KISS

मृग तृष्णा

अन्तिम भेट!

यस्तो लाग्दथ्यो, जमीन माथिको अदृश्य सतहमा लगभग तैरिँदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै वहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्नीग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति लिएर छातीबाट ‘बेलगाम’ अँगालोभरि फैलिएको थियो ।

किट्टी हाँस्दै आई, जून जस्तो उज्यालिएर अनि आँखाभरि धपक्क प्रीत फुलाएर । उही रक्सी तर लेबल नयाँझैँ या उही लेबल तर मात नयाँझैँ, प्रशस्तै नवानभूतिले चुर्लुम्म डुब्यो समीर, मनसँगै अनि आलिङ्गन र अधरहरुको रहरपूर्ण घर्षणहरुसँगै । प्रेम या यौवनका ज्वारभाटाहरुले ‘लथालिङ्ग’ पारेको मनस्थिति सम्हाल्दै, सम्हालिईँदै, एक थुप्रो अति सुकेका पात-पतिङ्गरझैँ दूरी, दुई हृदयहरुबीच राखेर, रोडभरि ओहोर-दोहोर गर्दै भरिएका वाहनहरु अनि वाहनभित्रका यात्रीहरुतिर पारदर्शी नजरहरु तेर्स्याइरहन्छ समीर किट्टीसँगै ।

वर्षौंपछि भेटेको थियो उसले किट्टीलाई, तर यस्तो लाग्थ्यो, ती वर्षका समयहरु किट्टीलाई छुँदै नछोईकन बितेछन् क्यारे! ऊ उस्तै नै ‘फ्रेश’ र ‘डिजाइरेबल’ देखिन्थिई, कम्तीमा यस्तै सोच्दैथियो समीर ।

दुबै हिँडिरहे धेरैबेर, हिँड्नलाई बाटो अगाडि जो लम्पसारिएको थियो । केही शिष्टता या कुनै अपरिहार्य वचनवद्धता वा अरु जे सुकै कारणले हो, किट्टी केही खुम्चिरहेकिथिई र एउटा दूरी कायम गर्दैथिई, जुन धेरै पलसम्म यथावत् नै रहेकोथियो ।

Love Hands

वर्षौंपछि भेटेको थियो उसले किट्टीलाई, तर यस्तो लाग्थ्यो, ती वर्षका समयहरु किट्टीलाई छुँदै नछोईकन बितेछन् क्यारे! ऊ उस्तै नै ‘फ्रेश’ र ‘डिजाइरेबल’ देखिन्थिई, कम्तीमा यस्तै सोच्दैथियो समीर ।

पछि, समीर, किट्टी र उसकी बहिनी (जो उसँगै तर पहिलो पटक हङकङ आएकिथिई) लाई लिएर स्टारफेरीको ‘स्टार एभेन्यू वाक्मा’ गयो । रातको अँधकारमा झिल्मिलाइरहेको हङकङ, मन्द तथा केही चिसो हावाले, मनभित्र दबी नसकिएका प्रेमानुभूतिलाई उकेरा दिन थालेपछि, वर्षौंअघिको सारा उन्मादहरु अनियन्त्रित भई, हातहरुमा, ओँठहरुमा अनि पाइला-पाइलामा छरपस्टिन थाल्यो । यस्तै कमजोर पलहरुमा वहकिएर सायद, किट्टी बाराम्बार एउटै प्रश्न सोधिरहन्थिई – ‘Why, couldn’t I forget you? (किन मैले तिमीलाई भुल्न सकिनँ?)’ तर, समीर हरेकपटक, यता-उता मात्र, वार्तालापमा सारेर, फोटो खिच्ने ठाउँ र पोजको व्याख्या गर्दै-देखाउँदै किट्टीको प्रश्नलाई छल्दथ्यो । आखिर उसले नै किन बोल्नपर्छ र? जबकि यसको कारण स्वयँ उसलाई पनि थाहै छ । प्रत्यक्षतः समीर, सागरको ‘झिलमिल-झिलमिल’ टल्किरहेको पानीमाथि तैरिईँदै गरेका डुङ्गाहरु निरुद्ध भावले हेरिरहृयो ।

आउने वर्ष सँघाइको एउटा चाइनिजसँग विबाह गर्ने, जो किट्टीसँगै, भर्खरै आबाक् युनिभर्सिटी, बैँककबाट डिग्री लिएको र जसलाई किट्टीले, आफ्नो र समीरको बारेमा खुलस्त पारेकी जानकारी किट्टीले केहीबेरअघि दिएकिथिई । एउटा ठूलो ढुङ्गा मुटु माथिबाट हटाइएको झैँ हलुङ्गो महशुस गरेकोथियो समीरले । उसले शुरुमा नै प्रष्ट पारेको थियो कि त्यस सात दिनबाहेकको उनीहरुको जीवनमा एक-अर्को आवद्ध हुँदैन त्यस अर्थमा । किट्टी, त्यसैले त सेकेण्ड-सेकेण्डको दरले साथ-साथ बाँच्दै समय खर्चिरहेकिथिई त्यतिखेर ।

रातको धेरैपछि, समीरले उनीहरुलाई होटेलमा छोड्न गएको थियो । किट्टीकी बहिनीले उसलाई र दिदीलाई ‘प्राइभेट टाइम’ दिनलाई उससँग गाला जोडेर ‘गुड बाइ’ भनेर भित्र छिरेपछि, ऊ र किट्टी होटेलपछाडिको पार्कमा बस्न पुगेका थिए ।

समय रातको सुनसान ल्याउने भए पनि, हुङ्गहामको सडकबाट कारहरु चिप्लिरहेको आवाजले भने छोडेको थिएन, शून्यतालाई । समीरको कमिजको बटन लगाइदिनलाई उसको छातीमा पुगेका किट्टीका हातहरु, कतिखेर उसको गर्धनमा बेह्रिएछन्, कतिखेर किट्टी उसको कमिज माथिको अर्को आवरण भई, समीरले, जस्तो, थाहै पाएन, तर प्रत्यक्षतः अहिले उसका दुबै हात किट्टीका रेशमी केश सहलाउँदैथियो, मनभित्र, कतै कुनामा दबेका सम्झनाहरु, रहर बनेर जो फैलिँदैथियो अनि मनहरु हतारिएर सक्दो समेट्दैथिए रहरका पदचापहरु ।

बेन्चमा ‘थचक्क’ बसेर किट्टी सुँक-सुँकाउँदैथिई, सपनाका या कल्पनाका वायूपँखे घोडामा उडिरहेको उसको प्रणयशील रहरहरु, यथार्थताका साथ असम्भाव्यताका कोत्रे चट्टानमा ठोक्किएर, सायद पछारियो होला उसको मस्तिष्कभरि र अप्राप्तिका दुःखाइहरु आँखाहरुबाट चुहाउँदैथिई ‘तप-तप’ त्यसैले ।

मनलाई कुनै कवचभित्र राख्न सके, सम्वेदनहीन हुन सकिन्थ्यो होला । शरीरको, आखिर कहाँ र कुन भागमा बस्छ मन? मन पक्कै पनि मुटु होइन, मुटु भएको भए, दुख्दा, चोट लाग्दा, ‘छताछुल्ल’ भएर रगत पोखिनु फर्थ्यो । किन ‘तप्-तप्’ आँशुहरु आँखा भएर निस्कन्छन्? किट्टी आँखाहरुबाट चुहिरहेकिथिई र समीरको मुटु कसैले जोडसँग मुठ्याएझैँ ऊ छट्पट्टिइररहेको थियो । तैपनि चुप भई हेर्दै गयो… के नै ‘आँशु-पुछाइ’ भयो र! यदि उसले किट्टीको मनलाई ‘थप्-थपाउन’ सक्दैन भने । ऊ चुपचाप एकोहोरो, माथि, धेरैमाथि आकाशमा हेर्न थाल्यो, जून शान्तसँग बादलको घुम्टोभित्र र बाहिर गर्दैथियो, जसरी, आजभन्दा तीनवर्षअघि, पतया (थाइ-ल्याण्ड) को एउटा होटेलको प्राङ्गणअगाडिको सिँढीमाथिको आकाशमा गरेकोथियो यस्तै, बादल भित्र र बाहिर पूर्णाकार चन्द्रमा त्यतिखेर, उसको र किट्टीको साथमा ।

सेतो सर्ट र कालो ‘लँग मिडी’ लगाएकि, उज्यालो अनुहारमा, अस्त-व्यस्त झुलेर करीव-करीव छोप्न खोजेको रेशमी केशलाई पछाडि लगेर, कानमा सिउरिँदै, सिँढीमा बसेर चुरोटको लामो धूँवा तानेर माथि आकाशतिर फालिरहेको समीरलाई निँहुरेर हेर्दै किट्टीले सोधेकिथिई – ‘What are you looking at like that? (के हेरिरहेको नी त्यसरी?)’ उसको चुरोटको धूँवा, तुँवालोझैँ किट्टीको उज्यालो अनुहारअगाडि सुस्तसँग फैलिरहेकोथियो, माथि आकाशमा बादलको पातलो लहरभित्र र बाहिर गर्दैथियो जून ।

Beautiful Moon

के थाहा, फेरि कहाँ कहिले अनि कसरी भेटिनेछौँ? यदि फेरि कहीँ भेटियौँ भने, तिमी पहिलेकै जस्तो व्यवहार गर्न सक्छौ प्रेमिका सम्झेर ।

‘At the moons. (जूनहरुलाई हेरिरहेको ।)’

‘Moons? (जूनहरु ?)’

‘Yeah… one by my side and other up there at sky! (हो, एउटा मेरो साथको अनि अर्कोमाथि आकाशको)’

त्यसपछि किट्टीले समीरलाई अँगालेर त्यसरी नै सुँक-सुँकाएकिथिई । त्यसबेला, ऊ आश्चर्यमा परेकोथियो कि कहाँ, कता गल्ती बोल्यो ? केही छिनपछि ऊबाट हट्दै, आँशु पुछ्दै किट्टीले भनेकिथिई – ‘That was loveliest and sweetest compliment that I have ever got. Thank you! ( त्यो मैले पाएकोमा प्यारो र मीठो प्रशँसा थियो । धन्यवाद !)’ ।

धेरै नै भावुक थिई किट्टी, सायद औसतभन्दा ज्यादा! समीर चुपचाप आकाशमा नियालिरहृयो, अतीतका यादहरु लाम लागेर छाउन थाले मानसपटलमा । किट्टी सुँकसुँकाउन छाडेर केही शान्त भई समीरको हात आफ्नो हातमा राखेर मुसार्न थाली भने आँखाहरुले उसको सारा शरीर सुम्सुम्याउनथाली । धेरैबेर त्यसरी नै रहेपछि, अन्त्यमा छुट्टिने बेला, समीरलाई झुकाएर उसको निधारमा चुमेपछि गम्भीरतासाथ भनी – ‘There’s a long way ahead in our life, who knows, where, when and how, we will meet again? If we happened to meet again somewhere, you can treat me just like as before… as your girl. I promise, I will be very happy if that happened. No matter in what conditions! (हाम्रोअगाडि जीवन धेरै लामो छ । के थाहा, फेरि कहाँ कहिले अनि कसरी भेटिनेछौँ? यदि फेरि कहीँ भेटियौँ भने, तिमी पहिलेकै जस्तो व्यवहार गर्न सक्छौ प्रेमिका सम्झेर । म प्रतिज्ञा गर्छु, म धेरै खुशी हुनेछु यदि त्यस्तो भए, चाहे जस्तोसकै परिस्थितिमा पनि ।)’ ।

यथार्थमा समीर एक्लै घर लाग्यो र किट्टी होटेलभित्र । दिदी-बहिनी एकाबिहानैको ट्रेनबाट बेइजिङ जाँदैछन् । समीर ‘बोझिलो’ मन लिएर मनसँगै शरीरलाई घिसार्दै हिँड्दैगयो, स्मृतिहरु तितर-बितर भएर उसको सम्झनाको फाँटभरि फैलिएको थियो र ऊ विगतस्पृह केलाउँदैगयो । स्मृतिका पानाहरुका गर्तमा धमिलिई नसकिएका, अथाह परिमाणका सम्झनाहरु, जो जीवन्त रहरहरुको, मुटु नजिकैकोसाइनो गाँसिएका प्राप्तिहरु र अमूर्त विवशताहरुको एउटा छुट्टै अध्याय बनेर रहेको थियो, जसले कहिले चोट दिन्थ्यो र फेरि सुम्सुम्याउँथ्यो, मिठासपूर्ण मलहम लगाएर ।

ती दिनहरु अनि रातहरु, जो हप्ताभित्र नै साँगुरिएकाथिए, तर जसका भोगाइहरु, जीवनभरिको एकमुस्ट भोगाइहरुको झैँ सम्मिलित रुप थियो । कतैबाट पनि, आ-आफ्नो क्षमताभित्रको परिसरबाट हुने र पुग्नेसम्मको भोगाइका क्षण र त्यसका मीठासबाट चुक्न नपरेका प्राप्तिका लेखाजोखा, यदि मनले पढ्न् भए, धेरै-धेरै पलहरु पनि कमै लाग्न सक्थ्यो ।

