प्रेसन खराब रहेन, यसले तिमीलाई यूकेमा स्थापित गराउन धेरै मद्दत दिनेछ । ..जीवनलाई सक्दो भोग्नुपर्छ भन्ने धारणा राखी हरेक ६ महिना एसियाका विभिन्न देशहरूमा प्याकेज टुरमा निस्कने उक्त वृद्धा आफैंमा एक उदाहरण थिई, जुनसुकै बेलामा पनि पढ्न रुचाउने ती वृद्धाको जीवनदेखिको बुझाइले मलाई धेरै पाठ दिइरहेको थियो । जीवन वास्तवमै रद्दीमा फ्याँकिने वस्तु होइन, त्यसको सक्दो उपभोग गर्नैपर्ने हुन्छ । उक्त वृद्धामा साथ पनि हुनसक्छ, यात्रा अन्योलपूर्ण रहेन ।

भारतमा प्रवेश गरेकोजस्तै आभास दिनेगरी भारतीय मूलका नरनारीहरू अध्यागमनमा रहेको देख्दा केही अनौठो लाग्यो, त्यसो त मित्र, हुमजी पनि त भित्रै नै अर्थात् प्लेनबाट झरेको केही मिनेटमै मलाई पिकअप गर्न आउनुभएको थियो । तुरुन्तै चेकइन भएर बाहिर निस्कँदा, दक्ष जेठान श्रीमतीसहित हुनुहुन्थ्यो । बाहिर एकैपटक चिसो हावाले गाडीसम्म पुग्ने बेलामा छोएको हो । घाम झलल लागे पनि तातोलाई चिस्याउनसम्मत हावा मार्चभरि चल्ने रहेछ, खराब लागेन ।

०००००००

गाडीहरू बेलाबेलामा सुइँकिइरहेका लाग्थे, सम्साँझै लन्डनको यो भेक भने पैदलयात्रीविहीन भएको थियो, खासै निस्किएन आएको साँझ । यतातिर उड्ने रात, उडानको तेह्रौँ घन्टापछि मिलेको सिङ्गो र लामो रात पनि आँखालाई थकाउन त्यत्तिको सक्षम भएन, तर पनि पर्दाहरूको चिराबाट सूर्यको लालिमा नछिरिन्जेलसम्म तातो सिरकबाट बाहिरिने आँट गरिनँ ।

साढे सात बजेतिर क्यामेरा लिएर, लुगाको थुप्रो मात्र लाग्नेगरी फुकेर सडकमा झरे । सफा अनि नीलो आकाश स्वच्छ देखिन्थ्यो । स-साना वाल्किनी भएका घरहरू लस्करै चारैतिरका सडकहरूको आरपार थिए । सडकहरूका किनारहरूमा विभिन्न कारहरू पार्क गरिएका थिए । गाडीहरूको आवातजावत थिएन र सडकको बीचोबीच अगाडि बढ्दै अनि फोटो खिच्दै गएको थिएँ, धेरै धेरैबेरसम्म । तर, कुनै मानिसहरू मस्तको बिहानमा वाक गरिरहेका थिएनन्, कतै कुकुरहरू भुकेनन्, कतै कुखुराहरू बासेनन् । मानिसहरूविहीन सहर देखिएको लन्डनको यस भेक एक किसिमले भुताहाजस्तो लाग्थ्यो । शीतले लछ्रप्पै भिजेको प्लेग्राउन्डको पिङ हावाको सानो लहरमा पनि बिस्तारै मच्चिरहेको थियो । त्यसले झन् भुताहा शून्यताको आभास दिन्थ्यो । सायद, आइतबार अर्थात्, छुट्टीको दिन भएर हुनसक्ला, साढे आठ बजेसम्म पनि सडकमा मानिसहरू देखिएका थिएनन् । एकाङ्कीपनाको चरमलाग्दो यो भेग, सखारै हल्ला तथा भीडहरूले हमला गर्ने हङकङको हुङहोमस्थित मेरो बासस्थानको ठीक विपरीत थियो । एउटा गहन शान्ति भने त्यसपछि मनभरि छाएको छ ।

-हङकङ र लन्डनबाट

36

लन्डनमा पनि फेरिएनन् नेपाली

-प्रकाश के.सी. / June 2, 2010 [Back Dated Article]

विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ पार्क गरिएका गाडीहरुबाहेक सडक शून्य हुन्छ, तर चराचुरुङ्गीहरुको भने दिनको अत्यन्तै व्यस्त प्रहर शुरु भइसकेको लाग्दछ । विहानी, जाडोलाग्दो नभई न्यानो भएको हुन्छ र म त्यही न्यानोमा न्यानिँदै घरको दायाँतिर विस्तारै दौडन्छु । खासगरी यो बेला, तटस्थ रहँदा मनमा तर्कनाहरु ब्युतिन सकेको छैन र त्यही तर्कनाहरुलाई केलाउनका लागि सखारै सडकलाई जगाउन हिँडेको हुन्छु ।

अक्स्फोर्डलाई आफ्नो बासस्थान बनाउने चन्द्र हिजो बिरक्तिएर यूकेमा स्थापित कुनै नेपालीको गुनासो पोख्दैथिए-”वर्मा गइयो कर्मसँगै भनेको जस्तो, यहाँ पनि उही नेपाली कर्म लिएर आइएछ । कोही नेपाली पनि नयाँ आउने नेपालीलाई सघाउन तयार छैनन् । नेपालीले नेपालीलाई चुस्न र नेपालीबाट चुसिन जुनसुकै देशमा बस्ने नेपालीहरुको पनि स्थापित कर्म नै भएको रहेछ ।” चन्द्रलाई साउथहलमा काम लगाउन खोज्ने नेपालीले, काम गरेपछि हरेकमहिना सय पाउण्ड आफ्नो खातामा राखिदिनु पर्ने सर्त राखेका रहेछन् । सेक्युरिटी कम्पनीमा काम लगाइदिन खोज्ने उक्त नेपालीलाई हरेक महिना नभई बरु एक मुस्ट निश्चित रकम दिन्छु भन्दा नमानी, आखिरमा दोस्रो तथा फाइनल इन्टरभ्यू नै खारेज गराएकोमा चन्द्रको ठूलो गुनासो रहेको थियो । बाहिर कसैलाई पनि नभन्न आफूलाई भनेको र आफूले पनि अन्त कसैलाई नभनेको अवस्थामा पनि त्यसरी आफ्नो अन्तरवार्ता नै खारेज गरिएको कार्यलाई बेमानी भन्दै सो कार्यको गुनासो गर्ने चन्द्रजस्तै हाटफिल्डको वेयरहाउसमा काम लगाउने त्यहीँ काम गर्ने एक नेपाली टिम लिडरले चाँहि कागज गराएर प्रतिव्यक्ति पाँचसय र हजार पाउण्ड असुल्ने गरेको पनि जानकारीमा आएको छ । बाहिर कसैलाई जानकारी नदिने सर्त राख्ने ती नेपालीहरुको विरुद्धमा तिनका कम्पनीमा उजुरी दिनु जरुरी भएको वेम्ब्ली निवासी चक्र बहादुर बताउँदछन् । यस्ता कुप्रथाहरु बिस्तारै मिडियाहरुमा आइहाल्ने पनि सम्वद्धहरु जताउँदछन् ।

कत्तिको तीतोपन रहेछ यहाँ नेपाली नेपालीबीच ! जति नै प्रयास गरे पनि नेपालीहरु समूल रुपमा स्थानीय समाजसँग हाँसको हूलमा हाँसजस्तै गरी मिल्न भने पक्कै सक्दैनन् । तिनलाई पर्यन्तमा नेपाली समाज, नेपाली साथ नै चाहिन्छ । यहाँ जुगौंजुगबाट अन्य देशका आप्रवासीहरु रहेका छन् । तिनीहरु जति र जस्तो हालतमा भए तापनि तिनीहरु सम्पूर्ण रुपमा आफ्नो सँस्कृति, रीतिथिति अनि चालचलनसँगै छन् । भारतीयहरुको दबाब यहाँ यस्तो छ कि दीपावलीमा सरकारी छुटि्ट मिल्ने गर्दछ भने मुसलमानहरुका इँदमा तिनलाई पनि सोही अभ्रि्रायले छुटि्ट मिल्ने गर्दछ, तिनका रीतिथितिमा स्थानीय समाज चाखपूर्वक रमाउने गर्दछन् । तर नेपाली समुदायको त संख्या नै थोरै होला, विभिन्न आप्रवासीहरुको लिस्टमा नेपालको समुदायको नाम पनि अझै राखिएको छैन एकातिर भने, अको संख्याामा रहेका नेपालीहरुमा त्यस्तो प्रकारको आपसी सहिष्णुता नै देखिँदैन । आन्तरिक सामुदायिक भेदभावमा चूर देखिने नेपाली समुदायहरु, समुदायभित्र नै जातिगत रुपमा पृथक रहेका छन् । गुरुङहरुमा नै चारजाते र सोह्र जातेबीचको फाटो छ भने र्राईहरुबीच भूमि पूजा गर्ने र ढुङ्गाको पूजा गर्नेबीच फाटो छ, त्यस्तै मगरहरु समूल कम, विविध ज्यादा लाग्ने गरी फरक हुन धेरै रहर गर्नेजस्ता लाग्दछन् भने यहाँ आर्यनहरुबीच पनि त्यस्तै फाटो देखिएको छ । क्षेत्री, बाहुन र ठकुरी क्षेत्री हुँदै भविष्यमा शुद्ध क्षेत्री, बाहुन र ठकुरीहरुबीचमा हाँगाहरु पलाउन सक्ने अनुमानलाई नकार्न सकिँदैन ।

भर्खरै भएको चुनावमा एकजना नेपाली, काउन्सिलरमा निर्वाचित भएका छन् । गम बहादुर गुरुङ यसरी काउन्सिलर हुने नेपालीमा तेस्रो नेपाली भएको थाहा लागेको छ । काउन्सिलर गुरुङको अन्तरवार्ताहरु नेपाली मिडियामा सतहिएका छन् । स्थानीय समाजसँग अर्थात् यूकेको मूलधारमा नेपालीहरु प्रवेश गर्न अत्यन्तै जरुरी भएको देख्ने काउन्सिलर गुरुङ भन्छन् – “इन्टेग्रेसन इज भेरी इम्पोर्टेन्ट । हामीले विदेशमा आएर यहाँको समाजमा र रहनसहनमा आफूलाई इन्टेग्रेट गर्न अति नै जरुरी छ । म उनीहरुको वर्थ-डे पार्टीमा जान्छु, उनीहरुको चर्चहरुमा जान्छु, उनीहरुको ओपन-डेहरुमा जान्छु र म उनीहरुको सल्लाह र वे-अफ-लाइफलाई फलो गर्छु तथा मेरो परिवारलाई पनि त्यसमा भिजाउँदै गइरहेको छु ।” काउन्सिलर गुरुङको उदाहरण विवादास्पद छ । स्थानीय समाजमा आफूलाई समाहित गराउनका लागि यहाँको स्थानीय समाजजस्तो बन्न जरुरी हुँदैन । नेपालीले नेपालीपनलाई जस्ताको तस्तै नै आफैसँग साँचेर यहाँ सम्मिलित हुनसक्दछ । हिन्दू धर्म या वौद्ध धर्मलाई नै शिरोधार्य गरेर बेलायती हुनसक्दछन् नेपालीहरु, जसरी भारतीय, पाकिस्तानी, अअफ्रिकन, चाइनिज आदि भएका छन् । चाइना टाउनमा चाइनिजहरु र्सगर्व चाइनिज भएर रहेका छन् भने साउथहलमा भारतीयहरु सम्पूर्ण रुपमा भारतीय भएर वर्षौं वर्षबाट जीवनयापन गरिरहेका छन्, तिनलाई त्यसै हालतमा स्थानीय समाजले स्वीकारेका छन् तर खाँदिएर नेपालीहरु जसरी अल्डरसट, फार्नबोरोतिर रहेका छन्, तिनीहरु नेपाली परिचय गुमाउँदै गएको यस्तो समाजको रुपमा स्थापित हुँदैगइरहेका छन् कि जसलाई स्थानीय समाजले इज्जत पनि दिँदैनन् । ‘नार्सिसिज्म’ले ग्रस्त नेपाली समाज स्थानीय समाजमा समाहित होइन, आफ्नो प्राकृतिक अस्तित्वसहित विलय हुने जोहोमा रहेका लाग्दछन् । सोही स्थानमा केहीअगाडि, एक महिला विद्यार्थीलाई काम दिने वहानामा बलात्कार गर्न खोज्ने नेपालीको पनि उदय भएको छ र त्यस्तालाई सामाजिक वहिष्कार गर्न नसक्ने समाजको अस्वस्थ स्थिति पनि उदाङ्गिएको छ ।