मुटुको कुनै कुनामा सूरक्षित रहेको उसको अतितका स्मृतिको त्यो अध्याय, उसको मानसिक आञ्चलिक पटलभित्र जीवन्त भएर स्फुरण हुन्छन् त्यसपछि ।

बेरोजगारबाट हात लागेको रमाइलो ‘नव’

२००२ अक्टोबरको कुनै दिन! फ्ल्याटको सानो बेडरुमको बेडमा सिरकभित्र गुजुल्टिएर सिरानीलाई अढेस लगाई झ्यालको सीसाबाहिर दृष्टि फाल्दै चिया पिइरहेकोहुन्छ समीर । उता सिटिङ रुममा, श्रीमती काममा जानलाई हतारिँदै आफूलाई पोत्दै र लिप्दै हुन्छे । समीर बितेका केही दिनबाट लगातारको बेरोजगार थियो । हुन त, उसले खासै काम खोज्नको लागि ‘लागिपरेको’ थिएन र कामहरुले पनि उसलाई ‘स्किप’ गर्दै जान्थ्यो, अथवा, यसो हुन सक्थ्यो, काम, जाडोको सिरकभित्र थियो जो बाहिर निस्कनै मान्दैनथ्यो । यसर्थ, ऊ बेरोजगार थियो । राम्रो यो थियो कि श्रीमतीले ‘कच-कच’ शुरु गरिसकेकि थिईन ।

जिन्दगी त्यसरी नै चलेको थियो, बिना कुनै उत्साह, उमँग र रहर, दिन -हप्ता बन्थ्यो, हप्ता -महिना, त्यसपछि त्यसरी नै वर्ष! प्राप्तिमा वस्तुतः बाँदरका पुच्छरझैँ अनुभवहरु थिए ‘लौरो न हतियार’! हरेक नयाँ दिन, नयाँ केही गर्ने उत्साहलाई प्रणमा बदलेर बिताएपछि, अर्को दिन यस्ता यसरी बितेको देखी-देखी पनि, केही गहिरो सुस्केरा फ्याँक्नु बाहेक सम्झिने नै भए, खासै केही नभएका समयका खिया लागेको बिगतहरु मात्र रहन्थे मानसभित्र । झयालको कुनै कापबाट चिसो तिखारिएर कोठाभित्र छिर्दैथियो, ऊ त्यसपछि अरु ज्यादा सिरकभित्र साँगुरियो । उसकी श्रीमतीले ‘बेलुकाको खाना फ्रिजमा राखिदिएको अनि मन लागे, तताएर खानु’ भनी श्रीमती साबित भई सकेपछि काममा हतारिएर हिँडिसकेकिथिई । अनौठो…! त्यसपछि पनि उसमा उस्तै एक्लोपन छाइरहृयो ।

laptop_chat

यसरी परिचित बनेकी किट्टीले नेपालको बारेमा जान्न खोजेपछि, समीर ‘की-बोर्ड’ बाट, घण्टौँ राष्ट्रियता, बहादुरी, पराक्रमसँग आफू पोखिएको थियो । उभित्र खुम्चिएर रहेका ऊ स्वयँहरु कति पोखिए? लेखा-जोखा नै छैन ।

समीर, सखारै ‘ल्यापटप’ ‘अन’ गरेर ‘च्याटरुम’ भित्र पसिसकेको थियो । अनायासै हात लागेर आएको रमाइलो उसको जीवनमा ‘नव’ भएको थियो । अनेकौँ अपरिचितहरुसँग यसरी ‘च्याट’ गर्दा ‘आफू अझै छु’ भन्ने पक्का हुन्थ्यो उसलाई । उसले समय कटाइ रहेको थियो या समयले उसलाई काटिरहेको थियो, त्यो अर्कै प्रसँगको कुरा हो किनकि, ऊ घण्टौँ-घण्टौँसम्म कहिलेकाहीँ झ्यालको एक कुनाबाट देखिने पर सडकको एउटा छेउमा गुडिरहेका गाडीहरु गनेर बस्ने गर्दथ्यो । समय र उसको मनमा फैलिएको निःसारताको अर्को नमुना नै किन खोज्नु र?

‘Hi! What r u doin? (हाई… के गर्दै छौ ?)’ च्याटमा कसैले सोध्दैथियो, नामको ठाउँमा थरि-थरिका सिम्बलहरुले भरेको थियो ।

‘Planning. (योजना बनाउँदैछ ।)’

‘4 u? or 4 ur country? Or our universe? (आफ्नो ? वा तिम्रो देशको ? वा हाम्रो ब्रहृमाण्डको ?)’

‘Plan for a day, today. (आजको निम्ति ।’ जो कोही भए पनि कुरा रमाइलोसँग अघि बढ्ला जस्तो गरेको थियो ।

‘Cud u? (बनायौ त ?)’

‘Yeah, but I’m a little confused to begin with. (बनाएँ तर यसको कार्यान्वयनमा दुविधामा छु ।)’

‘May I help you? (के म सहयोग गर्न सक्छु ?)’ त्यसको उत्साह, शीघ्र जवाफबाट अनुमान लगाउन सकिन्थ्यो । ‘त्योसँग पनि समेटी नसकिएका समयहरु हुनुपर्छ’ सोँच्दै ‘ल्यापटप’ लाई काखमाथि राखेर ‘मूड’ बनाउन थाल्यो समीर त्यसपछि ।

‘Sure! I’m in mood of listening music for whole day, but couldn’t determine, whether to listen them while sleeping or sitting? (स्योर । म दिनभरि गीत सुन्ने बिचारमा छु, तर अन्योल चाहिँ यसमा छु कि, सुती-सुती सुनुँ कि बसी-बसी सुनुँ ?)’

उतातर्फबाट आफू हाँसेको जानकारी ‘सिम्बल’ हरुबाट दिएपछि, परिचयको थालनी भएको थियो । यसरी परिचित बनेकी किट्टीले नेपालको बारेमा जान्न खोजेपछि, समीर ‘की-बोर्ड’ बाट, घण्टौँ राष्ट्रियता, बहादुरी, पराक्रमसँग आफू पोखिएको थियो । उभित्र खुम्चिएर रहेका ऊ स्वयँहरु कति पोखिए? लेखा-जोखा नै छैन ।

मूलतः बेइजिङकी किट्टी, ‘आबाक युनिभर्सिटी’, बैँककमा पढ्दै थिई, आन्टीकोमा बसेर, जसको एउटा राम्रो ‘ट्राभल एजेन्सी’ थियो त्यहाँ । परिचय त्यतिखेर त्यति मात्र थियो, यावतका अन्य कुराहरु, अन्य दिनहरुभित्र व्याखा, वर्णनमा सर्‍यो । कुराको लत लागे पछि पछ्याएको अन्य दिनहरुमा उनीहरु देश-बिदेशका, ज्ञान-विज्ञानका, साहित्य-सँस्कृति आदिका कुराहरु गर्न थाले । यसैताका, किनारातिर फुत्किएको माछा जसरी काम, उसको हात लागेको थियो । काम ‘कन्स्ट्रक्सन् कम्पनी’ को थियो तर दाम माछा जस्तै मीठो थियो र जब काम शुरु गर्‍यो, च्याटमा कुरा गर्न पूरै बन्द भयो ।

हप्ता दिनपछिको पहिलो फुर्सदमा कम्प्यूटर खोल्दा किट्टीका थुप्रै मेल थुप्रिएको पायो समीरले ‘इनबक्स’ मा । त्यसदिन पनि उसँग ‘अनलाइ’ बस्ने समय थिएन र किट्टीको धेरै चाहनाभित्रको एक इच्छा, आफ्नो मोबाइल को नम्बर दिएर पूरा गर्दै कम्प्यूटर बन्द गरेर बाहिर निस्केको घण्टाभित्र उसको मोबाइलमा घण्टी बज्यो ।

‘हेल्लो…?’

‘(?…)’

‘हेल्लो ?’

फेरि कुनै आवाज आएन, तर कोही नजिकै हतारमा सास फेरिरहेझैँ लाग्दैथ्यो उसलाई ।

‘It seems like, I’m not the one, you are looking for! (मलाई लाग्छ, तपाईँले खोजिरहनु भएको मान्छे म होइन ।)’ अझै कोही बोलिरहेको थिएन ।

‘You must have dialed wrong number, check that again, bye! (तपाईँले नम्बर गलत डायल गर्न भएको हुनुपर्छ । फेरि चेक गर्नुस्, बाइ ।)’

लाइन काटेर मोबाइल पकेटमा राख्न नभ्याउँदै फेरि रिङ आयो, उस्तै बिनानम्बरको ।

‘हेल्लो ?’

‘Hi! …Is that you? (हाइ! …के त्यो तिमी हौ ?)’ अलि-अलि नशामा डुबेझैँ, मधूर शैली र प्रष्ट अँग्रेजीमा कोही बोली । अलिकति अन्योल र शँकामा उस्तै भावमा जवाफ दियो समीरले ।

‘I think so! But who am I talking to? (मेरो विचारमा, मै हुँ । तर कोसँग म बोलिरहेको छु?)’ कौतुहलता मनभरिबाट उम्लिएको थियो ।

‘It’s me! (म बोलेको!)’ मीठो हाँसोको साथ! वास्तवमा सुनिरहुँ नै लाग्ने हाँसो थियो त्यो । समीरले कवीहरुलाई सम्झ्यो, यस्तै हाँसोलाई नै तिनीहरुले मन्दिरका साना-साना घण्टीहरु एकैसाथ बजेझैँ भनेका होलान्! समीरलाई लाग्यो, ऊ एकै पटकमा पवित्र भयो ।

‘Got a name? (नाम राख्या छ?)’

‘Kitty. My name is K.I.T.T.Y. Remember something? (किट्टी, मेरो नाम के आई.. टी.. टी.. वाई हो । सम्झना छ केही?)’

कस्तो मात थियो, त्यो भनाइमा! कति चञ्चलता भरिएको थियो त्यो मातमा! कति लहरहरु उठेका थिए उसका रहरहरुमा! कति रहरहरु ओइरिएका थिए उसको बोलाइमा! लश्करै अनुभूतिहरु एक-एक गर्दै हृदयको अन्तर-कुन्तरतिर पस्न लागेको ठान्दै समीर मस्तसँग सजिलो भयो किट्टीसँगको फोन वार्तामा ।

भौगोलिक दूरीलाई भावनाको साथले ‘छपक्कै’ मिचेको थियो । किट्टी घरि-घरि फोन गर्दथिई, दिनमा तीन-चारपटकका दरले । टण्टलापुर घाममा काम गरिरहँदा उसको पसिनाले ‘निथु्रक्’ भिजेको शरीरलाई मायालुपनले मनमा छाम्न थाल्दथिई । ठूलो-ठूलो मेशिन उचालेर भित्ता फोर्न थाल्दा आँतबाट आड लगाइदिन्थिई । जस्तोसुकै अप्ठ्यारो, गाह्रो, कुनै पनि काम गर्न रमाइलो लाग्दथ्यो । कोही नजिक उभिएर हौसला बढाइरहेझैँ, नजिक उभिएर कोमल हात बढाई उसको निधारको पसिना पुछिदिएझैँ, एउटा काल्पनिक आकृति उसकोअघि उठ्दथ्यो र हर्दम छाँयासरी साथ रहन्थ्यो । मुखाकृतिको बारेमा चाहिँ उसले त्यति अनुमान गरेको थिएन, तर किट्टीसँगका वार्तालापका आधारमा, मानसिक तथा शारिरीक रुपमा एउटी भद्र युवती सम्झन्थ्यो किट्टीलाई, अनि अनुहारको बारे, आफ्नो रुची र सुविधा अनुसार बदल्दै जान्थ्यो ।

केही दिनपछि, उसले किट्टीको र किट्टीले उसको तस्वीरबाट साक्षात्कार हुने मौका मिलेको थियो । किट्टीको स्वरुप उसले मस्तसँग आफ्नो रुची अनुसार कल्पना गरेकोभन्दा सुन्दर पाएको थियो, अनि उसको स्वरबाट, किट्टीले कल्पना गरेको रुपरेखाको पन्चानब्बे प्रतिशत मिलेको अनि उसमा बालापन उभित्र कतै अझै यथावत रहेको र बाहिर अलि ‘र’ देखिए पनि ऊ भद्र मान्छे भएको ठोकुवा किट्टीले गर्दा समीर त्यसपछि, आफूबारे धेरै नै सोँच्ने गर्न थाल्यो । किट्टीको अनुसार, ऊ अझै केही कुराको, केही अवसरको, कुनै नौलो ‘एपिसोड’ को प्रतीक्षामा छ भन्दा, कतियौँ दिन ऊ टोहृलायो, कति विस्मित भयो, यो जिउनुको दैनिकीसँग? त्यसको खास मतलब रहेन, रहृयो त, त्यसपछि ऊ किट्टीतर्फ, उसका धारणाहरुतर्फ अति गम्भीर हुनथाल्यो । किट्टीले झयाल बिस्तारै खोलिदिएकि थिई र ऊ आरामसँगै त्यहीँबाट किट्टीतिर चिहृयाउँदै गयो र यस्तो अनौठो सम्बन्धभित्र जेलिइँदैगयो ।

dating

एक-अर्कोले कुराकानी मन पराउँथे, अवसर मिले साथ पनि, तर त्यो साथको स्थायित्व भने पक्कै हुँदैनथ्यो र गर्नको लागि प्रयास आफैमा बेकार थियो ।

न खुशी, न दुःखी, उसको बैवाहिक जीवनबारे सम्वेदनशील हुने गर्दथिई किट्टी । यसरी पनि बाँच्न सकिने बैवाहिक दिनहरुबारे अनौठो मानेर अनौठो खाले प्रश्नहरु सोध्ने गर्दथिई, कहिले जीवनलाई Spice-up (रसिलो) पार्नलाई, श्रीमतीलाई कतै नयाँ ठाउँ घुमाउन लिएर जाने सल्लाह दिन्थिई, रातो गलाफको ‘बुक’ किनेर दिने, बिना कुनै उत्सब, कतै बाहिर डिनरमा लिएर जाने, आदि इत्यादि गरे श्रीमती पनि रोमान्टिक भई जीवन रमाइलो हुने विश्वास ‘दुई दुने चार भने जसरी’ दिलाउन खोज्दथिई ।

हातमा उस्तै दिन अनि रातहरु आउँदै जाँदैथिए । ऊ यथार्थमा, हातमा शून्य मात्र बचेको भन्दा फरक नपर्ने जीविकाका नियात्रामा तल्लिन थियो । मृग तृष्णा जस्तो भ्रम पालेको थियो, एउटा मिथ्या प्राप्ति, रहरहरुको, उब्ज्याएको थियो उसले हृदयमा सायद । पारी डाँडामा लागेको डढेलोको रापले वारी डाँडा बसेर सेक्दै थियो ओसिइन थालेको उसको मनलाई! बहाना मात्र पनि काफी हुन्छ कहिले! जीवन जिउने न हो! किट्टी त्यस अर्थमा, रमाइलो भएकिथिई उसका प्रत्यक दैनिकीमा त्यसताका ।

किट्टी ज्ञानको विनिमय ज्ञानसँग गर्न चाहन्थिई । यसै क्रममा, प्रेममा विश्वास आफै भई न रहने र यसलाई बनाई राख्नु पर्ने सन्दर्भहरुबारे चाख लिएर सुन्दथिई । बैवाहिक जीवनमा गर्ने र गरिने प्रशस्तै सम्झौताहरुबारे मन नपराएरै स्वीकार्दथिई समीरका सिद्धान्त जस्ता कुराहरु ।

कर्कलाको पातमा परेको शीतको थोपा जस्तो स्वच्छ र शाश्वत किट्टीको मन! चिरा-चिरा परेको जीवनको बैवाहिक खोलहरु, सम्झौताले कति टालिन्छन्? कति सिलाइन्छन्? किट्टीलाई के थाहा?

यस्तैमा केही हप्ता बितेर महिना भइसकेपछिको एक छुट्टीको दिन उसरी नै ‘अनलाइ’ हुँदा किट्टी अचम्भसँग फैलिईन खोजेकिथिई उनीहरुको चिनारीमा । अनायासै, व्यक्तिगत हुन थाल्दैथिए कुराहरु । किट्टी समीरको व्यक्तिगत मनलाई आफ्नोपनले छाम्न खोज्दैथिई । उसको आदर्श, उसको जीवन शैलीबारे, उसको स्वप्निल रहरबारे, मस्तसँग खुशी हुन सक्ने पलहरुको बारे, खुबै चाख लिएर जान्न खोज्दथिई । समीर आश्चर्यजनक रुपमा खोलिरहेको थियो आफूलाई, मनभित्र जेलिएर, बेह्रिएर रहेका कुराहरुको एकसिरो किट्टीको हातमा परेपछि ऊ सजिलैसँग उध्रिइँदै गएको थियो । त्यसदिन, उसको किट्टीतर्फको सोँचाइमा या सोँच्ने धरातलमा भिन्नता भने अवश्य आएको थियो र यसैक्रममा, ‘यदि भएको भए…’ भन्ने तात्पर्यको थालनी दुबैतर्फबाट हुनु असान्दर्भिक थिएन ।

मानसिकतामा परेको एकमुष्ट ‘झ्वाम’

च्याटमा नै समीर उसको र किट्टीको वार्तालापमा अति गहन गम्भीरता छाएको गम्भीर भएर महशूस गर्दैथियो । त्यँहा, हातका औँलाहरुले मनभित्रका भावनाहरुलाई अक्षरहरुमा बदलेर बोलिरहेको मात्र थिएन, सम्पूर्णतः मन नै विस्तार-विस्तार, अक्षर-अक्षर हुँदै ‘सेन्ड’ बटनसँगै साटिइँदैथियो । लगभग कुनै गहिराइमा या निर्क्यौलमा पुगे जस्तो गरी किट्टी अगाडि आएकिथिई – ‘Can u spare just a week, outa ur life? (तिमी आफ्नो जीवनबाट एक हप्ता छुट्याउन सक्छौ?)’ प्रश्न गाह्रो होइन, तर कुन हिसाबले छुट्याउने भनेकी हो? बुझिएन ।

‘How do you want, that to be spared? (तिमी कसरी त्यो छुट्टिएको चाहान्छौ?)’

थाहा नै नपाई कन बिस्तारै मीत्रताले या सम्बन्धले नाम लिन थाल्दै थियो, तर, निश्र्चय नै उक्त नाम छुट्टिएर आउँथ्यो चलनचल्तीबाट, किनकि, समीर बिवाहित थियो र हङ्गकङ्ग भौगोलिक हिसाबमा बैँककबाट टाढा थियो । उनीहरुबीच प्रेम थिएन र हुन सक्ने आधार भएता पनि ‘नर्मल’ थिएन । एक-अर्कोले कुराकानी मन पराउँथे, अवसर मिले साथ पनि, तर त्यो साथको स्थायित्व भने पक्कै हुँदैनथ्यो र गर्नको लागि प्रयास आफैमा बेकार थियो । यो दुबैलाई राम्रैसँग थाहा थियो ।

‘Let’s live together whole life in one week, for and ever! (सँधै-सँधैकै लागि सारा जिन्दगी एकहप्तामा बाँचौँ सँगै ।)’

मन न हो! वास्तवमा रमाइलोहरु ‘झवाम्म’ पसेको थियो उसको मानसिकताभरि । What’s the heck! के नै बित्छ र! उसले नयाँ बाटोबाट फेरि दोहोर्‍याएर सोँच्न थाल्यो । किट्टी हदै ज्यादा उत्साहित भएकिथिई । समीरले स्वीकारिसकेपछि, बैँककको बसाइ, त्यसभित्रका अवस्था, मान्यता, शर्तहरु अनि त्यसपछिका आ-आफ्नै सँसारका बारेमा व्यापक छलफल गरिएको थियो । सातदिन, दुबै, सबैबाट मुक्त भई शाश्वत आफूमा हुनु पर्ने र उक्त पलहरुमा, एक-अर्कोप्रति पूर्ण समर्पित हुनु पर्ने प्रतिज्ञा गरिए एक-अर्कोसँग ।

जीवनमा त्यसपटक उत्साह, साउनको झरी जसरी मनका अन्तर-कुन्तर भिजाउने गरी अनायासै दर्किएको थियो । योजनाका तयारी दुबैबाट हुँदैथियो । समीरलाई बाराम्बार किट्टीको, उसले भन्ने गरेकी Hidden Desire! (लुकेको इच्छा) ले नबुझिने गरी भावुक बनाउने गर्थ्यो – ‘I want you to feel me, while walking on my streets by my side! (मेरा गल्लीहरुमा मसँग हिँड्दै, तिमीले मलाई अनुभव गर भन्ने चाहान्छु ।)’

Bangkok

त्यही हप्ताभित्र बैँककको एयरपोर्टबाट समीर बाहिर निस्किरहेको थियो, एउटा सानो ब्याग र हातमा चकलेटको प्याक लिएर, जे होस् निर्क्यौलमा । उपाय सजिलोसँग हात लागेको थिएन । उक्त वार्तालाप पछि पनि लामो ‘च्याटिङ्ग’, लामो फोन-वार्ता आदि भएपछि हात लागेको पहिलो उपायलाई, झम्टेसरी समातेपछि, त्यसैलाई नछोडी यसरी ‘थाई एयरवेज’ बाट हङ्गकङ्ग छोडेकोथियो उसले र पुगेकोथियो नीतान्त, नौलो, सर्वथा अपरिचित ठाउँ, पूर्ण भिज्ञ भई नसकेकि व्यक्तिको भरोसामा ।

आगमन कक्षमा मानिसहरु प्रशस्तै थिए । कोही हात हल्लाउँदै थिए, कोही अँगालिइँदै थिए । समीर असमञ्जस अनि केही अन्योल थियो, तर मनका भावनाहरुलाई लगभग नियन्त्रण गर्दै अगाडि बढ्दै गयो र ‘सरसरती’ चारैतिर आँखाहरु घुमाउन पनि थाल्दथ्यो । धेरैबेरसम्म पनि कतै कहीँ किट्टी जस्ती हुन सक्ने केटी उभिएकि देखेन उसले । ऊ अगाडि बढ्दै गयो र देब्र्रतिरको लहरमा रातो गुलाफको एक झुप्पा फूल हल्लाउँदै ऊ भएतिर हेरेर हाँसिरहेकी युवतीलाई देख्दा एकपटक नीरिह भावले ‘घुटक्क’ थुक निल्यो भन्दा अतिशयोक्ती हुँदैनथ्यो, अवश्य नै ।

जति ज्यादा प्रयास गरेको भए तापनि समीर सजिलैसँग ‘नर्मल’ देखिइन सकिरहेको थिएन । किट्टीले रिजर्व गरेकी कारमा बसेर एयरपोर्टलाई धेरै पर छोडिसकेको थियो समीरले किट्टीसँगै । डिसेम्बर महिनामा पनि बैँकक, रोटी सेकाउन मिल्ने तावा जसरी तातिएको थियो, ‘एसी’ नभएको कारको सीसाबाट तातो वाफहरु हावासँग, सँगैकी किट्टीको गोरो गालासँगै उसको आफ्नो गालालाई पनि मुसार्ने गर्दथ्यो ।

किट्टीको हातबाट रातो गुलाफको झुप्पा लिँदा, वास्तवमा उसले हीनतावोध गरेको थियो । किट्टी, उसले कल्पना गरेकी भन्दा राम्री, कोमल र धेरै नै ज्यादा सम्वेदनशील भएकि पायो उसले । गुलाफको रँग पोखिएको गालालाई अझ सिन्दूरे पार्दै, उसका आँखाहरु खुम्चिन्थे घरि-घरि, सशरीर अनि सुकोमल किट्टी साँच्चै नै कोपिला देखिन्थिई ।

समीरलाई अझै प्रष्टै याद छ कि, त्यो दिन कार पार्कतर्फ जाँदै गर्दा एयरपोर्टमा, किट्टीले फूल र समीरले चकलेट आदन-प्रदान गर्दा दुबैका हातहरु ‘थर-थर’ काम्मिरहेका थिए र प्रशस्तै हड्बडाएका थिए । कारभित्र बसेपछि, किट्टीले उसको ठेला परेका साह्रो र खस्रो हत्केलामा आफ्ना कोमल हातहरुले सुम्सुम्याउँदै गर्दा मात्र ऊ बिस्तारै खुल्न सकेको थियो । मनभित्र का असजिलाहरु, कारको झयाल भएर भित्र छिरेको तातो हावाको लहरहरु सँगै बाहिरिँदै थिए अर्कोतर्फको झ्याल हुँदै, अनि उसको मन मस्तिष्कका झ्याल ढोकाहरुबाट पनि ।

KISS

केही बचेको या अड्केको औपचारिकताहरु, किट्टीले उसको हत्केलामा चुम्बन गरेपछि ‘स्वाहा’ भएको थियो ।

केही बचेको या अड्केको औपचारिकताहरु, किट्टीले उसको हत्केलामा चुम्बन गरेपछि ‘स्वाहा’ भएको थियो । ऊ मनभित्रका कुना-काप्चाहरुबाटै कृतज्ञ भयो, धन्य भयो । उमेरले पत्याउन नसकिने नारीत्व र भावुकता बोकेकि किट्टीलाई, हातका इसाराहरुले औँल्याएर देखाउँदै गएकि दृश्यहरुको व्याख्याहरुबाट मात्र मनन नगरी, नजिकैको उसको कौमार्य साथ, पर्फ्यूम्को मन्द बास्ना र बेला-बेलाको स्पर्शहरुबाट आत्मसात् गर्दै गयो समीर । ‘ट्राफिक जाम’, वाहनहरुका लश्करहरु र ‘हर्न’ का एकोहोरो ‘बैरागी हल्लाहरु’ र गर्मीको तापमा पनि त्यो यात्रा लम्बियोस्, नरोकियोस् झैँ लागिरहेथ्यो उसलाई ।