धेरै पर दौडिएछु । घाम चरक्कै भएर पूर्वी क्षितिजको धेरैमाथि चढिसकेपछि भने म वापस घरतिर विस्तारै हिँड्दै र्फकन्छु । केही गाडीहरु विस्तारै हुइँकिँदै गर्दछन् । सडकका दायाँ-वायाँका घरहरुमा भने पूर्ण चकमन्नता उस्तैगरी व्याप्त हुन्छ । मानिसलाई राम्रो जीवन जिउनका लागि राम्रो घर, राम्रो जागीर वा सम्पत्ति भएर मात्र पुग्दैन, तिनलाई राम्रो समाज चाहिन्छ, सो समाजमा ‘आफ्नो पन’ चाहिन्छ, सो पनमा ‘आफ्नो रीत’ चाहिन्छ, ‘आफ्नो परम्परा’ चाहिन्छ । निधारमा हल्का पल्पलाएको पसिनालाई पुछ्दै नजिकैको दोकानबाट चियाको चुस्की लिन मन लाग्दछ, कसैको पिँढीको दलानमा टाँगिएको रेडियोबाट ताजा समाचार सुन्न मन लाग्छ, छरछिमेकसँग केहीबेर गफ्फिँदै राजनीतिमा केही चिन्ता गर्न मन लाग्छ तर कोही हुँदैनन् वरपर । नेपालीहरुविहीन समाजले भित्रभित्रै टोकेको जस्तो लाग्दछ मलाई । मान्छेको मुख हेर्न अतालिएको जस्तै गरी नेपालीको मुख हेर्न र नेपाली भाषामा बोलेको सुन्न अतालिएकी चेरीलाई सम्झन्छु, -अस्ति मात्र उसले एक हूल नेपाली विद्यार्थीहरु काम खोज्न इन्पिmल्ड टाउनमा गफ गर्दै हिँड्दै गरेका देखेकिहुन्छे तर नजिक पर्न पनि लाजलाग्ने गरी बोल्दै हिँडेका ती विद्यार्थीहरुका पाँच मीटरको दूरीमा पनि उसलाई उभिन अप्ठ्यारो भएको हुन्छ । नेपाली समाजकै प्रसङ्गमा भर्खरै उक्त बेसोमतिला विद्यार्थीहरुलाई सम्झिँदा यो एउटा तथ्यको पनि सम्झना आउँदछ -’पढ्दैमा पनि मान्छे बुद्धिमान हुँदैन, समाजले, मानिसलाई बुद्धिमान बनाउँछ ।’ सायद, यसैले होला, कतिपय नेपाली अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई नेपालीहरु बाक्लिएर बसोबास भएको समाजमा राख्न चाहँदैनन् । ख्वै ! होला भनूँ पनि कसरी ? अनि होइन भनूँ त झन् कसरी ?

यस देशको रहनसहनसहित यहाँको माटोलाई आफ्नो सम्झी यहाँको कानूनअर्न्तर्गत अशल नागरिक भई जीवनयापन गर्ने कसम खाएर यहाँकै नागरिकता लिएका नेपालीहरुका ठूलो उपस्थिति रहेको तमू धीँको वौद्ध-जयन्तीको वार्षिक कार्यक्रममा नेपाली राष्ट्रिय गीत बजाइन्छ र सोही आशयलाई इङ्गित गर्दै सबै उभिन्छन् । राष्ट्रियताको सवालमा, नागरिकको नागरिक-नीतिको आधारमा एउटा अस्वाभाविक पक्ष यो हो एकातिर भने, अर्कोतिर, सोही आधार र सवालमा स्वाभाविक पक्ष पनि हो । नेपालीहरु कहिल्यै पनि स्वभावबाट मुक्त हुन भने नसक्ने नै हुन्, भन्न मन लाग्छ यतिखेर साथमा थप्दै, नेपालीहरु आभार व्यक्त पनि औपचारिक रुपमा गर्न जान्दैनन् । तर यस्तैमा, यो पनि हो कि, नेपाल सरकारबाट गत केही महिनाअगाडिबाट सुचारु गरेको यनआरयन परिचय पत्रको कार्यान्वयनको बारेमा बुझ्न लायकको भएको एकातिर छ भने अर्कोतिर यमआरपीको कार्यान्वयनलाई पर्खनेहरुका बारे बुझ्न जरुरी छ, दूतावास र यनआरयनए यूकेसँग सम्पर्क साँध्न मेरोलागि जरुरी भएको छ ।

यस्तै नकारात्मक प्रसङ्गहरुमा यो पनि सम्झना आउँदछ कि, नेपाली जातीय विविध भेषभुषामा सजिएर नेपाली गीतहरुमा नाच्न, गाउन, वा सो प्रकारका भेलाहरुमा रम्न नयाँ पुस्ताका युवायुवतीहरु अत्यन्तै लालायित भएका छन् । समूल रुपमा आफूलाई बेलायती भनाउने यी पुस्तालाई रहरै रहरमा आफ्नो सँस्कृतिको लोभ बढेकोछ, बालबालिकाका यस्तो रहरहरुलाई अभिभावकहरुले अवश्य नै उकेरा दिनु नै पर्दछ । वास्तवमा तिनीहरुका मात्र यिनै रहरहरुले आगामी वर्षरुमा नेपालको पन बचाउने छ ।

घरभित्र छिर्दा घरकाहरु सबै मस्तसँग सुतिरहेका हुन्छन् । घामसँग सुत्ने र उठ्ने नेपाली स्वभावले यहाँ नराम्रोसँग फेल खाएको छ । मे महिनाको अन्त्यसम्म घाम १० बजे रातिसम्म तन्दरुस्त नै रहने र विहान साढे चार बजे वापस देखिने गर्नाले सबैजस्तो नेपालीहरु पनि बाक्लो पर्दालाई तानेर सुत्न वाध्य हुन्छ र म पनि फेरि अर्थात् साढे छ तिर ओच्छ्यानतिर लम्कन्छु जहाँ यथावत रुपमा मस्तसँग चेरी निदाइरहेकी हुन्छे ।

30
Meaning of LOVE

प्रदीप गिरीको १५ प्रेम वचन

True Love

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद प्रदीप गिरीले www.nepalkhabar.com मा लेख्नु भएको ‘प्रदीप गिरीका १५ प्रेम वचन’ हरु ।

१. प्रेम स्वतन्त्रताको अर्को नाम हो । जुन सम्बन्धमा तपाईंको स्वतन्त्रता नष्ट हुन्छ, त्यो प्रेम होइन ।

२. तपाईं कसैसँग दाम्पत्य जीवनमा बाँधिनुभएको छ भने त्यहाँ स्वतन्त्रता हुँदैन । स्वतन्त्र हुन रोमान्टिक र उच्छृंखल हुनुपर्छ तर विवाहले मान्छेको रोमान्टिक चाहनालाई बाँध्छ ।

३. विवाह र परिवारजस्ता सम्बन्धसँग म सहमत छैन । यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन् । तिनको अन्त्यसँगै यिनको पनि अन्त्य हुन्छ। तर त्यसपछि पनि प्रेमको अन्त्य हुँदैन ।

४. विवाह र प्रेमबीच कुनै सम्बन्ध नै छैन र हुनु पनि हुँदैन । विवाह सामाजिक करार हो, प्रेम हृदयको व्यापार हो । विवाह–सम्बन्ध त निजी सम्पत्तिसँग छ ।

५. प्रेमका सन्दर्भमा मान्छे एकलगामी होइन, स्वभावैले बहुगामी प्राणी हो । बाहिर अरु युवती देख्दा पुरुषको मन चञ्चल हुन्छ। घरकी श्रीमतीले थाहा पाउँछे कि भनेर मात्रै ऊ डराउँछ । महिलाको मन पनि त्यस्तै हो ।

६. प्रेमिकालाई जे मन पर्छ, त्यो उपलब्ध गराइदिंदा मलाई खुशी लाग्छ । मान्छेहरू प्रेमिकालाई आफ्ना गाइवस्तु, भेडाबाख्रा वा गाडीजस्तो ठान्छन् । मेरा लागि प्रेमिका वा पत्नी सम्पत्ति वा वस्तु होइनन्, छुट्टै व्यक्ति हुन् ।

Meaning of LOVE

७. विवाहको आदर्श राम हुन्, प्रेमको आदर्श कृष्ण । राम रुन्चे छन्, कृष्ण प्रफुल्ल । अहिलेसम्म आदर्श प्रेमी भनिएका लैला–मजनु, रोमियो–जुलियट, राम–सीता सबैको तत्कालीन सामाजिक बन्धनमा बाँधिएको अन्तरकथा छ तर राधाकृष्णमा त्यस्तो कुनै बन्धन थिएन ।

८. राधा–कृष्णको वियोग पनि स्वेच्छाको थियो । स्वेच्छाले उनीहरू आ–आफ्नो बाटो लागे, कसैले रोकेन । प्रेममा दैहिक उपस्थिति वा अनुपस्थिति अर्थहीन हुन्छ। ज्यान छुट्टिएर बस्दा पनि नछुट्टिने प्रेम नै महान् प्रेम हो । प्रेमको त्यो दैवीय स्वरुप कृष्णमा नै छ ।

९. प्रेम स्त्री–पुरुष सम्बन्ध मात्रै हैन । प्रेम त्यस्तो विन्दू हो, जसको कुनै लम्बाइ–चौडाइ नाप्न सकिन्न । प्रेम र जीवनको अर्थ अलगअलग हुँदैन, प्रेमलाई पूर्णतामा बाँध्नु जीवनलाई पूर्णतामा बाँध्नु हो भने जीवनलाई पूर्णतामा बाँध्नु प्रेमलाई पूर्णतामा बाँध्नु ।

१०. प्रेममा परेर घरबार छाड्ने, विद्रोह गर्ने वा विवाह नै नगर्ने महिलाहरू अत्यन्तै उदार चरित्रका हुन्छन् । सच्चा प्रेमी विद्रोही हुन्छ ।

११. समाजले चरित्रहीन वा विपथगामी भनेका महिला वा पुरुषमा मैले महान् आत्माको दर्शन गरेको छु । प्रेममा लाञ्छित सबै पात्रमा महान् गुणहरू हुन्छन् ।

१२. समाज बदल्न हिंडेकाहरू समाजलाई नै प्रेम गर्छन् । संसारका सच्चा क्रान्तिकारीहरू सच्चा प्रेमीहरू हुन् ।

१३. प्रेममा पुरुषभन्दा महिला बढी प्रफुल्लित हुन्छन्। प्रेममा परेपछि प्रत्येक पुरुष डराउन थाल्छ, स्त्री चाहिं बलवान र निडर हुन थाल्छे । पुरुष तर्सन थाल्छ, स्त्री खतरा मोल्न तयार हुन्छे । प्रेम हुनासाथ पुरुषमा स्त्रीका र स्त्रीमा पुरुषका गुण तथा स्वभाव साटिन थाल्छन् । प्रेम गर्ने अधिकांश महिलाहरूले साहसिक निर्णय गरेका छन् ।

१४. हुर्कंदै गर्दा केही थाहा हुन्छ भने त्यो सेक्स हो । आफै केही हुन्छ भने त्यो वासना हो । तर प्रेम आफै हुँदैन । प्रेम भनेको व्यक्तिको वास्तविकताबाट उठेर व्यक्तित्वमा हुने रूपान्तरण हो ।

१५. प्रेममय मान्छे कस्तो हुन्छ भन्न गाह्रो छ । तर प्रेमविहीन मान्छे कस्तो हुन्छ, चिन्न सजिलो छ । किनकि क्रोधित, आक्रोशित मान्छे परैबाट चिनिन्छ ।

Source : Nepal Khabar

52
KISS

मृग तृष्णा

अन्तिम भेट!