दिन भर्खरै शुरु हुँदैथियो । किट्टी आधा घण्टामा र्फकन्छु भनी गएकिथिई बाहिर उसलाई होटेलको रुममा पुर्‍याएर ‘फ्रेश’ भई तल पर्खने भन्दै । चीसो पानीमा नुहाएपछि ऊ चँगाझैँ हलुङ्गएिको थियो । तयार भएर होटेलको लबीमा पुग्दा किट्टी अर्कै हल्का ड्रेशमा एउटा सानो झोला लिई आउँदैथिई । उक्त झोलालाई रिसेप्शनमा नै छोडेर उसको हात समात्दै छिटो-छिटो देब्रेतिरबाट पुरानो आबाक् युनिभर्सिटीतिर लाँदैथिई । बाटोभरि वाहनहरुका चालकहरु एकोहोरो ‘हर्न’ बजाउँदै, जस्तो, अत्यधिक गाडीहरुको चापको रुवाइ रुँदैथिए । हिँडेको केही मिनेटभित्रै पसिना उत्पादन गर्न सक्ने घाम अविछिन्न शीरैमाथि फैलिएकोथियो । किट्टी आफ्ना सानो-सानो गोडाहरुलाई बेस्सरी चलाइरहेकिथिई चप्पु चलाए जस्तो नदीमा । केही ज्यादा असजिलिएरै पनि समीर पछ्याइरहृयो, र किट्टीको आकाशसरी फैलिएको उत्साह देखेर मीठो पनि मान्दै गयो । बाटोमा कतै भिड भेटे किट्टी उसलाई आफ्नोपछाडि पारेर, जस्तो, जोगाउथिई र कहिले उसलाई अगाडि सारेर आफै जोगिन्थिई । त्यर्सथ, त्यँहा, रमाइलो नै थियो, एकै पल तब पनि, आफ्नो हातबाट उसको हात हटाउन्नथिई पसिनाले हात चिप्लै भए पनि ।

केही खुल्ला सडकको पेटी-पेटी हिँडेर, फलफूल पसलहरुको सम्मुख पर्ने ‘टेलिफोन-बुथ’ हरुमध्यको छेउको बुथमा पुर्‍याई, समीरलाई भित्र पसेर उसलाई अनुभव गर भन्दै ऊ जुश किन्न अगाडिको पसलमा गएपछि, समीर यन्त्रस्वचालित बुथभित्र पसेथ्यो तब । केही बुझन, नियाल्न या पढ्न, जे होस् गम्भीर भएर भित्र कोचियो । हेर्नुलाई के नै थियो र, एउटा झुण्डिरहेको फोन बाहेक! ताजा हावा पटक्कै थिएन जस्तो भन्न मिल्ने गरी चारैतिरबाट ढाकिएको थियो उक्त बुथ । बस्ने ठाउँ पनि नभएको बुथभित्र असजिलोसँग उभिएर चारैतिर हेर्दै गयो समीर । उसको नाम पनि लेखिएको रहेछ, थरि-थरिका अरु नामहरुसँगै । किट्टीलाई पनि बोल्दै र केही कोर्दै गर्ने बानी रहेछ । बुझनु नै के थियो र भित्र, गर्मीले ‘तप-तप’ चुहिनु बाहेक । ऊ चुपचाप धैर्यशील, वाफिएर असजिलासँग बुथको एकातिर एउटा कुनामा अढेसिएर भित्तामा लेखिएको नामहरु हेरिरहृयो । किट्टीले आफूसँग ल्याएकी जुश पिएपछि अमृत पिएको अमृतानुभव भयो उसलाई । उसको निधारको पसिना पछ्दैथिई किट्टी, उसँगै बुथको बाहिर उभिएर केही बेरपछि ।

‘Did you always use to call me from this booth? (यही बुथबाट तिमी सँधै मसँग बोल्ने गर्थ्यौं?)’

किट्टीले समीरको निधारबाट अविरल तप्किरहेको पसिनाहरुलाई ‘टिस्यू पेपर’ ले पुछ्दै स्वीकारोत्तिमा टाउको तल-माथि गरी । समीर त्यसपछि धेरैबेर एकोहोरो हेरिरहृयो बाटुलो गोरो मुहार, भरिलो ओजपर्ण भावुक आँखाहरु, सुकोमल अधरहरु!

‘You are crazy, you know that? (तिमी पगली हौ, तिमीलाई थाहा छ?)’

‘Yes, I know. (हो, मलाई थाहा छ ।)’

हाँसेकिथिई किट्टी, तर समीर भने हाँस्न सकेको थिएन । एकै मिनेटमा पनि ‘खलखल’ पसिना आउने, त्यस्तो खोर जस्तो बुथमा उभिएर किट्टी उसँग घण्टौँ बोल्दथिई । कति दुख्थेहोलान् उसका गोडाहरु! कति फुल्थे होलान् उसका श्वास-प्रश्वास! अनि कति वाफिन्थिई होली, भित्र बुथमा, पसिना-पसिना भएर! गीत पनि त गाउने गर्दथिई, समीरले फर्मायस् जो गर्दथ्यो हङ्गकङ्गबाट । त्यतिबेला उसले केही साथीहरुलाई पनि सुनाउँथ्यो कि ‘आईडीडी-कल’ मा कसैले त्यति टाढाबाट गीत गाएर सुनाउँछे भन्दै किट्टीमाथि रमाइलो गर्ने गर्दथ्यो । समीर आफूलाई अति दोषी, लुच्चा, फटाहा अनि लफँगा आदि ठान्नथाल्यो । उसको मुटुभरि, दया अनि टीठ उम्लिएर आयो किट्टीको लागि । बिचरी! बेकारमा समय नष्ट गर्दैछौ!

‘She really deserves much more better than me. (उसले मभन्दा अति धेरै अशल पाउनुपर्छ)’ सोँच्यो समीरले ।

धेरैबेर एकोहोरो किट्टीलाई हेरिरहृयो उसले, तर, केही भन्न सकेन । अपराधवोध जो हुँदैथियो उसलाई, उसको मनभित्र । किट्टीले त्यसपछि उसलाई अरु ठाउँतिर डोर्‍याउँदै लगी । किट्टीले धेरै पटक सोध्दा पनि बताएन कि उसले के सोँच्दैथियो । ऊ व्यथित भएको थियो, त्यो किट्टीले पक्कै पनि बुझेकिथिई र त्यसलाई हटाउनको लागि, कहिले यो, कहिले त्यो, एउटा कुशल गाइडले झैँ वर्णन गर्दै गई । आफैमा अपरम्पार बैँककको गल्ली, सडक, चौक हिँड्दै, ‘टुकटुक’ चढ्दै गर्दा कतिखेर मनभित्र का व्यथा जस्तो गहु्रँगोपन हराएछ, समीरले थाहै पाएन ।

केही घण्टापछि, ‘झमक्क’ साँझ नपर्दै क्षितिजमा बाँकि रहेको सिन्दूरे लाली नहराउँदै समीर किट्टीसँग, एउटा लामो तर साँगुरो डुँगामा बैँककको प्रसिद्ध ‘फ्लावर मार्केट’ मा सुस्तसँग वहँदैथियो । लहरका लहर, फूलैफूल बेच्न राखेका डुँगाहरु खियाउँदै आउनेहरुमाझ, मुस्कुराइरहेको थुप्रो अनुहारहरुबीच, शान्तसँग, सगर्व, किट्टीसँगको साथ हुँदा मनभरि-भरि कविता भएको थियो ।

‘शावर’ लिई सकेपछि कतिखेर निदाए, कहाँ निदाए अनि कसरी… केही थाहा भएन ।

समीरले सानी केटी साउनीबाट एक झुप्पा गुलाफको रातो फूल किनेर किट्टीलाई दिएको थियो, अलिकति स्टाइलले । किट्टी मनभित्रबाटै खुलेर मुस्कुराएकि थिई । सिन्दूरे साँझ, लज्जालु, गोरी, काखमा रातो फूलको झुप्पा राखेकी किट्टी र उक्त फूल, एक अर्कामा पूरक भएका थिए । एउटा जीवन्त कविता, एउटा मीठो छन्द, उज्यालो चित्र झैँ किट्टीलाई मन्त्रमुग्ध भएर समीर टोलाए जस्तै हेरिरहृयो, किट्टीको रसिलो, भरिलो आँखामा डुबिरहृयो र सायद किट्टी पनि । वरिपरि आइमाई केटाकेटीहरु हाँस्दै, केही भन्दै गरेकाथिए, जुन भाषा किट्टी पूरै बुझ्दथिई र रमाइलो मानेर समीरको छातीको ‘साख्खे’ बन्दैथिई । माझी बूढाले बिस्तारै डुँगा अघि बढाउँदै लग्यो । जिन्दगीभरि नरोकियोस् जस्तो लाग्ने त्यो पल, जीवनभर साथ रहोस् जस्तो लाग्ने त्यो बसाइ, उसको हृदयभित्र जमेर रहृयो ।

पछि ‘फ्राया नदी’ भएर ‘रोयाल टेम्पल’, अनि त्यसपछि ‘रिभरबस’ चढेर ‘वल्र्ड ट्रेड सेन्टर’ पुगी तातिएको परिवेशलाई चीसो वियरले चिस्याउँदै, उक्त ‘ओपन म्युजिकल रेस्टरेण्ट’ मा बसी एक-अर्काकोलागि गीत फर्मायस् गर्दै उक्त पलको गहन प्रेम साट्यो होला समीरले किट्टीसँग । परम्परा बेग्लै तर रमाइलो भने साझा!

त्यस साँझ अबेर गरेर रात परेपछि अनि रात पनि अबेर गरी ढल्न थालेपछि, ‘लखतरान्’ भई होटेलमा फर्केका थिए उनीहरु र ‘शावर’ लिई सकेपछि कतिखेर निदाए, कहाँ निदाए अनि कसरी… केही थाहा भएन ।

बिहानीपखको चीसो हावा र चीसो र्स्पर्शले व्युझियो समीर एक्कासी । पर्दा खोलिएको झयालबाट बाहिर धेरै परसम्म स्पष्ट देखिने, ढल्न लागेको बिहानीमा, आँखाभरि चुम्नझैँ आउने हरियाली, मन्दिरहरुका स्वर्ण जलपका गजूरहरु, अग्ला बिल्डिङ्गहरु अनि हल्का सुरु भइसकेको सडकको जीवनरत दैनिकीहरु र स्निग्ध वातावरणले लोभ्याएको उसको मनस्थितिमा, ‘टावल’ को ‘र्‍यापिङ्ग’ मा आफ्नो सुकोमल, सुडौल शरीरलाई बेह्रेर लामो केशको झट्काले पानीका छिट्टा हान्दै गरेकि किट्टीको मधूर हाँसोले हड्बडाएर समीर वाथरुम पस्यो र किट्टीको ‘गुन्गुनाहट’ भित्रबाट सुनिरहृयो । अरु पहिलेका क्षणहरुभन्दा त्यतिखेर उसलाई किट्टीको स्वर मीठो लागेको हो या किट्टी नै मीठोसँग गुन्गुनाउन यसपटक थालेकि हो, यो उसले बुझनै सकेन ।

ऊ वाथरुमबाट निस्केपछि, अन्य थप केही घण्टाहरुमा आबद्ध समयभित्र भत्किएका सँकोचका पर्खालहरु, नैसर्गिक दूरीका फाटोहरु र बन्दै चुलिइँदै गरेका या बनेका अनेकौँ भावनाका, पारस्परिक अभ्यर्थनाका, प्रणयका, विश्वासका, आत्मानुभूतिका व्यञ्जनाहरुको मुल्याँकन या वर्णन, त्यसपछि, अव्यक्त किसिमले उनीहरुका आँखाहरुबाट व्यक्त हुने वार्तालापहरुमा गर्न सकिन्थ्यो । यसरी दुईबाट एक हुनुको अलौकिकपनलाई एकाधिकार गर्दै होटेल छाडेर बैँककदेखि दुई घण्टा टाढाको समुन्द्री किनार पतैया जानको लागि रिजर्व कारमा चढिसकेकाथिए केही समयान्तरमा समीर अनि किट्टी । पूरा यात्राभरि किट्टीले आफूलाई लहरा र समीरलाई हाँगो बनाएकिथिई ।

सफा नीलो समुन्द्रमा मोटरबोट, मोटरबाइक, सफा र शान्त पतैयाको सडकमा भाडाको जिप कुदाउँदै घुम्दै अनि घण्टौँसम्म समुन्द्री किनारमा बसी नरिवल पानी पिउँदै सूर्यास्तको मजा लिँदै, मध्य-मध्य रातसम्म, युवती नै युवतीले भरिने बजार डुल्दै कति चाँडो पाँचरात बिते, हेक्का जस्तो रहेन । कुनै त्यस्तो पल उसलाई याद छैन, जब ऊ एक्लो परेको होस् ! कुनै त्यस्तो हिँडाइ याद छैन, जब उसको हातमा किट्टीको हात नरहेको होस्!

‘घर’ भरपर्दो मायाको आश्रय

Hugging

समीरलाई यसरी श्रीमतीसँग नै हिँडेने रहर हन्थ्यो । रोमान्टिक पलहरु, समीरको आँखैअगाडिबाट बितेका थिए ।

एक रात, बादलको घुम्टोभित्र र बाहिर गर्दै गरेको जून आकाशमा, अनि उसको ठीकअगाडि, निहुरिएर, आफ्नो केशलाई मुहारबाट हटाउनका लागि, कानमा चेप्दै गरेकि किट्टीको उज्यालो स्वरुपलाई जून मानेको भन्दा, किट्टीले उसले गरेको प्रशँसा सम्झेर अँगालेकिथिई, विभोर भई सुँक्सुँकाउँदै । वस्तुतः उसले त्यतिखेर आफ्नी श्रीमतीलाई सम्झिरहेको थियो र निश्चय नै गल्तीवोध भइरहेको थियो उसलाई । तर, गर्न पनि ऊ के गरोस्? जहाँ ऊ खुशी देख्थ्यो, त्यँहा उसकी श्रीमती बिरक्तिन्थिई र जसरी ऊ रमाउन खोज्दथिई, त्यसरी समीर आँतबाट नै छट्पटिन्थ्यो, तर पनि, दाम्पत्य जीवन चलिरहेकै थियो, ‘साथ’ जीवनसँग हिँडिरहेकै थियो ।

समीरलाई यसरी श्रीमतीसँग नै हिँडेने रहर हन्थ्यो । एकदिन, उसले हङकङको एउटा आइलैण्डमा रात त्यतै बिताउने गरेर श्रीमतीसँगै गएको थियो । गेस्टहाउस बाहिर चीसो-चीसो हावा तर मन्द र न्यानोपन पर्याप्त भएको साँझ थियो, समुन्द्रको किनारै-किनार पर-परसम्मन् हातमा हात राखी, समुन्द्रको छालहरुसँग जिस्किँदै हिँड्ने जोडीहरु प्रशस्तै थिए । कति ताजा हुन सकिन्थ्यो । उसले भन्यो, कर गर्‍र्‍यो अनि बिन्ति पनि, तर उसकी श्रीमती ‘हुन्न, चीसो लाग्छ, बिरामी परिन्छ’ भनेर न त आफू, न उसलाई नै जान दिई । रोमान्टिक पलहरु, समीरको आँखैअगाडिबाट बितेका थिए । बार्दली बाहिर पनि उसलाई उभिन दिएकि थिईन । बार्दलीको ढोका अनि पर्दा लगाउँदा पनि, कतै काप भएर छिर्ने समुन्द्री छालको उत्श्रृङ्खल आवाजहरु साक्षी राखेर, शेष रात, कोल्टे फेर्दै शौहार्दतामा बिताएको थियो उसले त्यतिबेला, किनकि, उसकी श्रीमतीलाई ओछ्यान बदले निन्द्रा जो पर्दैनथ्यो ।

यो सोँचाइ या सम्झना, उसको अपराधवोध गरेको मनस्थितिलाई ‘जस्टिफाइ’ गर्न आएको भने थिएन उसको मानसपटलमा, मन आफैमा स्वतन्त्र विचरण गर्न जो चाहन्थ्यो । जीवन एकपटकको लागि हन्छ, र जीवनभरि नै रहरहरुलाई खुम्च्याएर राख्न गाह्रो हुन्छ । यी सातदिन बाहेकका जीवन त उसकी श्रीमतीलाई छँदैछ नी! किट्टीसँग बाचा गरे जसरी, सातदिन सबै बिर्सिदिनु पर्छ उसले ।

होटेलको कोठामा, किट्टी कुनै गीत गुन्गुनाउँदै आफ्ना कोमल हातहरुले उसलाई ‘मसाज’ गर्दैथिई र ऊ नचाहँदा-नचाहँदै सुस्ताएर निदाइसकेछ त्यसैबीच ।

सातदिने मधू-सप्ताहको अन्तिम रात, दिनभरिको बैँककको मन्दिरहरु, म्युजियम, राजाको दरबार, प्रसिद्ध सपिङ मल, फाइट क्लबहरुको भ्रमण अनि किट्टीको एकहूल केटी साथीहरुसँग ‘फेयरवेल-डिनर’ गरिसकेपछि, उसले घरदेखि युनिभर्सिटीसम्म हिँड्ने गरेकि गल्ली लगभल मध्यरातमा, कहिले दौडँदै, कहिले उफि्रँदै गरेकि किट्टीलाई ‘साथ’ हिँडी, जमीन छुने थकाइलाई पिठ्यूँमा लादेर वापस होटेल आइपुग्दा रातको एक बढी बजेको थियो ।

मुटुमाथि ठूलो पत्थर राखेर ‘गुड-बाइ’ भन्ने रात थियो । रातहरुका सम्झनाहरुबाट मीठो थप्नु पर्ने आखिरी रात थियो । रातका प्रहरहरु क्रमबद्ध साँगुरिँदैथिए । किट्टी रात आँखामा नै कटाउनुपर्छ भन्दै थिई, जाँगरहरु दैलोमै, जस्तो, दम तोड्दैथियो । तातो वाफिएको रातमा, तर चीसो पानीले नुहृवाएर वाथरुमबाट निक्लेपछि किट्टीले मगाएर राखिदिएकि तातो तर धेरै कडा कफी पिउँदै, फूलझैँ ‘सुकोमलिएर’, कहिले वाथरुमबाट निस्किएलि किट्टी भनी उत्साहित समीर, शरीरभरि नशा-नशामा जाँगर पलाएको प्रष्टै अनुभव गर्दै थियो तब । केहीबेरपछि, सँधैझैँ टावलले शरीरलाई ‘र्‍याप’ गरेर मुस्कुराउँदै किट्टी ‘पर्दापण’ जसरी गरी समीरसामु र बार्दलीको अलि परको आकाशमाथि बादलको घुम्टोभित्र, बेला-बेलामा चिहाउँदै गरेको जून साक्षी राखी प्रणयमा एकाकार भइसकेपछिको पहिलो एकान्तमा, समीर उही जून बरण्डाबाट, चुरोटको धूँवा उडाउँदै अनि नियाल्दैगयो । आज रातको अन्तिम प्रहरमा, अन्तिम पटक हेर्दैथियो दुबै जूनलाई समीर ।

जुनेली रातमा, बैँकक शान्तसँग सुतेको जस्तै भेटिन्थ्यो, त्यो कुनाबाट । आँखाहरु ‘छामछुम’ गर्दै रातको नीरवतामा ऊ पर-परसम्मन् नजर पर्‍याउँदै थियो । सके जति आँखाको ‘जुमलेन्स’ ले तानेर, त्यसलाई ‘फोकस’ मा ल्याई मन-मस्तिष्कमा साँच्न खोज्दै थियो, बैँकक र अनुभूतिहरुलाई सँग-सँगै । किट्टी, कतिखेर पछाडिबाट आएर उसलाई अँगालिसकिछे, जस्तो, भुलेछ केही पल त्यहाँ । त्यसपछि आँलिँगनवद्ध, एकतमास, चुपचाप, दुबै अनन्त शून्य र शान्तितिर हराइरहे, नियालिरहे ।अनायासै, बिना कुनै प्रसँग, किट्टी केही बोल्न खोजी । उसको आवाज पर कतैबाट आएझैँ लाग्ने तन्द्रामा थियो समीर ।

‘I can do anything for you. (म तिम्रोलागि जे पनि गर्न सक्छु ।)’

‘Really? (साँच्चै?)’ अविश्वास गरेको होइन, केही बोल्नै पर्ने भएर सायद ।

‘Ya… Now, I can do anything for you. (साँच्चै नै । म यतिखेर तिम्रोलागि जे पनि गर्न सक्छु ।)’

‘Anything? (जे पनि ?)’

‘Yes, anything! I can even die for you jumping from here. (हो, जे पनि । म यहीँबाट तिम्रोलागि हाम्फालेर मर्न सक्छु ।)’

अचानकसँग झसङगियो समीर । किट्टी वास्तवमा अति नै गम्भीर लाग्दथिई र दृढताको वजन, उसको गम्भीरतामा गहु्ङ्गोसँग झुलेकोथियो । यो उसले प्रष्ट आत्मसात् गर्‍यो, किट्टीको हृदयको भित्र पुगेर, तर कुरालाई हल्का पार्न मुस्कुराउँदै भन्यो –

‘Can you cry for me? (के तिमी मेरोलागि रुन सक्छौ?)’

‘Yes. (सक्छु ।)’ उस्तै दृढता!

‘Then, go ahead! (त्यसो भए रोएर देखाऊ ।)’

रमाइलै हो, समय कटाउनलाई । किट्टी, त्यसपछि, कुनै चाइनिज गीत गुन्गुनाउनथाली । मार्मिक हुनुपर्छ उक्त गीत! वरिपरि मर्महरु छरपस्टिएझैँ बोझिल हुँदै गएको थियो वातावरण । किट्टी उसलाई बेस्सरी छातीमा अँगालेर गुन्गुनाउँदैथिई लगातार । समीर भने चुपचाप, अर्धमूदित, मग्न हुँदै भुलिरहृयो । पर कतै लाटोकोसेरो उड्यो कि… कुनै चरा, एउटा रुखबाट अर्कोमा भर्खरै उडेर पुगेको थियो ।

आधा घण्टाभित्र, किट्टी साँच्चै नै खुलेकिथिई, आफ्ना समस्त सम्वेदनाकाशमा । ‘आई लभ यु…’ ‘आई लभ यु…’ भन्दै रुँदै गई त्यसपछि । आश्चर्य! वास्तवमा समीर शव्द बोल्न सकिरहेको थिएन, फगत सहानुभूति उग्घ्राउँदै थप-थपाइरहृयो लगातार र धेरै मुस्किलले किट्टीलाई बेडमा ल्याएर थप-थपाउँदै बाँकि रातको अन्तिम प्रहरमा निदाउन पुगेको थियो उसलाई पूर्ण अँगालोभित्र राखेर ।

Love End

त्यसबेला सखारै उसले बैँकक छोडेकोथियो र अब आजिवन त्यस प्रकारको र त्यस प्रकारले एक-अर्काको जीवनमा नआउने भनी अर्को बाचा गरेर ओभानो आँखामै बिदाइ लिने-दिने गरिएको थियो ।

समीर घरभित्र पस्दा उसकी श्रीमती खाना नखाईकन अझै परि्खरहेकि पायो । आधा रात बित्न थाल्दा पनि ऊ उस्तै गरी, खाना नखाई टेलिभिजनमा कुनै कार्यक्रम हेर्दै पर्खिरहेकिथिई । समीर भित्र पस्नासाथ सोधिहाली – ‘किन नी, यति अबेर? फोन पनि नगर्ने! ल, हात मख धोऊ । मलाई साह्रो भोक लाग्या’छ ।’

मनभित्र-भित्रै श्रीमतीलाई यसरी भोकै कुर्‍र्‍याउन परेकोमा खेद प्रकट गर्दै श्रीमतीको ‘साख्खे’ भइदियो त्यसपछि ।

राम्रै भएछ, यसरी डेढ वर्षपछि भेटिएकि किट्टी र उसका फुटबल मैदान जस्ता खुल्ला निमन्त्रणाहरुलाई पन्छाएर घर आएकोमा । भोली किट्टी बेइजिङ्ग जाँदैछे र यसपाली उनीहरु, पक्कै पनि सदा-सदाकैलागि छुट्टिएकाछन्, समीर यस्तै सोँच्दैछ, किनकि, पहिलो पटक, उसले आफूलाई आफ्नै अडानमा उभ्याउन सफल जो भएकोथियो ।

त्यसबेला सखारै उसले बैँकक छोडेकोथियो र अब आजिवन त्यस प्रकारको र त्यस प्रकारले एक-अर्काको जीवनमा नआउने भनी अर्को बाचा गरेर ओभानो आँखामै बिदाइ लिने-दिने गरिएको थियो । तर, अर्को तेस्रो महिना नबित्दै, किट्टीको लाखौँ अनुरोध र उसैको सम्पूर्ण खर्चको निमन्त्रणाले गर्दा समीरलाई फेरि अर्को हप्ताकोलागि बैँकक पुर्‍याएको थियो र त्यसपटक एक-अर्कोबाट छुट्टिइँदा कडा प्रतिज्ञा, सदाकैलागि छुट्टिएको भनी गरेर छुट्टिएको करिव वर्षको अन्तरालमा यहीँ हङ्गकङ्गमा नै केही रात बिताएकिथिई किट्टीले समीरसँग र यस्तो प्रकृया अरु दोस्रोपटक पनि दोहोरिएकोले डेढ वर्षअघिको हङकङको अन्तिम भेटमा सल्लाह अनुसार सम्बन्ध दुबैले टुटाएको भए तापनि, अचानक, आज फेरि समीरले किट्टीलाई हङकङमा नै उस्तै रहरहरुका साथ उसकैलागि उभिएकी भेटेको थियो ।

अब, किट्टीले, समीरको मोह सदाकै लागि त्याग्नुपर्छ । ऊ आफ्नो हुनेवालाको वफादार हुनुपर्छ । यस्तै कामना गर्दै, कतिखेर समीर श्रीमतीको न्यानो अँगालोमा निदाउन पुगेछ, थाहा भएन । मनभित्रको एउटा असीम आनन्द जो छाएकोथियो र अर्को आनन्द, हजारौँ गल्लीपछि, ‘घर-फर्केको’ अनुभव जो भएको थियो उसलाई । ‘घर’, भरपर्दो मायाको आश्रय जो थियो । ‘ढिलै भए पनि दूरुस्तै’ थियो समीर त्यस अर्थमा यहाँ । मृगको तृष्णाले झैँ तृषित र आहत पारेको मन श्रीमतीको ओसिलो सद्भावले तृप्त बनेको थियो ।

273
Lonely Moon

बेलायतमा नेपालीको पीडा

आश्चर्य! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु, कथनीका लयहरूलाई सुसेल्ने जमर्को गर्दै कलम समाउँछु… एउटै लाइन पनि अगाडि सर्दैन । आश्चर्य!