यस्तो लाग्दथ्यो, जमीन माथिको अदृश्य सतहमा लगभग तैरिँदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै वहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्नीग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति लिएर छातीबाट ‘बेलगाम’ अँगालोभरि फैलिएको थियो ।

किट्टी हाँस्दै आई, जून जस्तो उज्यालिएर अनि आँखाभरि धपक्क प्रीत फुलाएर । उही रक्सी तर लेबल नयाँझैँ या उही लेबल तर मात नयाँझैँ, प्रशस्तै नवानभूतिले चुर्लुम्म डुब्यो समीर, मनसँगै अनि आलिङ्गन र अधरहरुको रहरपूर्ण घर्षणहरुसँगै । प्रेम या यौवनका ज्वारभाटाहरुले ‘लथालिङ्ग’ पारेको मनस्थिति सम्हाल्दै, सम्हालिईँदै, एक थुप्रो अति सुकेका पात-पतिङ्गरझैँ दूरी, दुई हृदयहरुबीच राखेर, रोडभरि ओहोर-दोहोर गर्दै भरिएका वाहनहरु अनि वाहनभित्रका यात्रीहरुतिर पारदर्शी नजरहरु तेर्स्याइरहन्छ समीर किट्टीसँगै ।

वर्षौंपछि भेटेको थियो उसले किट्टीलाई, तर यस्तो लाग्थ्यो, ती वर्षका समयहरु किट्टीलाई छुँदै नछोईकन बितेछन् क्यारे! ऊ उस्तै नै ‘फ्रेश’ र ‘डिजाइरेबल’ देखिन्थिई, कम्तीमा यस्तै सोच्दैथियो समीर ।

दुबै हिँडिरहे धेरैबेर, हिँड्नलाई बाटो अगाडि जो लम्पसारिएको थियो । केही शिष्टता या कुनै अपरिहार्य वचनवद्धता वा अरु जे सुकै कारणले हो, किट्टी केही खुम्चिरहेकिथिई र एउटा दूरी कायम गर्दैथिई, जुन धेरै पलसम्म यथावत् नै रहेकोथियो ।

Love Hands

वर्षौंपछि भेटेको थियो उसले किट्टीलाई, तर यस्तो लाग्थ्यो, ती वर्षका समयहरु किट्टीलाई छुँदै नछोईकन बितेछन् क्यारे! ऊ उस्तै नै ‘फ्रेश’ र ‘डिजाइरेबल’ देखिन्थिई, कम्तीमा यस्तै सोच्दैथियो समीर ।

पछि, समीर, किट्टी र उसकी बहिनी (जो उसँगै तर पहिलो पटक हङकङ आएकिथिई) लाई लिएर स्टारफेरीको ‘स्टार एभेन्यू वाक्मा’ गयो । रातको अँधकारमा झिल्मिलाइरहेको हङकङ, मन्द तथा केही चिसो हावाले, मनभित्र दबी नसकिएका प्रेमानुभूतिलाई उकेरा दिन थालेपछि, वर्षौंअघिको सारा उन्मादहरु अनियन्त्रित भई, हातहरुमा, ओँठहरुमा अनि पाइला-पाइलामा छरपस्टिन थाल्यो । यस्तै कमजोर पलहरुमा वहकिएर सायद, किट्टी बाराम्बार एउटै प्रश्न सोधिरहन्थिई – ‘Why, couldn’t I forget you? (किन मैले तिमीलाई भुल्न सकिनँ?)’ तर, समीर हरेकपटक, यता-उता मात्र, वार्तालापमा सारेर, फोटो खिच्ने ठाउँ र पोजको व्याख्या गर्दै-देखाउँदै किट्टीको प्रश्नलाई छल्दथ्यो । आखिर उसले नै किन बोल्नपर्छ र? जबकि यसको कारण स्वयँ उसलाई पनि थाहै छ । प्रत्यक्षतः समीर, सागरको ‘झिलमिल-झिलमिल’ टल्किरहेको पानीमाथि तैरिईँदै गरेका डुङ्गाहरु निरुद्ध भावले हेरिरहृयो ।

आउने वर्ष सँघाइको एउटा चाइनिजसँग विबाह गर्ने, जो किट्टीसँगै, भर्खरै आबाक् युनिभर्सिटी, बैँककबाट डिग्री लिएको र जसलाई किट्टीले, आफ्नो र समीरको बारेमा खुलस्त पारेकी जानकारी किट्टीले केहीबेरअघि दिएकिथिई । एउटा ठूलो ढुङ्गा मुटु माथिबाट हटाइएको झैँ हलुङ्गो महशुस गरेकोथियो समीरले । उसले शुरुमा नै प्रष्ट पारेको थियो कि त्यस सात दिनबाहेकको उनीहरुको जीवनमा एक-अर्को आवद्ध हुँदैन त्यस अर्थमा । किट्टी, त्यसैले त सेकेण्ड-सेकेण्डको दरले साथ-साथ बाँच्दै समय खर्चिरहेकिथिई त्यतिखेर ।

रातको धेरैपछि, समीरले उनीहरुलाई होटेलमा छोड्न गएको थियो । किट्टीकी बहिनीले उसलाई र दिदीलाई ‘प्राइभेट टाइम’ दिनलाई उससँग गाला जोडेर ‘गुड बाइ’ भनेर भित्र छिरेपछि, ऊ र किट्टी होटेलपछाडिको पार्कमा बस्न पुगेका थिए ।

समय रातको सुनसान ल्याउने भए पनि, हुङ्गहामको सडकबाट कारहरु चिप्लिरहेको आवाजले भने छोडेको थिएन, शून्यतालाई । समीरको कमिजको बटन लगाइदिनलाई उसको छातीमा पुगेका किट्टीका हातहरु, कतिखेर उसको गर्धनमा बेह्रिएछन्, कतिखेर किट्टी उसको कमिज माथिको अर्को आवरण भई, समीरले, जस्तो, थाहै पाएन, तर प्रत्यक्षतः अहिले उसका दुबै हात किट्टीका रेशमी केश सहलाउँदैथियो, मनभित्र, कतै कुनामा दबेका सम्झनाहरु, रहर बनेर जो फैलिँदैथियो अनि मनहरु हतारिएर सक्दो समेट्दैथिए रहरका पदचापहरु ।

बेन्चमा ‘थचक्क’ बसेर किट्टी सुँक-सुँकाउँदैथिई, सपनाका या कल्पनाका वायूपँखे घोडामा उडिरहेको उसको प्रणयशील रहरहरु, यथार्थताका साथ असम्भाव्यताका कोत्रे चट्टानमा ठोक्किएर, सायद पछारियो होला उसको मस्तिष्कभरि र अप्राप्तिका दुःखाइहरु आँखाहरुबाट चुहाउँदैथिई ‘तप-तप’ त्यसैले ।

मनलाई कुनै कवचभित्र राख्न सके, सम्वेदनहीन हुन सकिन्थ्यो होला । शरीरको, आखिर कहाँ र कुन भागमा बस्छ मन? मन पक्कै पनि मुटु होइन, मुटु भएको भए, दुख्दा, चोट लाग्दा, ‘छताछुल्ल’ भएर रगत पोखिनु फर्थ्यो । किन ‘तप्-तप्’ आँशुहरु आँखा भएर निस्कन्छन्? किट्टी आँखाहरुबाट चुहिरहेकिथिई र समीरको मुटु कसैले जोडसँग मुठ्याएझैँ ऊ छट्पट्टिइररहेको थियो । तैपनि चुप भई हेर्दै गयो… के नै ‘आँशु-पुछाइ’ भयो र! यदि उसले किट्टीको मनलाई ‘थप्-थपाउन’ सक्दैन भने । ऊ चुपचाप एकोहोरो, माथि, धेरैमाथि आकाशमा हेर्न थाल्यो, जून शान्तसँग बादलको घुम्टोभित्र र बाहिर गर्दैथियो, जसरी, आजभन्दा तीनवर्षअघि, पतया (थाइ-ल्याण्ड) को एउटा होटेलको प्राङ्गणअगाडिको सिँढीमाथिको आकाशमा गरेकोथियो यस्तै, बादल भित्र र बाहिर पूर्णाकार चन्द्रमा त्यतिखेर, उसको र किट्टीको साथमा ।

सेतो सर्ट र कालो ‘लँग मिडी’ लगाएकि, उज्यालो अनुहारमा, अस्त-व्यस्त झुलेर करीव-करीव छोप्न खोजेको रेशमी केशलाई पछाडि लगेर, कानमा सिउरिँदै, सिँढीमा बसेर चुरोटको लामो धूँवा तानेर माथि आकाशतिर फालिरहेको समीरलाई निँहुरेर हेर्दै किट्टीले सोधेकिथिई – ‘What are you looking at like that? (के हेरिरहेको नी त्यसरी?)’ उसको चुरोटको धूँवा, तुँवालोझैँ किट्टीको उज्यालो अनुहारअगाडि सुस्तसँग फैलिरहेकोथियो, माथि आकाशमा बादलको पातलो लहरभित्र र बाहिर गर्दैथियो जून ।

Beautiful Moon

के थाहा, फेरि कहाँ कहिले अनि कसरी भेटिनेछौँ? यदि फेरि कहीँ भेटियौँ भने, तिमी पहिलेकै जस्तो व्यवहार गर्न सक्छौ प्रेमिका सम्झेर ।

‘At the moons. (जूनहरुलाई हेरिरहेको ।)’

‘Moons? (जूनहरु ?)’

‘Yeah… one by my side and other up there at sky! (हो, एउटा मेरो साथको अनि अर्कोमाथि आकाशको)’

त्यसपछि किट्टीले समीरलाई अँगालेर त्यसरी नै सुँक-सुँकाएकिथिई । त्यसबेला, ऊ आश्चर्यमा परेकोथियो कि कहाँ, कता गल्ती बोल्यो ? केही छिनपछि ऊबाट हट्दै, आँशु पुछ्दै किट्टीले भनेकिथिई – ‘That was loveliest and sweetest compliment that I have ever got. Thank you! ( त्यो मैले पाएकोमा प्यारो र मीठो प्रशँसा थियो । धन्यवाद !)’ ।

धेरै नै भावुक थिई किट्टी, सायद औसतभन्दा ज्यादा! समीर चुपचाप आकाशमा नियालिरहृयो, अतीतका यादहरु लाम लागेर छाउन थाले मानसपटलमा । किट्टी सुँकसुँकाउन छाडेर केही शान्त भई समीरको हात आफ्नो हातमा राखेर मुसार्न थाली भने आँखाहरुले उसको सारा शरीर सुम्सुम्याउनथाली । धेरैबेर त्यसरी नै रहेपछि, अन्त्यमा छुट्टिने बेला, समीरलाई झुकाएर उसको निधारमा चुमेपछि गम्भीरतासाथ भनी – ‘There’s a long way ahead in our life, who knows, where, when and how, we will meet again? If we happened to meet again somewhere, you can treat me just like as before… as your girl. I promise, I will be very happy if that happened. No matter in what conditions! (हाम्रोअगाडि जीवन धेरै लामो छ । के थाहा, फेरि कहाँ कहिले अनि कसरी भेटिनेछौँ? यदि फेरि कहीँ भेटियौँ भने, तिमी पहिलेकै जस्तो व्यवहार गर्न सक्छौ प्रेमिका सम्झेर । म प्रतिज्ञा गर्छु, म धेरै खुशी हुनेछु यदि त्यस्तो भए, चाहे जस्तोसकै परिस्थितिमा पनि ।)’ ।

यथार्थमा समीर एक्लै घर लाग्यो र किट्टी होटेलभित्र । दिदी-बहिनी एकाबिहानैको ट्रेनबाट बेइजिङ जाँदैछन् । समीर ‘बोझिलो’ मन लिएर मनसँगै शरीरलाई घिसार्दै हिँड्दैगयो, स्मृतिहरु तितर-बितर भएर उसको सम्झनाको फाँटभरि फैलिएको थियो र ऊ विगतस्पृह केलाउँदैगयो । स्मृतिका पानाहरुका गर्तमा धमिलिई नसकिएका, अथाह परिमाणका सम्झनाहरु, जो जीवन्त रहरहरुको, मुटु नजिकैकोसाइनो गाँसिएका प्राप्तिहरु र अमूर्त विवशताहरुको एउटा छुट्टै अध्याय बनेर रहेको थियो, जसले कहिले चोट दिन्थ्यो र फेरि सुम्सुम्याउँथ्यो, मिठासपूर्ण मलहम लगाएर ।

ती दिनहरु अनि रातहरु, जो हप्ताभित्र नै साँगुरिएकाथिए, तर जसका भोगाइहरु, जीवनभरिको एकमुस्ट भोगाइहरुको झैँ सम्मिलित रुप थियो । कतैबाट पनि, आ-आफ्नो क्षमताभित्रको परिसरबाट हुने र पुग्नेसम्मको भोगाइका क्षण र त्यसका मीठासबाट चुक्न नपरेका प्राप्तिका लेखाजोखा, यदि मनले पढ्न् भए, धेरै-धेरै पलहरु पनि कमै लाग्न सक्थ्यो ।

मुटुको कुनै कुनामा सूरक्षित रहेको उसको अतितका स्मृतिको त्यो अध्याय, उसको मानसिक आञ्चलिक पटलभित्र जीवन्त भएर स्फुरण हुन्छन् त्यसपछि ।

बेरोजगारबाट हात लागेको रमाइलो ‘नव’

२००२ अक्टोबरको कुनै दिन! फ्ल्याटको सानो बेडरुमको बेडमा सिरकभित्र गुजुल्टिएर सिरानीलाई अढेस लगाई झ्यालको सीसाबाहिर दृष्टि फाल्दै चिया पिइरहेकोहुन्छ समीर । उता सिटिङ रुममा, श्रीमती काममा जानलाई हतारिँदै आफूलाई पोत्दै र लिप्दै हुन्छे । समीर बितेका केही दिनबाट लगातारको बेरोजगार थियो । हुन त, उसले खासै काम खोज्नको लागि ‘लागिपरेको’ थिएन र कामहरुले पनि उसलाई ‘स्किप’ गर्दै जान्थ्यो, अथवा, यसो हुन सक्थ्यो, काम, जाडोको सिरकभित्र थियो जो बाहिर निस्कनै मान्दैनथ्यो । यसर्थ, ऊ बेरोजगार थियो । राम्रो यो थियो कि श्रीमतीले ‘कच-कच’ शुरु गरिसकेकि थिईन ।