बेलायत पछिल्लो समयमा नेपालीका लागि निक्कै सुन्दर भविष्यका लागि निक्कै राम्रो गन्तव्य स्थल मानिएको छ । त्यसैले लाखौँ-लाख रुपैयाँको लगानी गरेर उच्च शिक्षाभन्दा बढी कमाइका साथै यहाँ स्थायी रूपले बसोबास गर्न सकिन्छ कि भन्दै पढ्नका लागि आउने होनहार विद्यार्थी हुन् या आफ्नो लाहुरे जीवनमा कमाइ गरेर बाँकी रहेको जीवनलाई सम्पन्नताबाट परिभाषित गर्नेगरी तिनबाट बनाइएका ठूलाठूला महललगायत अन्य चल-अचल सम्पत्ति बेचेर युरोपियन जीवनशैली बाँच्न यहाँ भित्रिएका भूपू लाहुरेहरू हुन् या हङकङ, अस्ट्रेलिया, अमेरिकाबाट बेलायती पक्षलाई आत्मसात् गर्न बसाइँ सरेर आउने स्थानान्तरित आप्रवासी हुन्, तिनका साझा परिणामहरू मूलतः एक-अर्कादेखि खासै पृथक् छैनन् ।

Nepali Society

म यही भावावेशलाई हरफहरूमा छन्द दिने प्रयत्न गर्छु, कलम भने सर्दैन । दुख्नुको नियति भएको सिर्जनशीलता त्यसै जम्दो हो, सम्झन्छु ।

यूकेको रोम्फोर्डस्थित एक अपायक कुनाको सानो घरमा बसेका बूढा भुवनबहादुर र उनकी श्रीमतीको साथमा रहेको, भर्खरै वयस्क भएको छोरोले कामै नपाएर आफन्त हुँदै परिचितहरूसँग पैसा सापटी (दानस्वरूप) माग्दै हिँडेको प्रसङ्ग सम्झन्छु । लाहुरेजीवन पार गरेपछि, पूर्व रामेछापबाट काठमाडौं बसाइँ सरेका भुवनबहादुर यूके आएपछि यूकेको लगभग पाँच वर्षको बसाइँपछि आफ्नो समष्टिगत जीवनयापनमा योभन्दा खस्केको हालत नभोगेको स्वीकार गर्छन् । काउन्सिल ट्याक्स, टेलिफोन, बिजुली-पानीलगायतका खर्चहरूसहित घरको मोर्गेज धान्न, तिनलाई तिनको वृद्ध भत्ताको सानो आयले निक्कै नै अघि धौ-धौ पारिसकेको हो । सम्पन्नताको सपना लिएर भित्रिएको यो परिवारलाई बेलायती समय पक्कै नै स्वप्निल लागेन होला । तिनका अन्य पीडाहरूको पोको यता म भने फुकाउन सक्दिनँ । त्यस्तै, अल्डरसटमा नेपाली बाजेबजैहरू ‘सोसियल बेनेफिट’ को सानो आयमा मरणासन्न नियति भोग्दै लखरलखर गल्ली, चौक, चौबाटोमा झोक्राएर हिँडेका प्रसङ्गहरू सम्झन्छु । जीवनको उत्तर्रार्धमा खै, कुनचाहिँ अवधिलाई सिँगार्न खोज्दा हुन्? ती यहाँका गल्लीहरूमा विगतका भर्पाई चाहिरहेछन् । अस्थिरता अनि अन्योलले ग्रसित तिनका मन-मस्तिष्कहरूमा उक्त अवधिमा, देश कत्तिको दुखेको हुँदो हो!

म यही भावावेशलाई हरफहरूमा छन्द दिने प्रयत्न गर्छु, कलम भने सर्दैन । दुख्नुको नियति भएको सिर्जनशीलता त्यसै जम्दो हो, सम्झन्छु । जीवनमा सफलताको पछि लाग्नेहरू र जीवनमा सफलताबाट पछाडि छाडिनेहरू यूकेमा प्रवासिएर बाँच्ने क्रममा भने लगभग हरेक बिन्दुमा एक-अर्कामा पूरक हुन्छन् । कतिलाई त्यसरी यहाँ कसरी जीवन दुखिरहेको छ भन्ने थाहा नै नभएको हुन सक्दछ भने कतिलाई के दुख्दै छ भन्ने नै याद नरहेको हुन सक्दछ, तर जति नै ढोङ रचाए पनि ठूलो परिमाणमा आक्रान्त मन बोक्नेहरू लस्करै सर्वत्र भेटिन्छन्, तर तिनका दुखाइउपर लय हाल्न साँच्चै नै गाह्रो रहेछ, म सम्झन्छु । किनकि, यही जीवनको यस रेखालाई भविष्यको कुनै अज्ञात बिन्दुसम्म तान्ने अभीष्टले गत वर्ष मात्र म यहाँ ल्याइपुर्‍याइएको हुँ । आफ्नो पीडालाई लेख्नै गाह्रो!

Nepali Girl

सन्दीपचाहिँ हातैबाट फुत्कने भयो छोरो भन्दै त्यसलाई नेपाल लगेर तीन-चार महिना पिटिपिटी सही लाइनमा ल्याएपछि मात्र यूके ल्याउनुपर्छ कि भन्ने सोच राखेको प्रसङ्गको सम्झना गर्दछु ।

‘छोरो हातैबाट फुत्कन थालेकोजस्तो लाग्यो मलाई त । केही भन्नै हुँदैन, मुखमुखै लाग्छ, पिट्नका लागि हात उठायो भने, पुलिसलाई फोन गरिदिन्छु भन्छ । के गर्ने होला? सम्झाएर सम्झिने होइन, सङ्गतले त बिगार्दै छ उसलाई । नौ-दश वर्षको उमेरमा त छोरोको हाल यस्तो छ भने ठूलो भएपछि यसले मलाई लात्तै हानेर खेद्छ कि क्या हो?’ मित्र सन्दीप यसरी आफ्नो अटेरी छोरोको गुनासो गर्दै थिए । सन्दीपले आफ्नो पारम्परिक बाल्यकालको सम्झना र छोराको बाल्यकालको यथार्थबीच तादात्म्यता मिलाउन सकेको छैन । आधा नेपालको बाल्यकाल भोगेको सन्दीपको छोराले यूकेको बाल्यकाल, केही ज्यादै बुझ्ने भएपछि भोगेको छ । अभिभावकबाट दिलाइएको घरायसी नेपाली शिक्षाको खुन्दुस निकाल्दै होला ऊ यहाँ । सन्दीपचाहिँ हातैबाट फुत्कने भयो छोरो भन्दै त्यसलाई नेपाल लगेर तीन-चार महिना पिटिपिटी सही लाइनमा ल्याएपछि मात्र यूके ल्याउनुपर्छ कि भन्ने सोच राखेको प्रसङ्गको सम्झना गर्दछु । के आँगनअघिको फूलबारीभरि फूल रोप्नु भनेको यस्तै-यस्तै हो त? सन्तान-सुखको अवधि सीमित हुँदैन र यो मानेमा? प्रश्नहरू मनभरि तेर्सिएका छन् ।

पूर्वीलन्डनमा बस्ने श्यामसुन्दर, बढेको छोरो कुटेको आरोपमा कतिपटक पुलिस स्टेसन लगिएका छन्, त्यसैकारणले तिनको पुलिस-रेकर्ड खत्तम भएको छ । यूपीएसका ड्राइभर बिल्लीले आफ्नो एक वयस्क भइसकेको छोरोलाई आफूसँग जाइलाग्न आएको झोकमा लगभग दुई वर्षअगाडि घरको मूल ढोकाबाट गलहत्याइदिएका थिए, फलस्वरूप कानुनी रूपमा सदाकै लागि उनले आफ्नो सम्पत्ति तथा नाताबाट नै उक्त छोरोलाई बेदखल गरेका थिए । यही समयमा उक्त प्रसङ्गलाई सम्झन्छु । फेरि पनि लाग्छ- सानोमा ‘मर्ला भन्ने पीर’ लाग्ने सोही बच्चाले ठूलो भएपछि ‘मार्ला भन्ने डर’ मान्नुपर्ने अवस्थितिको सोच आततायी स्वरूपले मानसिकतामा उदय हुन्छ, र मनन गर्छु ।सन्तान सुख आखिर कतिन्जेलसम्म हो त?

Lonely Moon

दुःखहरू सर्वत्र छन्, पीडाहरू वातानुकूलित लाग्ने खालले वर्तमान मानवमनमा अभ्यस्त किसिमले क्यामोफ्लेग भइसकेका लाग्छन्, खुसी पो खोज्न गाह्रो ।

शून्यता भने सघन रूपमा व्याप्त छ, मनमस्तिष्कभरि । एक नीरवताको तीखो ध्वनि फैलिएको झैं लाग्छ । बाहिर हेर्छु । जिन्दगी भनेको रमझम हो भनेजस्तै भान दिने गरेर संसार चलेको लाग्छ र त्यही रमझमभित्रै मिस्सिन्छु, नीरवताको चर्को ध्वनि लुप्त हुँदैन । सँगैको पवको ढोकाअगाडि बूढो छिमेकी टोनी खडा हुन्छ, हातमा जगभरिको बियर लिएर । ‘…कस्तो राम्रो दिन, आऊ खुसियाली मनाऔँ ।…’ म उसको भनाइ र उसको उत्साहलाई आत्मसात् गर्ने प्रयत्न गर्छु । दिनभरिको कामको थकाइ, मानसिक उत्पीडन आदिले क्लान्त भएको शरीरलाई मनले पनि साथ दिन छाडेको लाग्छ । बढ्दो महँगी र संशयशील प्रवासी जीवन, खासगरी मजस्तालाई पाच्य भइसकेको छैन । ठूलो परिमाणमा हप्तौँभरि घोटिएको कामको दामबाट सरकारले ट्याक्स काट्छ र टोनीजस्ता अभ्यस्त स्थानीयलगायतका वृद्धहरू, वृद्धभत्तालाई पवहरूमा बियरको चुस्कीमा उडाउँछन् । टोनीको उत्साहलाई मेरो वैराग्यले पछ्याएको छ, त्यसैले ‘फेरि कुनै दिन रमाइलो गर्ने’ भन्दै म अगाडि लागेको हुन्छु । यस्तो सम्झना र प्रसङ्गले मेरो मनभित्रको सिर्जनशीलतालाई कुत्कुत्याउन सकेको छैन । एकै हरफहरू पनि लेख्न सकेको छैन यी विषयहरूमा ।

दुःखहरू सर्वत्र छन्, पीडाहरू वातानुकूलित लाग्ने खालले वर्तमान मानवमनमा अभ्यस्त किसिमले क्यामोफ्लेग भइसकेका लाग्छन्, खुसी पो खोज्न गाह्रो । हुर्किएको छोरोलाई पिटेकोले गर्दा उही छोरोकै उजुरीमा पुलिसद्वारा बन्देज पाएको मित्र श्यामसुन्दर छुट्टै बस्न वाध्य भएका छन् । श्रीमती तथा हुर्केको सन्तानको साथ बुढ्यौलिँदै गएको श्यामसुन्दरको जीवनले गुमाएको छ भने वयस्क भइसकेर पनि काम नगर्ने अनि आमाबाबालाई वर्षौंदेखि सताइरहने छोरोको खुवीले गर्दा नेपालका सम्पन्न उक्त परिवार यहाँ अहिले तितरबितर अनि निरीह हुँदै छन् । छाक टार्न पनि मुस्किल पर्ने हालतमा श्यामसुन्दरका श्रीमती र छोरो रहेका छन् । यस्ता कति छन् कति, सम्पन्नता अनि उच्च भविष्यको आशामा नेपालदेखि पलायन भएका नेपाली विशृङ्खलित परिवारहरू! तिनका दुर्दशाका बारेका बखान लेख्दा जहिले पनि हृदयको एक छेउ चसक्क घोच्दछ । प्रणयका दिनहरूमा तिनले साझा रूपमा सजाएका तिनका सपनाहरूले अहिले तिनलाई पक्कै पनि धारेहात लगाउँदा हुन्! सपनाका महल सजाउनू, प्रेमका गीतहरू गुनगुनाउनू कत्ति हास्यास्पद लाग्दा हुन् तिनलाई! किन सुसेल्नु यी व्यथाहरूलाई र किन लेख्नु यी चोटहरूलाई! त्यसको निचोड पनि हुनसक्छ, शून्यताको नीरव चर्को ध्वनि व्याप्त छ मनमस्तिष्कभरि । एकै हरफ पनि सार्न सकिएको छैन ।