जिन्दगी त्यसरी नै चलेको थियो, बिना कुनै उत्साह, उमँग र रहर, दिन -हप्ता बन्थ्यो, हप्ता -महिना, त्यसपछि त्यसरी नै वर्ष! प्राप्तिमा वस्तुतः बाँदरका पुच्छरझैँ अनुभवहरु थिए ‘लौरो न हतियार’! हरेक नयाँ दिन, नयाँ केही गर्ने उत्साहलाई प्रणमा बदलेर बिताएपछि, अर्को दिन यस्ता यसरी बितेको देखी-देखी पनि, केही गहिरो सुस्केरा फ्याँक्नु बाहेक सम्झिने नै भए, खासै केही नभएका समयका खिया लागेको बिगतहरु मात्र रहन्थे मानसभित्र । झयालको कुनै कापबाट चिसो तिखारिएर कोठाभित्र छिर्दैथियो, ऊ त्यसपछि अरु ज्यादा सिरकभित्र साँगुरियो । उसकी श्रीमतीले ‘बेलुकाको खाना फ्रिजमा राखिदिएको अनि मन लागे, तताएर खानु’ भनी श्रीमती साबित भई सकेपछि काममा हतारिएर हिँडिसकेकिथिई । अनौठो…! त्यसपछि पनि उसमा उस्तै एक्लोपन छाइरहृयो ।

laptop_chat

यसरी परिचित बनेकी किट्टीले नेपालको बारेमा जान्न खोजेपछि, समीर ‘की-बोर्ड’ बाट, घण्टौँ राष्ट्रियता, बहादुरी, पराक्रमसँग आफू पोखिएको थियो । उभित्र खुम्चिएर रहेका ऊ स्वयँहरु कति पोखिए? लेखा-जोखा नै छैन ।

समीर, सखारै ‘ल्यापटप’ ‘अन’ गरेर ‘च्याटरुम’ भित्र पसिसकेको थियो । अनायासै हात लागेर आएको रमाइलो उसको जीवनमा ‘नव’ भएको थियो । अनेकौँ अपरिचितहरुसँग यसरी ‘च्याट’ गर्दा ‘आफू अझै छु’ भन्ने पक्का हुन्थ्यो उसलाई । उसले समय कटाइ रहेको थियो या समयले उसलाई काटिरहेको थियो, त्यो अर्कै प्रसँगको कुरा हो किनकि, ऊ घण्टौँ-घण्टौँसम्म कहिलेकाहीँ झ्यालको एक कुनाबाट देखिने पर सडकको एउटा छेउमा गुडिरहेका गाडीहरु गनेर बस्ने गर्दथ्यो । समय र उसको मनमा फैलिएको निःसारताको अर्को नमुना नै किन खोज्नु र?

‘Hi! What r u doin? (हाई… के गर्दै छौ ?)’ च्याटमा कसैले सोध्दैथियो, नामको ठाउँमा थरि-थरिका सिम्बलहरुले भरेको थियो ।

‘Planning. (योजना बनाउँदैछ ।)’

‘4 u? or 4 ur country? Or our universe? (आफ्नो ? वा तिम्रो देशको ? वा हाम्रो ब्रहृमाण्डको ?)’

‘Plan for a day, today. (आजको निम्ति ।’ जो कोही भए पनि कुरा रमाइलोसँग अघि बढ्ला जस्तो गरेको थियो ।

‘Cud u? (बनायौ त ?)’

‘Yeah, but I’m a little confused to begin with. (बनाएँ तर यसको कार्यान्वयनमा दुविधामा छु ।)’

‘May I help you? (के म सहयोग गर्न सक्छु ?)’ त्यसको उत्साह, शीघ्र जवाफबाट अनुमान लगाउन सकिन्थ्यो । ‘त्योसँग पनि समेटी नसकिएका समयहरु हुनुपर्छ’ सोँच्दै ‘ल्यापटप’ लाई काखमाथि राखेर ‘मूड’ बनाउन थाल्यो समीर त्यसपछि ।

‘Sure! I’m in mood of listening music for whole day, but couldn’t determine, whether to listen them while sleeping or sitting? (स्योर । म दिनभरि गीत सुन्ने बिचारमा छु, तर अन्योल चाहिँ यसमा छु कि, सुती-सुती सुनुँ कि बसी-बसी सुनुँ ?)’

उतातर्फबाट आफू हाँसेको जानकारी ‘सिम्बल’ हरुबाट दिएपछि, परिचयको थालनी भएको थियो । यसरी परिचित बनेकी किट्टीले नेपालको बारेमा जान्न खोजेपछि, समीर ‘की-बोर्ड’ बाट, घण्टौँ राष्ट्रियता, बहादुरी, पराक्रमसँग आफू पोखिएको थियो । उभित्र खुम्चिएर रहेका ऊ स्वयँहरु कति पोखिए? लेखा-जोखा नै छैन ।

मूलतः बेइजिङकी किट्टी, ‘आबाक युनिभर्सिटी’, बैँककमा पढ्दै थिई, आन्टीकोमा बसेर, जसको एउटा राम्रो ‘ट्राभल एजेन्सी’ थियो त्यहाँ । परिचय त्यतिखेर त्यति मात्र थियो, यावतका अन्य कुराहरु, अन्य दिनहरुभित्र व्याखा, वर्णनमा सर्‍यो । कुराको लत लागे पछि पछ्याएको अन्य दिनहरुमा उनीहरु देश-बिदेशका, ज्ञान-विज्ञानका, साहित्य-सँस्कृति आदिका कुराहरु गर्न थाले । यसैताका, किनारातिर फुत्किएको माछा जसरी काम, उसको हात लागेको थियो । काम ‘कन्स्ट्रक्सन् कम्पनी’ को थियो तर दाम माछा जस्तै मीठो थियो र जब काम शुरु गर्‍यो, च्याटमा कुरा गर्न पूरै बन्द भयो ।

हप्ता दिनपछिको पहिलो फुर्सदमा कम्प्यूटर खोल्दा किट्टीका थुप्रै मेल थुप्रिएको पायो समीरले ‘इनबक्स’ मा । त्यसदिन पनि उसँग ‘अनलाइ’ बस्ने समय थिएन र किट्टीको धेरै चाहनाभित्रको एक इच्छा, आफ्नो मोबाइल को नम्बर दिएर पूरा गर्दै कम्प्यूटर बन्द गरेर बाहिर निस्केको घण्टाभित्र उसको मोबाइलमा घण्टी बज्यो ।

‘हेल्लो…?’

‘(?…)’

‘हेल्लो ?’

फेरि कुनै आवाज आएन, तर कोही नजिकै हतारमा सास फेरिरहेझैँ लाग्दैथ्यो उसलाई ।

‘It seems like, I’m not the one, you are looking for! (मलाई लाग्छ, तपाईँले खोजिरहनु भएको मान्छे म होइन ।)’ अझै कोही बोलिरहेको थिएन ।

‘You must have dialed wrong number, check that again, bye! (तपाईँले नम्बर गलत डायल गर्न भएको हुनुपर्छ । फेरि चेक गर्नुस्, बाइ ।)’

लाइन काटेर मोबाइल पकेटमा राख्न नभ्याउँदै फेरि रिङ आयो, उस्तै बिनानम्बरको ।

‘हेल्लो ?’

‘Hi! …Is that you? (हाइ! …के त्यो तिमी हौ ?)’ अलि-अलि नशामा डुबेझैँ, मधूर शैली र प्रष्ट अँग्रेजीमा कोही बोली । अलिकति अन्योल र शँकामा उस्तै भावमा जवाफ दियो समीरले ।

‘I think so! But who am I talking to? (मेरो विचारमा, मै हुँ । तर कोसँग म बोलिरहेको छु?)’ कौतुहलता मनभरिबाट उम्लिएको थियो ।

‘It’s me! (म बोलेको!)’ मीठो हाँसोको साथ! वास्तवमा सुनिरहुँ नै लाग्ने हाँसो थियो त्यो । समीरले कवीहरुलाई सम्झ्यो, यस्तै हाँसोलाई नै तिनीहरुले मन्दिरका साना-साना घण्टीहरु एकैसाथ बजेझैँ भनेका होलान्! समीरलाई लाग्यो, ऊ एकै पटकमा पवित्र भयो ।

‘Got a name? (नाम राख्या छ?)’

‘Kitty. My name is K.I.T.T.Y. Remember something? (किट्टी, मेरो नाम के आई.. टी.. टी.. वाई हो । सम्झना छ केही?)’

कस्तो मात थियो, त्यो भनाइमा! कति चञ्चलता भरिएको थियो त्यो मातमा! कति लहरहरु उठेका थिए उसका रहरहरुमा! कति रहरहरु ओइरिएका थिए उसको बोलाइमा! लश्करै अनुभूतिहरु एक-एक गर्दै हृदयको अन्तर-कुन्तरतिर पस्न लागेको ठान्दै समीर मस्तसँग सजिलो भयो किट्टीसँगको फोन वार्तामा ।

भौगोलिक दूरीलाई भावनाको साथले ‘छपक्कै’ मिचेको थियो । किट्टी घरि-घरि फोन गर्दथिई, दिनमा तीन-चारपटकका दरले । टण्टलापुर घाममा काम गरिरहँदा उसको पसिनाले ‘निथु्रक्’ भिजेको शरीरलाई मायालुपनले मनमा छाम्न थाल्दथिई । ठूलो-ठूलो मेशिन उचालेर भित्ता फोर्न थाल्दा आँतबाट आड लगाइदिन्थिई । जस्तोसुकै अप्ठ्यारो, गाह्रो, कुनै पनि काम गर्न रमाइलो लाग्दथ्यो । कोही नजिक उभिएर हौसला बढाइरहेझैँ, नजिक उभिएर कोमल हात बढाई उसको निधारको पसिना पुछिदिएझैँ, एउटा काल्पनिक आकृति उसकोअघि उठ्दथ्यो र हर्दम छाँयासरी साथ रहन्थ्यो । मुखाकृतिको बारेमा चाहिँ उसले त्यति अनुमान गरेको थिएन, तर किट्टीसँगका वार्तालापका आधारमा, मानसिक तथा शारिरीक रुपमा एउटी भद्र युवती सम्झन्थ्यो किट्टीलाई, अनि अनुहारको बारे, आफ्नो रुची र सुविधा अनुसार बदल्दै जान्थ्यो ।

केही दिनपछि, उसले किट्टीको र किट्टीले उसको तस्वीरबाट साक्षात्कार हुने मौका मिलेको थियो । किट्टीको स्वरुप उसले मस्तसँग आफ्नो रुची अनुसार कल्पना गरेकोभन्दा सुन्दर पाएको थियो, अनि उसको स्वरबाट, किट्टीले कल्पना गरेको रुपरेखाको पन्चानब्बे प्रतिशत मिलेको अनि उसमा बालापन उभित्र कतै अझै यथावत रहेको र बाहिर अलि ‘र’ देखिए पनि ऊ भद्र मान्छे भएको ठोकुवा किट्टीले गर्दा समीर त्यसपछि, आफूबारे धेरै नै सोँच्ने गर्न थाल्यो । किट्टीको अनुसार, ऊ अझै केही कुराको, केही अवसरको, कुनै नौलो ‘एपिसोड’ को प्रतीक्षामा छ भन्दा, कतियौँ दिन ऊ टोहृलायो, कति विस्मित भयो, यो जिउनुको दैनिकीसँग? त्यसको खास मतलब रहेन, रहृयो त, त्यसपछि ऊ किट्टीतर्फ, उसका धारणाहरुतर्फ अति गम्भीर हुनथाल्यो । किट्टीले झयाल बिस्तारै खोलिदिएकि थिई र ऊ आरामसँगै त्यहीँबाट किट्टीतिर चिहृयाउँदै गयो र यस्तो अनौठो सम्बन्धभित्र जेलिइँदैगयो ।

dating

एक-अर्कोले कुराकानी मन पराउँथे, अवसर मिले साथ पनि, तर त्यो साथको स्थायित्व भने पक्कै हुँदैनथ्यो र गर्नको लागि प्रयास आफैमा बेकार थियो ।

न खुशी, न दुःखी, उसको बैवाहिक जीवनबारे सम्वेदनशील हुने गर्दथिई किट्टी । यसरी पनि बाँच्न सकिने बैवाहिक दिनहरुबारे अनौठो मानेर अनौठो खाले प्रश्नहरु सोध्ने गर्दथिई, कहिले जीवनलाई Spice-up (रसिलो) पार्नलाई, श्रीमतीलाई कतै नयाँ ठाउँ घुमाउन लिएर जाने सल्लाह दिन्थिई, रातो गलाफको ‘बुक’ किनेर दिने, बिना कुनै उत्सब, कतै बाहिर डिनरमा लिएर जाने, आदि इत्यादि गरे श्रीमती पनि रोमान्टिक भई जीवन रमाइलो हुने विश्वास ‘दुई दुने चार भने जसरी’ दिलाउन खोज्दथिई ।

हातमा उस्तै दिन अनि रातहरु आउँदै जाँदैथिए । ऊ यथार्थमा, हातमा शून्य मात्र बचेको भन्दा फरक नपर्ने जीविकाका नियात्रामा तल्लिन थियो । मृग तृष्णा जस्तो भ्रम पालेको थियो, एउटा मिथ्या प्राप्ति, रहरहरुको, उब्ज्याएको थियो उसले हृदयमा सायद । पारी डाँडामा लागेको डढेलोको रापले वारी डाँडा बसेर सेक्दै थियो ओसिइन थालेको उसको मनलाई! बहाना मात्र पनि काफी हुन्छ कहिले! जीवन जिउने न हो! किट्टी त्यस अर्थमा, रमाइलो भएकिथिई उसका प्रत्यक दैनिकीमा त्यसताका ।

किट्टी ज्ञानको विनिमय ज्ञानसँग गर्न चाहन्थिई । यसै क्रममा, प्रेममा विश्वास आफै भई न रहने र यसलाई बनाई राख्नु पर्ने सन्दर्भहरुबारे चाख लिएर सुन्दथिई । बैवाहिक जीवनमा गर्ने र गरिने प्रशस्तै सम्झौताहरुबारे मन नपराएरै स्वीकार्दथिई समीरका सिद्धान्त जस्ता कुराहरु ।

कर्कलाको पातमा परेको शीतको थोपा जस्तो स्वच्छ र शाश्वत किट्टीको मन! चिरा-चिरा परेको जीवनको बैवाहिक खोलहरु, सम्झौताले कति टालिन्छन्? कति सिलाइन्छन्? किट्टीलाई के थाहा?

यस्तैमा केही हप्ता बितेर महिना भइसकेपछिको एक छुट्टीको दिन उसरी नै ‘अनलाइ’ हुँदा किट्टी अचम्भसँग फैलिईन खोजेकिथिई उनीहरुको चिनारीमा । अनायासै, व्यक्तिगत हुन थाल्दैथिए कुराहरु । किट्टी समीरको व्यक्तिगत मनलाई आफ्नोपनले छाम्न खोज्दैथिई । उसको आदर्श, उसको जीवन शैलीबारे, उसको स्वप्निल रहरबारे, मस्तसँग खुशी हुन सक्ने पलहरुको बारे, खुबै चाख लिएर जान्न खोज्दथिई । समीर आश्चर्यजनक रुपमा खोलिरहेको थियो आफूलाई, मनभित्र जेलिएर, बेह्रिएर रहेका कुराहरुको एकसिरो किट्टीको हातमा परेपछि ऊ सजिलैसँग उध्रिइँदै गएको थियो । त्यसदिन, उसको किट्टीतर्फको सोँचाइमा या सोँच्ने धरातलमा भिन्नता भने अवश्य आएको थियो र यसैक्रममा, ‘यदि भएको भए…’ भन्ने तात्पर्यको थालनी दुबैतर्फबाट हुनु असान्दर्भिक थिएन ।

मानसिकतामा परेको एकमुष्ट ‘झ्वाम’

च्याटमा नै समीर उसको र किट्टीको वार्तालापमा अति गहन गम्भीरता छाएको गम्भीर भएर महशूस गर्दैथियो । त्यँहा, हातका औँलाहरुले मनभित्रका भावनाहरुलाई अक्षरहरुमा बदलेर बोलिरहेको मात्र थिएन, सम्पूर्णतः मन नै विस्तार-विस्तार, अक्षर-अक्षर हुँदै ‘सेन्ड’ बटनसँगै साटिइँदैथियो । लगभग कुनै गहिराइमा या निर्क्यौलमा पुगे जस्तो गरी किट्टी अगाडि आएकिथिई – ‘Can u spare just a week, outa ur life? (तिमी आफ्नो जीवनबाट एक हप्ता छुट्याउन सक्छौ?)’ प्रश्न गाह्रो होइन, तर कुन हिसाबले छुट्याउने भनेकी हो? बुझिएन ।

‘How do you want, that to be spared? (तिमी कसरी त्यो छुट्टिएको चाहान्छौ?)’

थाहा नै नपाई कन बिस्तारै मीत्रताले या सम्बन्धले नाम लिन थाल्दै थियो, तर, निश्र्चय नै उक्त नाम छुट्टिएर आउँथ्यो चलनचल्तीबाट, किनकि, समीर बिवाहित थियो र हङ्गकङ्ग भौगोलिक हिसाबमा बैँककबाट टाढा थियो । उनीहरुबीच प्रेम थिएन र हुन सक्ने आधार भएता पनि ‘नर्मल’ थिएन । एक-अर्कोले कुराकानी मन पराउँथे, अवसर मिले साथ पनि, तर त्यो साथको स्थायित्व भने पक्कै हुँदैनथ्यो र गर्नको लागि प्रयास आफैमा बेकार थियो । यो दुबैलाई राम्रैसँग थाहा थियो ।

‘Let’s live together whole life in one week, for and ever! (सँधै-सँधैकै लागि सारा जिन्दगी एकहप्तामा बाँचौँ सँगै ।)’

मन न हो! वास्तवमा रमाइलोहरु ‘झवाम्म’ पसेको थियो उसको मानसिकताभरि । What’s the heck! के नै बित्छ र! उसले नयाँ बाटोबाट फेरि दोहोर्‍याएर सोँच्न थाल्यो । किट्टी हदै ज्यादा उत्साहित भएकिथिई । समीरले स्वीकारिसकेपछि, बैँककको बसाइ, त्यसभित्रका अवस्था, मान्यता, शर्तहरु अनि त्यसपछिका आ-आफ्नै सँसारका बारेमा व्यापक छलफल गरिएको थियो । सातदिन, दुबै, सबैबाट मुक्त भई शाश्वत आफूमा हुनु पर्ने र उक्त पलहरुमा, एक-अर्कोप्रति पूर्ण समर्पित हुनु पर्ने प्रतिज्ञा गरिए एक-अर्कोसँग ।

जीवनमा त्यसपटक उत्साह, साउनको झरी जसरी मनका अन्तर-कुन्तर भिजाउने गरी अनायासै दर्किएको थियो । योजनाका तयारी दुबैबाट हुँदैथियो । समीरलाई बाराम्बार किट्टीको, उसले भन्ने गरेकी Hidden Desire! (लुकेको इच्छा) ले नबुझिने गरी भावुक बनाउने गर्थ्यो – ‘I want you to feel me, while walking on my streets by my side! (मेरा गल्लीहरुमा मसँग हिँड्दै, तिमीले मलाई अनुभव गर भन्ने चाहान्छु ।)’

Bangkok

त्यही हप्ताभित्र बैँककको एयरपोर्टबाट समीर बाहिर निस्किरहेको थियो, एउटा सानो ब्याग र हातमा चकलेटको प्याक लिएर, जे होस् निर्क्यौलमा । उपाय सजिलोसँग हात लागेको थिएन । उक्त वार्तालाप पछि पनि लामो ‘च्याटिङ्ग’, लामो फोन-वार्ता आदि भएपछि हात लागेको पहिलो उपायलाई, झम्टेसरी समातेपछि, त्यसैलाई नछोडी यसरी ‘थाई एयरवेज’ बाट हङ्गकङ्ग छोडेकोथियो उसले र पुगेकोथियो नीतान्त, नौलो, सर्वथा अपरिचित ठाउँ, पूर्ण भिज्ञ भई नसकेकि व्यक्तिको भरोसामा ।

आगमन कक्षमा मानिसहरु प्रशस्तै थिए । कोही हात हल्लाउँदै थिए, कोही अँगालिइँदै थिए । समीर असमञ्जस अनि केही अन्योल थियो, तर मनका भावनाहरुलाई लगभग नियन्त्रण गर्दै अगाडि बढ्दै गयो र ‘सरसरती’ चारैतिर आँखाहरु घुमाउन पनि थाल्दथ्यो । धेरैबेरसम्म पनि कतै कहीँ किट्टी जस्ती हुन सक्ने केटी उभिएकि देखेन उसले । ऊ अगाडि बढ्दै गयो र देब्र्रतिरको लहरमा रातो गुलाफको एक झुप्पा फूल हल्लाउँदै ऊ भएतिर हेरेर हाँसिरहेकी युवतीलाई देख्दा एकपटक नीरिह भावले ‘घुटक्क’ थुक निल्यो भन्दा अतिशयोक्ती हुँदैनथ्यो, अवश्य नै ।

जति ज्यादा प्रयास गरेको भए तापनि समीर सजिलैसँग ‘नर्मल’ देखिइन सकिरहेको थिएन । किट्टीले रिजर्व गरेकी कारमा बसेर एयरपोर्टलाई धेरै पर छोडिसकेको थियो समीरले किट्टीसँगै । डिसेम्बर महिनामा पनि बैँकक, रोटी सेकाउन मिल्ने तावा जसरी तातिएको थियो, ‘एसी’ नभएको कारको सीसाबाट तातो वाफहरु हावासँग, सँगैकी किट्टीको गोरो गालासँगै उसको आफ्नो गालालाई पनि मुसार्ने गर्दथ्यो ।

किट्टीको हातबाट रातो गुलाफको झुप्पा लिँदा, वास्तवमा उसले हीनतावोध गरेको थियो । किट्टी, उसले कल्पना गरेकी भन्दा राम्री, कोमल र धेरै नै ज्यादा सम्वेदनशील भएकि पायो उसले । गुलाफको रँग पोखिएको गालालाई अझ सिन्दूरे पार्दै, उसका आँखाहरु खुम्चिन्थे घरि-घरि, सशरीर अनि सुकोमल किट्टी साँच्चै नै कोपिला देखिन्थिई ।

समीरलाई अझै प्रष्टै याद छ कि, त्यो दिन कार पार्कतर्फ जाँदै गर्दा एयरपोर्टमा, किट्टीले फूल र समीरले चकलेट आदन-प्रदान गर्दा दुबैका हातहरु ‘थर-थर’ काम्मिरहेका थिए र प्रशस्तै हड्बडाएका थिए । कारभित्र बसेपछि, किट्टीले उसको ठेला परेका साह्रो र खस्रो हत्केलामा आफ्ना कोमल हातहरुले सुम्सुम्याउँदै गर्दा मात्र ऊ बिस्तारै खुल्न सकेको थियो । मनभित्र का असजिलाहरु, कारको झयाल भएर भित्र छिरेको तातो हावाको लहरहरु सँगै बाहिरिँदै थिए अर्कोतर्फको झ्याल हुँदै, अनि उसको मन मस्तिष्कका झ्याल ढोकाहरुबाट पनि ।

KISS

केही बचेको या अड्केको औपचारिकताहरु, किट्टीले उसको हत्केलामा चुम्बन गरेपछि ‘स्वाहा’ भएको थियो ।

केही बचेको या अड्केको औपचारिकताहरु, किट्टीले उसको हत्केलामा चुम्बन गरेपछि ‘स्वाहा’ भएको थियो । ऊ मनभित्रका कुना-काप्चाहरुबाटै कृतज्ञ भयो, धन्य भयो । उमेरले पत्याउन नसकिने नारीत्व र भावुकता बोकेकि किट्टीलाई, हातका इसाराहरुले औँल्याएर देखाउँदै गएकि दृश्यहरुको व्याख्याहरुबाट मात्र मनन नगरी, नजिकैको उसको कौमार्य साथ, पर्फ्यूम्को मन्द बास्ना र बेला-बेलाको स्पर्शहरुबाट आत्मसात् गर्दै गयो समीर । ‘ट्राफिक जाम’, वाहनहरुका लश्करहरु र ‘हर्न’ का एकोहोरो ‘बैरागी हल्लाहरु’ र गर्मीको तापमा पनि त्यो यात्रा लम्बियोस्, नरोकियोस् झैँ लागिरहेथ्यो उसलाई ।