194
Mira Dhakal

यी साना विभेद

‘अब हेर्नु छ, पहिरो कसको निधारमा जान्छ, तिम्रो निधारमा कि तिम्रो भाइको?’ पहिलोपटक यस्तो सुन्दा मैले केही बुझिनँ । बुझ्थेँ पनि कसरी? तर यो प्रश्न आमाको पेटमा बहिनी हुँदा मलाई बारम्बार सोधियो । यस प्रश्नको अर्थ र तात्पर्य खोज्न बाध्य भएँ । कसलाई सोधूँ थाहा थिएन । अघिपछि आफ्ना सबै कुरा आमासँग बताउने म त्यो बेला भने आमासँग सकभर कम बोल्थेँ । किशोरावस्थामा आउने मानसिक र शारीरिक परिवर्तनलाई आत्मसात् गर्नमा नै संघर्षरत मलाई यस्ता जिज्ञासा आमाको कारणले आएका हुन् भन्ने पनि लाग्थ्यो ।

त्यसैले होला, त्यति बेला म आमासँग एकदम दूरी राख्थेँ । बुझक्की आफन्तको प्रश्नको उत्तर बताइदिने कोही नपाएपछि मैले एक दिन भाइलाई सोधे । बल्ल थाहा भयो, यो प्रश्न त उसलाई समेत पटकपटक सोधिएको रहेछ । उसले पनि केही भेउ पाउन सकेको रहेनछ । दिदीभाइ भएर निकै बेर बुद्धि लडाएपछि बल्ल ठूलीआमालाई सोध्न जाने अक्कल आयो । उहाँबाट थाहा पायौं, म र भाइ दुवैजनालाई गरिने यो प्रश्नको अर्थ आमाबाट अब हुने बच्चा छोरा हुने कि छोरी हुने भन्ने पो रहेछ । छोरा जन्मे मेरो भाइको निधारमा पहिरो जाने अर्थात् भाइको दायरा साँघुरो हुने अनुमान रहेछ । अनि छोरी जन्मेको खण्डमा मेरो निधारमा पहिरो जाने भन्ने रहेछ ।

पहिरो भनेको त प्रकोप हो । एउटा जन्मलाई कसरी प्रकोपसँग तुलना गर्न सकिन्छ? आज पनि त्यो प्रश्न सम्झेर सिरिंग भइरहन्छ । मेरो बहिनी जन्मी, उसले मेरो निधारमा पहिरो त हैन बरु उमेरमा मभन्दा धेरै सानी भएर पनि मेरी साथी भएकी छ र अतुलनीय खुसी दिएकी छ । मेरा छिमेकका दाइभाउजू वैवाहिक जीवनमा एकदमै खुसी र सन्तुष्ट हुनुहुन्छ । दाइभाउजूको बीचमा परिवार, करिअर, समाज, साहित्य, संगीत, खेलकुददेखि प्रविधिसम्मका विविध विषयमा हुने खुला छलफलले मलाई सधैं आनन्दित तुल्याउँछ । कलेजको पढाइ नसक्दै बिहे गरे पनि पढाइमा सम्झौता नगर्ने भन्ने सिद्धान्तमा अडिग उहाँहरू एकले अर्कोलाई गर्ने सम्मान र सहयोगको म सदा प्रशंसक हुँ । उहाँहरूले करिअरको जग बलियो बनाएर मात्र बच्चा जन्माउनका लागि केही समय पर्खिने सोच बनाउनुभएको रहेछ । विवाहको पहिलो वर्षभित्र नै बच्चालाई बम्पर उपहारजस्तो अपेक्षा गरिने समाजमा विवाहका केही वर्षसम्म बच्चाको सम्बन्धमा मौन उहाँहरूलाई सल्लाहहरू आउन सुरु भयो । छिटो गर, पछि गाह्रो होलाजस्ता सामान्य भनाइबाट सुरु भएका सल्लाह पछि ‘कठैबरा फलानाको त सन्तान नै भएनन्’ भन्ने टिप्पणीमा परिणत भए ।

Annapurna Post

ससाना लाग्ने यी टिप्पणी नगरेर, मुफतमा सल्लाह नदिएरै विभेदका पर्खाल भत्काउन सकिन्छ र सुन्दर समाज बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यानचाहिँ कहिले जान्छ?

सामाजिक सञ्जालमा कसैको बच्चाको जन्मदिनमा वा जन्म भएकोमा शुभकामना दिँदासमेत जवाफ आउने रहेछ, ‘तपाइंलाई हामीले बधाई दिन कहिले पाउने ? ‘ फोटोग्राफीको सोखिन उहाँले कहिलेकाहीँ कुनै बच्चाको फोटो फेसबुकमा राख्दा आउने कमेन्टको लर्को रोक्ने पछि उहाँले लामो लामो विवरणसहितको क्याप्सन राख्नुपर्ने भयो । ‘यो फोटो यस्तो समारोहको हो, सबैलाई नझुक्किन हार्दिक आग्रह ।’

दाइलाई कसैले अचुक ओखती, झारफुक, प्रविधिको प्रयोगदेखि तान्त्रिक मान्त्रिकको सहयोगसमेत सुझाउँदा रहेछन् । कोही भने उहाँहरूलाई स्वदेशी डाक्टरसँग परामर्श लिने सल्लाह दिँदा रहेछन । कसैकसैले त विदेशी डाक्टरकहाँ जाने, टाढा नगए पनि दिल्लीसम्म पुग्न अनि अरूलाई चैं घुम्न गाको भन्नेजस्ता पूर्ण योजनासहितका सुझाव दिँदा रहेछन् ।

दुई वर्षअघि दाइभाउजू दुवैजना पढाइ सकेर विदेश जानुभयो । अहिले उहाँहरूको एक वर्षको बच्चा छ । भाउजू भन्नुहुन्छ, ‘जिन्दगीमा सोधिएका हजारौं प्रश्नको एकमुष्ठ जवाफ अहिले यही बच्चा लाग्छ ।’

सामाजिक सञ्जालमा यदाकदा मात्र लेख्ने दिदीले केही हप्तापहिले स्टाटस राख्नुभयो, ‘मेरो जीउ, मेरो पाठेघर, मेरो अधिकार । तिमीलाई किन सरोकार ? मन लागे बच्चा जन्माउँछु, मन नलागे जन्माउँदिनँ । मलाई बच्चा पाऊ भन्ने तिमी को?’ । बुझ्न गाह्रो थिएन, उहाँ पनि सन्तानसम्बन्धी विज्ञ शुभचिन्तकहरूका निःशुल्क सुझाव र सल्लाहले आजित भइसक्नुभएको थियो ।

अक्सर मलाई निजी विषय र चौतारीका प्रसंगमा भिन्नता छुट्ट्याउन सुझाउनुहुने तथा आफू पनि सामाजिक सञ्जालमा व्यक्तिगत जीवन पोख्न नचाहने दिदीले एक्कासि सार्वजनिक रूपमै मौनताको बाँध टुटाउनुका पछाडि बकम्फुसे सुझावहरूको हात छ भन्ने प्रस्टै हुन्छ ।

मलाई कक्षा ७ मा सामाजिक शिक्षा पढाउने मिस सम्झन्छु । घरको जेठो छोरासँग विवाह भएको थियो उहाँको । ‘कस्तो बलियो निधार रहेछ, चारजना देवरकी भाउजू, आमापछिकी भाउजू बहुत सम्मान पाउँछ ।’ मिसको बिहे पक्का भएदेखि टोलछिमेकले उहाँको चर्चा गरे । उहाँकी सासूआमाले बुहारी भित्याउँदा भन्नुभयो— घरमा पाँच छोरामात्र थिए, तिमी आयौ, बुहारी हैन छोरी पाएँ । हुन पनि उहाँलाई सबै देवरले सम्मान नै गरे । उहाँको पहिलो छोरी नजन्मने बेलासम्म साह्रै माया गर्नुभएछ । दोस्रोपटक मिस दुई जीउकी हुँदासम्म पनि नातिको आशमा सासूआमाले उहाँलाई माया नै गर्नुभएछ । तर, दोस्रो बच्चा पनि छोरी भएपछि सानी छोरीकोे स्याहार गर्नु त परै जाओस् मुखसम्म हेर्नुभएनछ ।

मिस छोरी लिएर माइत आएको थाहा पाउनेबित्तिकै फुरर्र उड्दै उहाँकोमा पुगेकी म उहाँको कुरा सुनेर गहभरि आँसु र मुटुभरि पीडा लिएर घर फर्केँ ।

मेरो दाइ र भाउजूको एउटा नानी छ । एउटा सन्तानलाई असल शिक्षा र संस्कार दिएर आफ्नो अभिभावकीय दायित्व पूरा गर्ने हो भन्नेमा ढुक्क हुनुहुन्थ्यो । घरमा पाहुना बनेर गएका एक आफन्तले १० वर्षकी छोरीको अगाडि उहाँलाई यतिका वर्ष छोरा त के दुई सन्तानसम्म नदिने श्रीमतीको मायामा रुमल्लिएर नबस्न र अर्को बिहे गर्न सुझाव दिएछन् । यस्तो अप्रत्याशित सल्लाहले दाइ अवाक् हुनुभएछ । केही बेरको मौनतापछि यस्तो कुरा आफ्नो कल्पनामा समेत नभएको र एक सन्तानले नै आफूहरू परिपूर्ण भएको जानकारी दिनुभएछ ।

Mira Dhakal

दुई हप्तापहिले उसले फोन गरी, ‘एउटा सुनाउनैपर्ने कुरा भन्न’का लागि । एक निमेषमा भनेर सकी, ‘त्यो उहिले मलाई भविष्यमा छोरी पाउली भनेर रिजेक्ट गरेको मान्छेको त दुईवटा बच्चा रहेछन्, छोरीहरू ।

लिभिङ रुममा टेलिभिजनमा कार्टुनमा मस्तजस्तो देखिएकी छोरीले त्यो वार्तालाप सुनेकी रहिछन् । भोलिपल्ट आफस् जन्मेकोमा ‘सरी’ भनिछन् बाबालाई । उनलाई दाइले सम्झाउनुभएछ— उनको उपस्थितिले उहाँहरूको जीवनमा दिएको खुसीको कुनै लेखाजोखा नै छैन भनेर ।यो घटना मलाई सुनाउँदा भाउजूको एउटा आँखामा सन्तानको माया र अर्को आँखामा जीवनसाथीले आफूलाई दिएको साथको तृप्ति प्रस्ट झल्कन्थ्यो ।

केही वर्षपहिले साथीको बिहेको कुरा चल्दै थियो । स्कुल पढाउने ऊ बिहेको लागि राखिने सबै सर्तमा उत्तीर्ण भई । केटा र केटी भेटाउने काम भयो । केटा ठिकै लाग्यो भन्थी । तर, एक्कासि कुरा रोकियो । बिहे रोकिनु त खास अनौठो कुरा भएन, तर कारण चैं बिलकुल नौलो थियो । चार दिदीबहिनीमध्ये ऊ कान्छी हो । उसकी आमाले छोरा नजन्माएजस्तै उसले पनि छोरा नजन्माउली कि भन्ने अनुमान गरेछन् केटा पक्षले । त्यही आधारहीन अनुमानका कारण रोकिएको रहेछ उसको बिहे । यस्तो सोच भएका मान्छेसँग जोडिनुभन्दा पहिले नै छुटकारा पाएकोमा मक्ख भएको सुनाई । केही समयभित्र नै साथीको बिहे भयो अर्कै केटासँग । अहिले उनीहरूको दुईवटा बच्चा छन्, छोरा र छोरी ।

दुई हप्तापहिले उसले फोन गरी, ‘एउटा सुनाउनैपर्ने कुरा भन्न’का लागि । एक निमेषमा भनेर सकी, ‘त्यो उहिले मलाई भविष्यमा छोरी पाउली भनेर रिजेक्ट गरेको मान्छेको त दुईवटा बच्चा रहेछन्, छोरीहरू । तर मलाई त उसकी श्रीमतीको माया र पीर पो लाग्यो त । अँ, साँच्चि, उसले आफ्नो श्रीमतीलाई त माया गर्छ होला नि । यो बहानामा ‘रिजेक्ट’ त नगर्ला नि ? ‘मेरो मस्तिष्कमा एउटा प्रश्न सलबलाइरह्यो । आफ्नै सन्तानलाई कसैले लिंगकै आधारमा कसरी ‘रिजेक्ट’ गर्न सक्छ कि सक्दैन?