दिन भर्खरै शुरु हुँदैथियो । किट्टी आधा घण्टामा र्फकन्छु भनी गएकिथिई बाहिर उसलाई होटेलको रुममा पुर्‍याएर ‘फ्रेश’ भई तल पर्खने भन्दै । चीसो पानीमा नुहाएपछि ऊ चँगाझैँ हलुङ्गएिको थियो । तयार भएर होटेलको लबीमा पुग्दा किट्टी अर्कै हल्का ड्रेशमा एउटा सानो झोला लिई आउँदैथिई । उक्त झोलालाई रिसेप्शनमा नै छोडेर उसको हात समात्दै छिटो-छिटो देब्रेतिरबाट पुरानो आबाक् युनिभर्सिटीतिर लाँदैथिई । बाटोभरि वाहनहरुका चालकहरु एकोहोरो ‘हर्न’ बजाउँदै, जस्तो, अत्यधिक गाडीहरुको चापको रुवाइ रुँदैथिए । हिँडेको केही मिनेटभित्रै पसिना उत्पादन गर्न सक्ने घाम अविछिन्न शीरैमाथि फैलिएकोथियो । किट्टी आफ्ना सानो-सानो गोडाहरुलाई बेस्सरी चलाइरहेकिथिई चप्पु चलाए जस्तो नदीमा । केही ज्यादा असजिलिएरै पनि समीर पछ्याइरहृयो, र किट्टीको आकाशसरी फैलिएको उत्साह देखेर मीठो पनि मान्दै गयो । बाटोमा कतै भिड भेटे किट्टी उसलाई आफ्नोपछाडि पारेर, जस्तो, जोगाउथिई र कहिले उसलाई अगाडि सारेर आफै जोगिन्थिई । त्यर्सथ, त्यँहा, रमाइलो नै थियो, एकै पल तब पनि, आफ्नो हातबाट उसको हात हटाउन्नथिई पसिनाले हात चिप्लै भए पनि ।

केही खुल्ला सडकको पेटी-पेटी हिँडेर, फलफूल पसलहरुको सम्मुख पर्ने ‘टेलिफोन-बुथ’ हरुमध्यको छेउको बुथमा पुर्‍याई, समीरलाई भित्र पसेर उसलाई अनुभव गर भन्दै ऊ जुश किन्न अगाडिको पसलमा गएपछि, समीर यन्त्रस्वचालित बुथभित्र पसेथ्यो तब । केही बुझन, नियाल्न या पढ्न, जे होस् गम्भीर भएर भित्र कोचियो । हेर्नुलाई के नै थियो र, एउटा झुण्डिरहेको फोन बाहेक! ताजा हावा पटक्कै थिएन जस्तो भन्न मिल्ने गरी चारैतिरबाट ढाकिएको थियो उक्त बुथ । बस्ने ठाउँ पनि नभएको बुथभित्र असजिलोसँग उभिएर चारैतिर हेर्दै गयो समीर । उसको नाम पनि लेखिएको रहेछ, थरि-थरिका अरु नामहरुसँगै । किट्टीलाई पनि बोल्दै र केही कोर्दै गर्ने बानी रहेछ । बुझनु नै के थियो र भित्र, गर्मीले ‘तप-तप’ चुहिनु बाहेक । ऊ चुपचाप धैर्यशील, वाफिएर असजिलासँग बुथको एकातिर एउटा कुनामा अढेसिएर भित्तामा लेखिएको नामहरु हेरिरहृयो । किट्टीले आफूसँग ल्याएकी जुश पिएपछि अमृत पिएको अमृतानुभव भयो उसलाई । उसको निधारको पसिना पछ्दैथिई किट्टी, उसँगै बुथको बाहिर उभिएर केही बेरपछि ।

‘Did you always use to call me from this booth? (यही बुथबाट तिमी सँधै मसँग बोल्ने गर्थ्यौं?)’

किट्टीले समीरको निधारबाट अविरल तप्किरहेको पसिनाहरुलाई ‘टिस्यू पेपर’ ले पुछ्दै स्वीकारोत्तिमा टाउको तल-माथि गरी । समीर त्यसपछि धेरैबेर एकोहोरो हेरिरहृयो बाटुलो गोरो मुहार, भरिलो ओजपर्ण भावुक आँखाहरु, सुकोमल अधरहरु!

‘You are crazy, you know that? (तिमी पगली हौ, तिमीलाई थाहा छ?)’

‘Yes, I know. (हो, मलाई थाहा छ ।)’

हाँसेकिथिई किट्टी, तर समीर भने हाँस्न सकेको थिएन । एकै मिनेटमा पनि ‘खलखल’ पसिना आउने, त्यस्तो खोर जस्तो बुथमा उभिएर किट्टी उसँग घण्टौँ बोल्दथिई । कति दुख्थेहोलान् उसका गोडाहरु! कति फुल्थे होलान् उसका श्वास-प्रश्वास! अनि कति वाफिन्थिई होली, भित्र बुथमा, पसिना-पसिना भएर! गीत पनि त गाउने गर्दथिई, समीरले फर्मायस् जो गर्दथ्यो हङ्गकङ्गबाट । त्यतिबेला उसले केही साथीहरुलाई पनि सुनाउँथ्यो कि ‘आईडीडी-कल’ मा कसैले त्यति टाढाबाट गीत गाएर सुनाउँछे भन्दै किट्टीमाथि रमाइलो गर्ने गर्दथ्यो । समीर आफूलाई अति दोषी, लुच्चा, फटाहा अनि लफँगा आदि ठान्नथाल्यो । उसको मुटुभरि, दया अनि टीठ उम्लिएर आयो किट्टीको लागि । बिचरी! बेकारमा समय नष्ट गर्दैछौ!

‘She really deserves much more better than me. (उसले मभन्दा अति धेरै अशल पाउनुपर्छ)’ सोँच्यो समीरले ।

धेरैबेर एकोहोरो किट्टीलाई हेरिरहृयो उसले, तर, केही भन्न सकेन । अपराधवोध जो हुँदैथियो उसलाई, उसको मनभित्र । किट्टीले त्यसपछि उसलाई अरु ठाउँतिर डोर्‍याउँदै लगी । किट्टीले धेरै पटक सोध्दा पनि बताएन कि उसले के सोँच्दैथियो । ऊ व्यथित भएको थियो, त्यो किट्टीले पक्कै पनि बुझेकिथिई र त्यसलाई हटाउनको लागि, कहिले यो, कहिले त्यो, एउटा कुशल गाइडले झैँ वर्णन गर्दै गई । आफैमा अपरम्पार बैँककको गल्ली, सडक, चौक हिँड्दै, ‘टुकटुक’ चढ्दै गर्दा कतिखेर मनभित्र का व्यथा जस्तो गहु्रँगोपन हराएछ, समीरले थाहै पाएन ।

केही घण्टापछि, ‘झमक्क’ साँझ नपर्दै क्षितिजमा बाँकि रहेको सिन्दूरे लाली नहराउँदै समीर किट्टीसँग, एउटा लामो तर साँगुरो डुँगामा बैँककको प्रसिद्ध ‘फ्लावर मार्केट’ मा सुस्तसँग वहँदैथियो । लहरका लहर, फूलैफूल बेच्न राखेका डुँगाहरु खियाउँदै आउनेहरुमाझ, मुस्कुराइरहेको थुप्रो अनुहारहरुबीच, शान्तसँग, सगर्व, किट्टीसँगको साथ हुँदा मनभरि-भरि कविता भएको थियो ।

‘शावर’ लिई सकेपछि कतिखेर निदाए, कहाँ निदाए अनि कसरी… केही थाहा भएन ।

समीरले सानी केटी साउनीबाट एक झुप्पा गुलाफको रातो फूल किनेर किट्टीलाई दिएको थियो, अलिकति स्टाइलले । किट्टी मनभित्रबाटै खुलेर मुस्कुराएकि थिई । सिन्दूरे साँझ, लज्जालु, गोरी, काखमा रातो फूलको झुप्पा राखेकी किट्टी र उक्त फूल, एक अर्कामा पूरक भएका थिए । एउटा जीवन्त कविता, एउटा मीठो छन्द, उज्यालो चित्र झैँ किट्टीलाई मन्त्रमुग्ध भएर समीर टोलाए जस्तै हेरिरहृयो, किट्टीको रसिलो, भरिलो आँखामा डुबिरहृयो र सायद किट्टी पनि । वरिपरि आइमाई केटाकेटीहरु हाँस्दै, केही भन्दै गरेकाथिए, जुन भाषा किट्टी पूरै बुझ्दथिई र रमाइलो मानेर समीरको छातीको ‘साख्खे’ बन्दैथिई । माझी बूढाले बिस्तारै डुँगा अघि बढाउँदै लग्यो । जिन्दगीभरि नरोकियोस् जस्तो लाग्ने त्यो पल, जीवनभर साथ रहोस् जस्तो लाग्ने त्यो बसाइ, उसको हृदयभित्र जमेर रहृयो ।

पछि ‘फ्राया नदी’ भएर ‘रोयाल टेम्पल’, अनि त्यसपछि ‘रिभरबस’ चढेर ‘वल्र्ड ट्रेड सेन्टर’ पुगी तातिएको परिवेशलाई चीसो वियरले चिस्याउँदै, उक्त ‘ओपन म्युजिकल रेस्टरेण्ट’ मा बसी एक-अर्काकोलागि गीत फर्मायस् गर्दै उक्त पलको गहन प्रेम साट्यो होला समीरले किट्टीसँग । परम्परा बेग्लै तर रमाइलो भने साझा!

त्यस साँझ अबेर गरेर रात परेपछि अनि रात पनि अबेर गरी ढल्न थालेपछि, ‘लखतरान्’ भई होटेलमा फर्केका थिए उनीहरु र ‘शावर’ लिई सकेपछि कतिखेर निदाए, कहाँ निदाए अनि कसरी… केही थाहा भएन ।

बिहानीपखको चीसो हावा र चीसो र्स्पर्शले व्युझियो समीर एक्कासी । पर्दा खोलिएको झयालबाट बाहिर धेरै परसम्म स्पष्ट देखिने, ढल्न लागेको बिहानीमा, आँखाभरि चुम्नझैँ आउने हरियाली, मन्दिरहरुका स्वर्ण जलपका गजूरहरु, अग्ला बिल्डिङ्गहरु अनि हल्का सुरु भइसकेको सडकको जीवनरत दैनिकीहरु र स्निग्ध वातावरणले लोभ्याएको उसको मनस्थितिमा, ‘टावल’ को ‘र्‍यापिङ्ग’ मा आफ्नो सुकोमल, सुडौल शरीरलाई बेह्रेर लामो केशको झट्काले पानीका छिट्टा हान्दै गरेकि किट्टीको मधूर हाँसोले हड्बडाएर समीर वाथरुम पस्यो र किट्टीको ‘गुन्गुनाहट’ भित्रबाट सुनिरहृयो । अरु पहिलेका क्षणहरुभन्दा त्यतिखेर उसलाई किट्टीको स्वर मीठो लागेको हो या किट्टी नै मीठोसँग गुन्गुनाउन यसपटक थालेकि हो, यो उसले बुझनै सकेन ।

ऊ वाथरुमबाट निस्केपछि, अन्य थप केही घण्टाहरुमा आबद्ध समयभित्र भत्किएका सँकोचका पर्खालहरु, नैसर्गिक दूरीका फाटोहरु र बन्दै चुलिइँदै गरेका या बनेका अनेकौँ भावनाका, पारस्परिक अभ्यर्थनाका, प्रणयका, विश्वासका, आत्मानुभूतिका व्यञ्जनाहरुको मुल्याँकन या वर्णन, त्यसपछि, अव्यक्त किसिमले उनीहरुका आँखाहरुबाट व्यक्त हुने वार्तालापहरुमा गर्न सकिन्थ्यो । यसरी दुईबाट एक हुनुको अलौकिकपनलाई एकाधिकार गर्दै होटेल छाडेर बैँककदेखि दुई घण्टा टाढाको समुन्द्री किनार पतैया जानको लागि रिजर्व कारमा चढिसकेकाथिए केही समयान्तरमा समीर अनि किट्टी । पूरा यात्राभरि किट्टीले आफूलाई लहरा र समीरलाई हाँगो बनाएकिथिई ।

सफा नीलो समुन्द्रमा मोटरबोट, मोटरबाइक, सफा र शान्त पतैयाको सडकमा भाडाको जिप कुदाउँदै घुम्दै अनि घण्टौँसम्म समुन्द्री किनारमा बसी नरिवल पानी पिउँदै सूर्यास्तको मजा लिँदै, मध्य-मध्य रातसम्म, युवती नै युवतीले भरिने बजार डुल्दै कति चाँडो पाँचरात बिते, हेक्का जस्तो रहेन । कुनै त्यस्तो पल उसलाई याद छैन, जब ऊ एक्लो परेको होस् ! कुनै त्यस्तो हिँडाइ याद छैन, जब उसको हातमा किट्टीको हात नरहेको होस्!

‘घर’ भरपर्दो मायाको आश्रय

Hugging

समीरलाई यसरी श्रीमतीसँग नै हिँडेने रहर हन्थ्यो । रोमान्टिक पलहरु, समीरको आँखैअगाडिबाट बितेका थिए ।

एक रात, बादलको घुम्टोभित्र र बाहिर गर्दै गरेको जून आकाशमा, अनि उसको ठीकअगाडि, निहुरिएर, आफ्नो केशलाई मुहारबाट हटाउनका लागि, कानमा चेप्दै गरेकि किट्टीको उज्यालो स्वरुपलाई जून मानेको भन्दा, किट्टीले उसले गरेको प्रशँसा सम्झेर अँगालेकिथिई, विभोर भई सुँक्सुँकाउँदै । वस्तुतः उसले त्यतिखेर आफ्नी श्रीमतीलाई सम्झिरहेको थियो र निश्चय नै गल्तीवोध भइरहेको थियो उसलाई । तर, गर्न पनि ऊ के गरोस्? जहाँ ऊ खुशी देख्थ्यो, त्यँहा उसकी श्रीमती बिरक्तिन्थिई र जसरी ऊ रमाउन खोज्दथिई, त्यसरी समीर आँतबाट नै छट्पटिन्थ्यो, तर पनि, दाम्पत्य जीवन चलिरहेकै थियो, ‘साथ’ जीवनसँग हिँडिरहेकै थियो ।

समीरलाई यसरी श्रीमतीसँग नै हिँडेने रहर हन्थ्यो । एकदिन, उसले हङकङको एउटा आइलैण्डमा रात त्यतै बिताउने गरेर श्रीमतीसँगै गएको थियो । गेस्टहाउस बाहिर चीसो-चीसो हावा तर मन्द र न्यानोपन पर्याप्त भएको साँझ थियो, समुन्द्रको किनारै-किनार पर-परसम्मन् हातमा हात राखी, समुन्द्रको छालहरुसँग जिस्किँदै हिँड्ने जोडीहरु प्रशस्तै थिए । कति ताजा हुन सकिन्थ्यो । उसले भन्यो, कर गर्‍र्‍यो अनि बिन्ति पनि, तर उसकी श्रीमती ‘हुन्न, चीसो लाग्छ, बिरामी परिन्छ’ भनेर न त आफू, न उसलाई नै जान दिई । रोमान्टिक पलहरु, समीरको आँखैअगाडिबाट बितेका थिए । बार्दली बाहिर पनि उसलाई उभिन दिएकि थिईन । बार्दलीको ढोका अनि पर्दा लगाउँदा पनि, कतै काप भएर छिर्ने समुन्द्री छालको उत्श्रृङ्खल आवाजहरु साक्षी राखेर, शेष रात, कोल्टे फेर्दै शौहार्दतामा बिताएको थियो उसले त्यतिबेला, किनकि, उसकी श्रीमतीलाई ओछ्यान बदले निन्द्रा जो पर्दैनथ्यो ।

यो सोँचाइ या सम्झना, उसको अपराधवोध गरेको मनस्थितिलाई ‘जस्टिफाइ’ गर्न आएको भने थिएन उसको मानसपटलमा, मन आफैमा स्वतन्त्र विचरण गर्न जो चाहन्थ्यो । जीवन एकपटकको लागि हन्छ, र जीवनभरि नै रहरहरुलाई खुम्च्याएर राख्न गाह्रो हुन्छ । यी सातदिन बाहेकका जीवन त उसकी श्रीमतीलाई छँदैछ नी! किट्टीसँग बाचा गरे जसरी, सातदिन सबै बिर्सिदिनु पर्छ उसले ।

होटेलको कोठामा, किट्टी कुनै गीत गुन्गुनाउँदै आफ्ना कोमल हातहरुले उसलाई ‘मसाज’ गर्दैथिई र ऊ नचाहँदा-नचाहँदै सुस्ताएर निदाइसकेछ त्यसैबीच ।

सातदिने मधू-सप्ताहको अन्तिम रात, दिनभरिको बैँककको मन्दिरहरु, म्युजियम, राजाको दरबार, प्रसिद्ध सपिङ मल, फाइट क्लबहरुको भ्रमण अनि किट्टीको एकहूल केटी साथीहरुसँग ‘फेयरवेल-डिनर’ गरिसकेपछि, उसले घरदेखि युनिभर्सिटीसम्म हिँड्ने गरेकि गल्ली लगभल मध्यरातमा, कहिले दौडँदै, कहिले उफि्रँदै गरेकि किट्टीलाई ‘साथ’ हिँडी, जमीन छुने थकाइलाई पिठ्यूँमा लादेर वापस होटेल आइपुग्दा रातको एक बढी बजेको थियो ।

मुटुमाथि ठूलो पत्थर राखेर ‘गुड-बाइ’ भन्ने रात थियो । रातहरुका सम्झनाहरुबाट मीठो थप्नु पर्ने आखिरी रात थियो । रातका प्रहरहरु क्रमबद्ध साँगुरिँदैथिए । किट्टी रात आँखामा नै कटाउनुपर्छ भन्दै थिई, जाँगरहरु दैलोमै, जस्तो, दम तोड्दैथियो । तातो वाफिएको रातमा, तर चीसो पानीले नुहृवाएर वाथरुमबाट निक्लेपछि किट्टीले मगाएर राखिदिएकि तातो तर धेरै कडा कफी पिउँदै, फूलझैँ ‘सुकोमलिएर’, कहिले वाथरुमबाट निस्किएलि किट्टी भनी उत्साहित समीर, शरीरभरि नशा-नशामा जाँगर पलाएको प्रष्टै अनुभव गर्दै थियो तब । केहीबेरपछि, सँधैझैँ टावलले शरीरलाई ‘र्‍याप’ गरेर मुस्कुराउँदै किट्टी ‘पर्दापण’ जसरी गरी समीरसामु र बार्दलीको अलि परको आकाशमाथि बादलको घुम्टोभित्र, बेला-बेलामा चिहाउँदै गरेको जून साक्षी राखी प्रणयमा एकाकार भइसकेपछिको पहिलो एकान्तमा, समीर उही जून बरण्डाबाट, चुरोटको धूँवा उडाउँदै अनि नियाल्दैगयो । आज रातको अन्तिम प्रहरमा, अन्तिम पटक हेर्दैथियो दुबै जूनलाई समीर ।

जुनेली रातमा, बैँकक शान्तसँग सुतेको जस्तै भेटिन्थ्यो, त्यो कुनाबाट । आँखाहरु ‘छामछुम’ गर्दै रातको नीरवतामा ऊ पर-परसम्मन् नजर पर्‍याउँदै थियो । सके जति आँखाको ‘जुमलेन्स’ ले तानेर, त्यसलाई ‘फोकस’ मा ल्याई मन-मस्तिष्कमा साँच्न खोज्दै थियो, बैँकक र अनुभूतिहरुलाई सँग-सँगै । किट्टी, कतिखेर पछाडिबाट आएर उसलाई अँगालिसकिछे, जस्तो, भुलेछ केही पल त्यहाँ । त्यसपछि आँलिँगनवद्ध, एकतमास, चुपचाप, दुबै अनन्त शून्य र शान्तितिर हराइरहे, नियालिरहे ।अनायासै, बिना कुनै प्रसँग, किट्टी केही बोल्न खोजी । उसको आवाज पर कतैबाट आएझैँ लाग्ने तन्द्रामा थियो समीर ।

‘I can do anything for you. (म तिम्रोलागि जे पनि गर्न सक्छु ।)’

‘Really? (साँच्चै?)’ अविश्वास गरेको होइन, केही बोल्नै पर्ने भएर सायद ।

‘Ya… Now, I can do anything for you. (साँच्चै नै । म यतिखेर तिम्रोलागि जे पनि गर्न सक्छु ।)’

‘Anything? (जे पनि ?)’

‘Yes, anything! I can even die for you jumping from here. (हो, जे पनि । म यहीँबाट तिम्रोलागि हाम्फालेर मर्न सक्छु ।)’

अचानकसँग झसङगियो समीर । किट्टी वास्तवमा अति नै गम्भीर लाग्दथिई र दृढताको वजन, उसको गम्भीरतामा गहु्ङ्गोसँग झुलेकोथियो । यो उसले प्रष्ट आत्मसात् गर्‍यो, किट्टीको हृदयको भित्र पुगेर, तर कुरालाई हल्का पार्न मुस्कुराउँदै भन्यो –

‘Can you cry for me? (के तिमी मेरोलागि रुन सक्छौ?)’

‘Yes. (सक्छु ।)’ उस्तै दृढता!

‘Then, go ahead! (त्यसो भए रोएर देखाऊ ।)’

रमाइलै हो, समय कटाउनलाई । किट्टी, त्यसपछि, कुनै चाइनिज गीत गुन्गुनाउनथाली । मार्मिक हुनुपर्छ उक्त गीत! वरिपरि मर्महरु छरपस्टिएझैँ बोझिल हुँदै गएको थियो वातावरण । किट्टी उसलाई बेस्सरी छातीमा अँगालेर गुन्गुनाउँदैथिई लगातार । समीर भने चुपचाप, अर्धमूदित, मग्न हुँदै भुलिरहृयो । पर कतै लाटोकोसेरो उड्यो कि… कुनै चरा, एउटा रुखबाट अर्कोमा भर्खरै उडेर पुगेको थियो ।

आधा घण्टाभित्र, किट्टी साँच्चै नै खुलेकिथिई, आफ्ना समस्त सम्वेदनाकाशमा । ‘आई लभ यु…’ ‘आई लभ यु…’ भन्दै रुँदै गई त्यसपछि । आश्चर्य! वास्तवमा समीर शव्द बोल्न सकिरहेको थिएन, फगत सहानुभूति उग्घ्राउँदै थप-थपाइरहृयो लगातार र धेरै मुस्किलले किट्टीलाई बेडमा ल्याएर थप-थपाउँदै बाँकि रातको अन्तिम प्रहरमा निदाउन पुगेको थियो उसलाई पूर्ण अँगालोभित्र राखेर ।

Love End

त्यसबेला सखारै उसले बैँकक छोडेकोथियो र अब आजिवन त्यस प्रकारको र त्यस प्रकारले एक-अर्काको जीवनमा नआउने भनी अर्को बाचा गरेर ओभानो आँखामै बिदाइ लिने-दिने गरिएको थियो ।

समीर घरभित्र पस्दा उसकी श्रीमती खाना नखाईकन अझै परि्खरहेकि पायो । आधा रात बित्न थाल्दा पनि ऊ उस्तै गरी, खाना नखाई टेलिभिजनमा कुनै कार्यक्रम हेर्दै पर्खिरहेकिथिई । समीर भित्र पस्नासाथ सोधिहाली – ‘किन नी, यति अबेर? फोन पनि नगर्ने! ल, हात मख धोऊ । मलाई साह्रो भोक लाग्या’छ ।’

मनभित्र-भित्रै श्रीमतीलाई यसरी भोकै कुर्‍र्‍याउन परेकोमा खेद प्रकट गर्दै श्रीमतीको ‘साख्खे’ भइदियो त्यसपछि ।

राम्रै भएछ, यसरी डेढ वर्षपछि भेटिएकि किट्टी र उसका फुटबल मैदान जस्ता खुल्ला निमन्त्रणाहरुलाई पन्छाएर घर आएकोमा । भोली किट्टी बेइजिङ्ग जाँदैछे र यसपाली उनीहरु, पक्कै पनि सदा-सदाकैलागि छुट्टिएकाछन्, समीर यस्तै सोँच्दैछ, किनकि, पहिलो पटक, उसले आफूलाई आफ्नै अडानमा उभ्याउन सफल जो भएकोथियो ।

त्यसबेला सखारै उसले बैँकक छोडेकोथियो र अब आजिवन त्यस प्रकारको र त्यस प्रकारले एक-अर्काको जीवनमा नआउने भनी अर्को बाचा गरेर ओभानो आँखामै बिदाइ लिने-दिने गरिएको थियो । तर, अर्को तेस्रो महिना नबित्दै, किट्टीको लाखौँ अनुरोध र उसैको सम्पूर्ण खर्चको निमन्त्रणाले गर्दा समीरलाई फेरि अर्को हप्ताकोलागि बैँकक पुर्‍याएको थियो र त्यसपटक एक-अर्कोबाट छुट्टिइँदा कडा प्रतिज्ञा, सदाकैलागि छुट्टिएको भनी गरेर छुट्टिएको करिव वर्षको अन्तरालमा यहीँ हङ्गकङ्गमा नै केही रात बिताएकिथिई किट्टीले समीरसँग र यस्तो प्रकृया अरु दोस्रोपटक पनि दोहोरिएकोले डेढ वर्षअघिको हङकङको अन्तिम भेटमा सल्लाह अनुसार सम्बन्ध दुबैले टुटाएको भए तापनि, अचानक, आज फेरि समीरले किट्टीलाई हङकङमा नै उस्तै रहरहरुका साथ उसकैलागि उभिएकी भेटेको थियो ।

अब, किट्टीले, समीरको मोह सदाकै लागि त्याग्नुपर्छ । ऊ आफ्नो हुनेवालाको वफादार हुनुपर्छ । यस्तै कामना गर्दै, कतिखेर समीर श्रीमतीको न्यानो अँगालोमा निदाउन पुगेछ, थाहा भएन । मनभित्रको एउटा असीम आनन्द जो छाएकोथियो र अर्को आनन्द, हजारौँ गल्लीपछि, ‘घर-फर्केको’ अनुभव जो भएको थियो उसलाई । ‘घर’, भरपर्दो मायाको आश्रय जो थियो । ‘ढिलै भए पनि दूरुस्तै’ थियो समीर त्यस अर्थमा यहाँ । मृगको तृष्णाले झैँ तृषित र आहत पारेको मन श्रीमतीको ओसिलो सद्भावले तृप्त बनेको थियो ।

62
Lonely Moon

बेलायतमा नेपालीको पीडा

आश्चर्य! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु, कथनीका लयहरूलाई सुसेल्ने जमर्को गर्दै कलम समाउँछु… एउटै लाइन पनि अगाडि सर्दैन । आश्चर्य!

बेलायत पछिल्लो समयमा नेपालीका लागि निक्कै सुन्दर भविष्यका लागि निक्कै राम्रो गन्तव्य स्थल मानिएको छ । त्यसैले लाखौँ-लाख रुपैयाँको लगानी गरेर उच्च शिक्षाभन्दा बढी कमाइका साथै यहाँ स्थायी रूपले बसोबास गर्न सकिन्छ कि भन्दै पढ्नका लागि आउने होनहार विद्यार्थी हुन् या आफ्नो लाहुरे जीवनमा कमाइ गरेर बाँकी रहेको जीवनलाई सम्पन्नताबाट परिभाषित गर्नेगरी तिनबाट बनाइएका ठूलाठूला महललगायत अन्य चल-अचल सम्पत्ति बेचेर युरोपियन जीवनशैली बाँच्न यहाँ भित्रिएका भूपू लाहुरेहरू हुन् या हङकङ, अस्ट्रेलिया, अमेरिकाबाट बेलायती पक्षलाई आत्मसात् गर्न बसाइँ सरेर आउने स्थानान्तरित आप्रवासी हुन्, तिनका साझा परिणामहरू मूलतः एक-अर्कादेखि खासै पृथक् छैनन् ।

Nepali Society

म यही भावावेशलाई हरफहरूमा छन्द दिने प्रयत्न गर्छु, कलम भने सर्दैन । दुख्नुको नियति भएको सिर्जनशीलता त्यसै जम्दो हो, सम्झन्छु ।

यूकेको रोम्फोर्डस्थित एक अपायक कुनाको सानो घरमा बसेका बूढा भुवनबहादुर र उनकी श्रीमतीको साथमा रहेको, भर्खरै वयस्क भएको छोरोले कामै नपाएर आफन्त हुँदै परिचितहरूसँग पैसा सापटी (दानस्वरूप) माग्दै हिँडेको प्रसङ्ग सम्झन्छु । लाहुरेजीवन पार गरेपछि, पूर्व रामेछापबाट काठमाडौं बसाइँ सरेका भुवनबहादुर यूके आएपछि यूकेको लगभग पाँच वर्षको बसाइँपछि आफ्नो समष्टिगत जीवनयापनमा योभन्दा खस्केको हालत नभोगेको स्वीकार गर्छन् । काउन्सिल ट्याक्स, टेलिफोन, बिजुली-पानीलगायतका खर्चहरूसहित घरको मोर्गेज धान्न, तिनलाई तिनको वृद्ध भत्ताको सानो आयले निक्कै नै अघि धौ-धौ पारिसकेको हो । सम्पन्नताको सपना लिएर भित्रिएको यो परिवारलाई बेलायती समय पक्कै नै स्वप्निल लागेन होला । तिनका अन्य पीडाहरूको पोको यता म भने फुकाउन सक्दिनँ । त्यस्तै, अल्डरसटमा नेपाली बाजेबजैहरू ‘सोसियल बेनेफिट’ को सानो आयमा मरणासन्न नियति भोग्दै लखरलखर गल्ली, चौक, चौबाटोमा झोक्राएर हिँडेका प्रसङ्गहरू सम्झन्छु । जीवनको उत्तर्रार्धमा खै, कुनचाहिँ अवधिलाई सिँगार्न खोज्दा हुन्? ती यहाँका गल्लीहरूमा विगतका भर्पाई चाहिरहेछन् । अस्थिरता अनि अन्योलले ग्रसित तिनका मन-मस्तिष्कहरूमा उक्त अवधिमा, देश कत्तिको दुखेको हुँदो हो!

म यही भावावेशलाई हरफहरूमा छन्द दिने प्रयत्न गर्छु, कलम भने सर्दैन । दुख्नुको नियति भएको सिर्जनशीलता त्यसै जम्दो हो, सम्झन्छु । जीवनमा सफलताको पछि लाग्नेहरू र जीवनमा सफलताबाट पछाडि छाडिनेहरू यूकेमा प्रवासिएर बाँच्ने क्रममा भने लगभग हरेक बिन्दुमा एक-अर्कामा पूरक हुन्छन् । कतिलाई त्यसरी यहाँ कसरी जीवन दुखिरहेको छ भन्ने थाहा नै नभएको हुन सक्दछ भने कतिलाई के दुख्दै छ भन्ने नै याद नरहेको हुन सक्दछ, तर जति नै ढोङ रचाए पनि ठूलो परिमाणमा आक्रान्त मन बोक्नेहरू लस्करै सर्वत्र भेटिन्छन्, तर तिनका दुखाइउपर लय हाल्न साँच्चै नै गाह्रो रहेछ, म सम्झन्छु । किनकि, यही जीवनको यस रेखालाई भविष्यको कुनै अज्ञात बिन्दुसम्म तान्ने अभीष्टले गत वर्ष मात्र म यहाँ ल्याइपुर्‍याइएको हुँ । आफ्नो पीडालाई लेख्नै गाह्रो!

Nepali Girl

सन्दीपचाहिँ हातैबाट फुत्कने भयो छोरो भन्दै त्यसलाई नेपाल लगेर तीन-चार महिना पिटिपिटी सही लाइनमा ल्याएपछि मात्र यूके ल्याउनुपर्छ कि भन्ने सोच राखेको प्रसङ्गको सम्झना गर्दछु ।

‘छोरो हातैबाट फुत्कन थालेकोजस्तो लाग्यो मलाई त । केही भन्नै हुँदैन, मुखमुखै लाग्छ, पिट्नका लागि हात उठायो भने, पुलिसलाई फोन गरिदिन्छु भन्छ । के गर्ने होला? सम्झाएर सम्झिने होइन, सङ्गतले त बिगार्दै छ उसलाई । नौ-दश वर्षको उमेरमा त छोरोको हाल यस्तो छ भने ठूलो भएपछि यसले मलाई लात्तै हानेर खेद्छ कि क्या हो?’ मित्र सन्दीप यसरी आफ्नो अटेरी छोरोको गुनासो गर्दै थिए । सन्दीपले आफ्नो पारम्परिक बाल्यकालको सम्झना र छोराको बाल्यकालको यथार्थबीच तादात्म्यता मिलाउन सकेको छैन । आधा नेपालको बाल्यकाल भोगेको सन्दीपको छोराले यूकेको बाल्यकाल, केही ज्यादै बुझ्ने भएपछि भोगेको छ । अभिभावकबाट दिलाइएको घरायसी नेपाली शिक्षाको खुन्दुस निकाल्दै होला ऊ यहाँ । सन्दीपचाहिँ हातैबाट फुत्कने भयो छोरो भन्दै त्यसलाई नेपाल लगेर तीन-चार महिना पिटिपिटी सही लाइनमा ल्याएपछि मात्र यूके ल्याउनुपर्छ कि भन्ने सोच राखेको प्रसङ्गको सम्झना गर्दछु । के आँगनअघिको फूलबारीभरि फूल रोप्नु भनेको यस्तै-यस्तै हो त? सन्तान-सुखको अवधि सीमित हुँदैन र यो मानेमा? प्रश्नहरू मनभरि तेर्सिएका छन् ।

पूर्वीलन्डनमा बस्ने श्यामसुन्दर, बढेको छोरो कुटेको आरोपमा कतिपटक पुलिस स्टेसन लगिएका छन्, त्यसैकारणले तिनको पुलिस-रेकर्ड खत्तम भएको छ । यूपीएसका ड्राइभर बिल्लीले आफ्नो एक वयस्क भइसकेको छोरोलाई आफूसँग जाइलाग्न आएको झोकमा लगभग दुई वर्षअगाडि घरको मूल ढोकाबाट गलहत्याइदिएका थिए, फलस्वरूप कानुनी रूपमा सदाकै लागि उनले आफ्नो सम्पत्ति तथा नाताबाट नै उक्त छोरोलाई बेदखल गरेका थिए । यही समयमा उक्त प्रसङ्गलाई सम्झन्छु । फेरि पनि लाग्छ- सानोमा ‘मर्ला भन्ने पीर’ लाग्ने सोही बच्चाले ठूलो भएपछि ‘मार्ला भन्ने डर’ मान्नुपर्ने अवस्थितिको सोच आततायी स्वरूपले मानसिकतामा उदय हुन्छ, र मनन गर्छु ।सन्तान सुख आखिर कतिन्जेलसम्म हो त?

Lonely Moon

दुःखहरू सर्वत्र छन्, पीडाहरू वातानुकूलित लाग्ने खालले वर्तमान मानवमनमा अभ्यस्त किसिमले क्यामोफ्लेग भइसकेका लाग्छन्, खुसी पो खोज्न गाह्रो ।

शून्यता भने सघन रूपमा व्याप्त छ, मनमस्तिष्कभरि । एक नीरवताको तीखो ध्वनि फैलिएको झैं लाग्छ । बाहिर हेर्छु । जिन्दगी भनेको रमझम हो भनेजस्तै भान दिने गरेर संसार चलेको लाग्छ र त्यही रमझमभित्रै मिस्सिन्छु, नीरवताको चर्को ध्वनि लुप्त हुँदैन । सँगैको पवको ढोकाअगाडि बूढो छिमेकी टोनी खडा हुन्छ, हातमा जगभरिको बियर लिएर । ‘…कस्तो राम्रो दिन, आऊ खुसियाली मनाऔँ ।…’ म उसको भनाइ र उसको उत्साहलाई आत्मसात् गर्ने प्रयत्न गर्छु । दिनभरिको कामको थकाइ, मानसिक उत्पीडन आदिले क्लान्त भएको शरीरलाई मनले पनि साथ दिन छाडेको लाग्छ । बढ्दो महँगी र संशयशील प्रवासी जीवन, खासगरी मजस्तालाई पाच्य भइसकेको छैन । ठूलो परिमाणमा हप्तौँभरि घोटिएको कामको दामबाट सरकारले ट्याक्स काट्छ र टोनीजस्ता अभ्यस्त स्थानीयलगायतका वृद्धहरू, वृद्धभत्तालाई पवहरूमा बियरको चुस्कीमा उडाउँछन् । टोनीको उत्साहलाई मेरो वैराग्यले पछ्याएको छ, त्यसैले ‘फेरि कुनै दिन रमाइलो गर्ने’ भन्दै म अगाडि लागेको हुन्छु । यस्तो सम्झना र प्रसङ्गले मेरो मनभित्रको सिर्जनशीलतालाई कुत्कुत्याउन सकेको छैन । एकै हरफहरू पनि लेख्न सकेको छैन यी विषयहरूमा ।

दुःखहरू सर्वत्र छन्, पीडाहरू वातानुकूलित लाग्ने खालले वर्तमान मानवमनमा अभ्यस्त किसिमले क्यामोफ्लेग भइसकेका लाग्छन्, खुसी पो खोज्न गाह्रो । हुर्किएको छोरोलाई पिटेकोले गर्दा उही छोरोकै उजुरीमा पुलिसद्वारा बन्देज पाएको मित्र श्यामसुन्दर छुट्टै बस्न वाध्य भएका छन् । श्रीमती तथा हुर्केको सन्तानको साथ बुढ्यौलिँदै गएको श्यामसुन्दरको जीवनले गुमाएको छ भने वयस्क भइसकेर पनि काम नगर्ने अनि आमाबाबालाई वर्षौंदेखि सताइरहने छोरोको खुवीले गर्दा नेपालका सम्पन्न उक्त परिवार यहाँ अहिले तितरबितर अनि निरीह हुँदै छन् । छाक टार्न पनि मुस्किल पर्ने हालतमा श्यामसुन्दरका श्रीमती र छोरो रहेका छन् । यस्ता कति छन् कति, सम्पन्नता अनि उच्च भविष्यको आशामा नेपालदेखि पलायन भएका नेपाली विशृङ्खलित परिवारहरू! तिनका दुर्दशाका बारेका बखान लेख्दा जहिले पनि हृदयको एक छेउ चसक्क घोच्दछ । प्रणयका दिनहरूमा तिनले साझा रूपमा सजाएका तिनका सपनाहरूले अहिले तिनलाई पक्कै पनि धारेहात लगाउँदा हुन्! सपनाका महल सजाउनू, प्रेमका गीतहरू गुनगुनाउनू कत्ति हास्यास्पद लाग्दा हुन् तिनलाई! किन सुसेल्नु यी व्यथाहरूलाई र किन लेख्नु यी चोटहरूलाई! त्यसको निचोड पनि हुनसक्छ, शून्यताको नीरव चर्को ध्वनि व्याप्त छ मनमस्तिष्कभरि । एकै हरफ पनि सार्न सकिएको छैन ।

32