दसैंमा मसँगै टीका थाप्न हिँड्छे बहिनी । उसले पोहोर साल सोधी, ‘दिदी, हजुरलाई पहिले दिइने आशीर्वाद र मैले अहिले पाउने आशीर्वाद उस्तै होला । तर, मलाई हजुरलाई दिइने आशीर्वाद त कस्तो ‘इम्पोज्ड’ गरेको जस्तो पो लाग्छ । कुनै बेला मेरो निधारमा पहिरो ल्याउने सम्भावना राखेको मेरी सानी बहिनी समेतले मिहिन ढंगले नियालेकी रहिछ आशीर्वाद बीचमा रहेको फरकलाई । उसले थपी, ‘मैले नि भोलिपर्सि पाउने आशीर्वाद हजुरले अहिले पाउने खालको हुने होला है । आशीर्वाद त मान्छे अनुसारको पो हुँदो रहेछ ।’ विगतका धेरै दसैंका आशीर्वादलाई सम्झेर निष्कर्षमा पुगेँ ।

विशेषगरी ठूलाबडाले दिने आशीर्वादमा समेत यस्तै मनशायका आशीर्वाद प्राप्त हुने रहेछ । आशीर्वादको स्तर र घनत्व प्रत्येक साल बढ्ने गरेको पो रहेछ, ‘अनुशासित हुनु । ज्ञानी हुनु । जेहेनदर हुनु । नामी हुनु । राम्ररी पढ्नु । फस्ट डिभिजन ल्याउनु । क्याम्पस पढ्ने भयौ, ल बाबै ख्याल गर्नु नि, अर्काको घरमा जाने जात पो हौ त । पढ्नेका जमाना छन्, बीए पास गर्नु । सरकारी जागिरे हुनु । अब आफ्नो खुट्टामा उभिनु । लौ अब, पढाइ सक्यौ, जागिर छ, हामीले टीका लगाएर जिम्मा दिन पाइयोस् ।’

मलाई दिइने आशीर्वादभन्दा मभन्दा चार वर्षमात्र ठूलो दाइलाई दिइने आशीर्वाद अलिक फरक हुने रहेछ, ‘कुलको इज्जत राख्नु । बाआमालाई पाल्नु । सबैको हाइहाई नै भइराख्नु । चार लोकमा यश फैलाउनु । सहरमा घडेरी किन्न पुग्ने गरी कमाउनु । आफ्नो बास बनाउनु । मोटरसाइकल त छ क्यारे, अब गाडी किन्ने मेसो गर्नु ।’

दिदी र भाउजूलाई दिइने आशीर्वाद भने ‘घर राम्ररी खानू । परिवार रिझाउनू ।’ कतैकतै आफ्नो खुट्टामा उभिन र पढाइ पूरा गर्नसमेत हुन्थ्यो । बच्चा नजन्माएकालाई भने सबै ठाउँमा अटुटजस्तै आउने आशीर्वाद ‘अर्को पालि नातिनी र नाति काखमा लिएर आउनू’ भन्ने हुन्थ्यो । पहिलो सन्तान छोरा हुनेलाई ‘ल अब ढुक्क भयो ।’ अनि पहिलो सन्तान छोरी हुनेलाई, ‘ल ठिकै छ; लक्ष्मी आई, अब भाइको पालो ।’ पहिलो सन्तान छोरी जन्मेको ठाउँमा ‘एउटा भाइ त चाहियो नि’ । तर पहिलो सन्तान छोरा भएकोलाई ‘जमाना महँगो छ, यसैलाई हुर्काए त सक्किगो नि’ । लगातार दुई छोरा जन्माउनेलाई साहै्र भाग्यमानी र छोरीहरू जन्माउनेलाई चैं ‘भनेर भएन, भगवानले दिएन’ भनिँदो रहेछ ।

यी केही प्रतिनिधि प्रसंग हुन् । यस्ता बगे्रल्ती प्रसंग र अनुभव हाम्रा वरिपरि नै छन् । यसरी अरू कसैको व्यक्तिगत जीवनका नितान्त निजी विषयवस्तुमा सार्वजनिक टिकाटिप्पणी गर्न के जायज हो? हाम्रो सोच, विचार र मान्यता अरूको दिमागमा थोपर्ने, बेतुकका प्रश्नको भारीले अरूको खुसीलाई थिच्ने छुट कसले दियो? यी सवालमा स्वयं उसले न हामीसँग सल्लाह मागेको अवस्था बाहेकमा उसलाई हाम्रा विचार थोपर्नु कहाँसम्म उचित हो? कसैले सोधोस्, नसोधोस्; राय मागोस्, नमागोस्— सल्लाहको फेहरिस्त दिने हामी को हौं?

हामीलाई प्रश्न, जिज्ञासा वा सल्लाहजस्ता लाग्ने भनाइका पछाडि विभेदका गहिरा खाडलहरू उभिएका छन् । एकातर्फ यी टिप्पणीले विभेद कायम नै राखिराखेका हुन्छन् भने आफ्नो जिन्दगीका महत्वपूर्ण सवालबारे आफैंले निर्णय गर्न पाउने वैयक्तिक अधिकारको उल्लंघन पनि गरिरहेका हुन्छन् । ससाना लाग्ने यी टिप्पणी नगरेर, मुफतमा सल्लाह नदिएरै विभेदका पर्खाल भत्काउन सकिन्छ र सुन्दर समाज बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यानचाहिँ कहिले जान्छ?

– मिरा ढकाल
Source: Annapurna Post

205
Mero UK News

उकेराले थामेको खाली मन

यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तराल भने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योल इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन गएको हुन सक्छ ।

उनीहरुले भर्खरै मलाई जमिनमा पछारेकाथिए र एउटा उनीहरुकै लागि कर्णप्रीय अट्टहासमा मग्न ती हूल वर्णहरुमा, जमीनमा थला परेको मेरो अवस्थामा निष्चेस्टता भेटेर अनायासै अर्धविराम चिन्ह टाँस्सिएका हुनसक्छ ।

दोब्रिएर जमीनभन्दा तल झुक्न नसकेको मेरो अवस्था ‘प्यारालाइज्ड्’ थियो । आखिर धुलो पो हुुन पुगेछु म, आफ्नैहरुको आँखामा । सपनाको बलौटे फाँटहरुमा एउटा सायद सुन्दर भविष्यको खाका तयार पारेर कोरिएका ती एपिटाफहरु कति चाँडै यथार्थको दमनरुपी छालले पखालिसकेछ, थाहै भएन । मुठीभित्र टम्म पारेर सँगालेका जिजीविषाका अभिलेखहरु आफ्नै स्वामित्वमा रहेको भ्रम, पलभरमा नै हात खोल्दा पो थाहा भयो… थरि–थरिका दिग्भ्रमित रेखाहरु र जिन्दगीको ठोक्करले पारेका ठेलाहरु बाहेक केही रहेनछन्, र उक्त खाली हातहरु अहिले जमीनको धूलोमा आवाद बनेकोछ ।

चोट महसुस गरिन्छ तर शब्दमा उतार्न गाह्रै हुन्छ । दुखाइलाई परिवर्तित मुहारको असहजपन या विभिन्न किसिमको आर्तनादबाट सायद छुट्याउन सकिएला, तर मलाई विश्वास छ म स्लेट भएको छु । धुजा–धुजा परेको पेटिकोट लगाउने महिलालाई सायद छोप्ने नै चाहना हुन्छ होला, तर मेरो चोटले त्यो सीमा पनि पार गरेकोछ, सायद चोटैभन्दा माथि या मानवीय सम्वेदनाभन्दा बैग्लै खेपेकोछ होला ।

ukera

कता–कता थुम्थुम्याऊँ? कुन कुुनातिर सुम्सुम्याऊँ? निचेष्ट म उनीहरुको कार्यको समन्वयको प्रतिक्षामा छु, किनकि त्यो सिर्फ अर्धविराम थियो पूर्ण विराम होइन । म मानिसहरुको घृणाको पराकाष्ठालाई भोग्ने तयारीमा छु, किनकि कृपाले दुखेँ, मायाले जलेँ, दयाले छचल्किएँ, आँतसँगै आँखाबाट । हेरुँ, आज आफ्नैहरुको घृणाको तयारी र यसको पराकाष्ठाहरु!

‘म-यो कि क्या हो?’ टाढैबाट जस्तो गरी आवाज सुनियो । स्वरमा जिज्ञासासँगै खिन्नताझैँ लाग्थ्यो । सायद निरास पो छन् कि! म सजिलैसँग चल्मलिने प्रयत्न गरेँ र कसैको कसिलो लात देब्रे कोखामा पाई दोब्रिएँ । आफैलाई अनौठो लाग्यो, ‘आह!’ सम्म निक्लिएन मुखबाट । मस्तिष्कमा उसको हँसिलो मुहार अनि भरिलो गालाबीचका खोपिल्टाहरुको सजीव तस्वीर छाइरह्यो । आँखाहरुको परेली नचाउँदै कुरा गर्ने उसको बानी मलाई औधी मन पर्छ । एकदिन प्रसँगवस मैले भनेको थिएँ – ‘तिमी हाँस्दा बन्ने त्यो गालाका खोपिल्टाहरु मलाई असाध्यै मन पर्छ, ती नै मेरा जीवनका नीधिझैँ लाग्छ, चोटका मलहमझैँ लाग्छ’ । उसले फेरि प्रदर्शन गर्दै भनेकिथिई – ‘हुन्छ, जब तिमीलाई चोट लाग्छ, म नरोएर रमाई–रमाई हाँसिदिन्छु’ ।

मुश्किलले आँखा खोल्न पुगेँ र उसलाई आफ्नो दाजुको काँधमा हात राख्दै मुस्कुराइरहेझैँ देखेँ र छुट्याउन भने सकिनँ, मलाई त्यो गालाका खोपिल्टाहरु मलहम बनिरहेछ मनको घाउको या चुक!

एउटा समय थियो, जीवन फुलझैँ फुलिरहेकोथियो । मधूमासका दिन–रातहरुले जीवन फलाउँदै गएको थियो । म गीत गाउँथेँ र ऊ सुन्ने गर्दथिई । एउटा मीठो सरगम र न्यानो तालीले एउटा अवस्थाको शूभारम्भ भने भएको थियो । किनकि एउटी गरिमामय प्रशँसकको न्यानो प्रेममय सदभावनामा म आफूलाई निर्लिप्त पाएँ र समर्पित भएँ यस बिरानो मुलुकमा उसको भरोसामा, उसको आडमा ।

ताली बजाउनेहरुको लहरमा उभिएर ऊ उस्तै गरी मुस्कुराउँदथिई र उसका कोमल–कोमल हातहरु यसैगरी एकअर्कामा ठोकिन्थे जसरी सायद यतिखेर, उसका दाजुहरुले मलाई दण्डित गरेकोमा समर्थन जनाउँदैहोली ।

एउटा भावुक मन तरलिँदै गएको थियो । उसको मायाजालमा र उसको सुन्दरतम मुहारको कवी पनि बनेकोथिएँ । एउटा दह्रो आड पाएपछि आफ्नो बिगतलाई सिँगार्ने ध्याउन्नमा म चलायमान भएँ उसैगरी नेपालीहरुको जमातमा, यहाँको फाँटहरुमा । फेरि एकपटक भन्दैछु, जमीनभन्दा मुनि झुुक्न नसकेर घस्रिईँदै, धेरै स्वाभिमान, अभिमान र वीरताको उँचोपनलाई निहुराएर जीवनरत भएँ ।

एउटा त्यो आवेग, जन क्षणिक आकर्षणद्वारा, सतही प्रलोभनद्वारा अभिभूत हन्छ, त्यो मूठीको बालुवा पो बन्दोरहेछ । ममा सायद ऊ यस्तै आवेगले नजिकिएकिथिई र उसैगरी कपको चिया जस्तै चिस्सिईँदै गई अनि म भने एउटा अपच्य र तीतो स्वादमा रुपान्तरित हुँदै गएँ । ऊभन्दा बाहिर पनि मेरो आफ्नै दुनिया थियो र उक्त सँसारको लागि केही गर्न पर्ने कर्तव्यमा प्रयत्नशील हुनुुपथ्र्यो । यसैगरी यहीँ एउटा खाडल तयार भएछ ऊ र मेरो सान्निध्यबीच अनि उक्त खाडल एउटा पार गर्न नै नसक्नेगरी फैलिँदैगएछ एउटा नियमितताबिना । म जोडिईन खोज्दा–खोज्दै टुक्रिन पो पुगेछु ।

Nepali

अतः ऊ आफुहरुसँगै क्रमबद्ध हुने क्रममा ठोस एवँ जटिल बन्दै गई र मलाई प्रष्टसँग थाहा छ, ऊ उक्लन खोज्दा–खोज्दै दिन–प्रतिदिन झन् तल झर्दै गएकिथिई । हो, स्वभावतः म लोग्नेमान्छे र उसको लोग्ने अनि उसमा निर्भर, त्यसैले इर्ष्या तथा जलनको पीडाले मर्माहत भई केही सम्झाउने प्रयत्नमा शक्ति पो प्रयोग गर्न पुगेछु र त्यो नै मेरो ठूलो क्षमारहीत भूल हुन गयो । यसै त मेरो दैनिकीले र मेरो बेफुर्सदिले ऊ आफूमा भएको सौन्दर्यमा निरसता सम्झेर फलाम बनी तातिएकिथिई, र त्यसमा राम्रो प्रहार मेरो विरोधले गर्‍यो र ऊ एउटा ठोस आकारमा परिणत भई उक्त शास्वत मनसँगै पनि ।

म उसलाई पगाल्न खोज्दा–खोज्दै दिन–प्रतिदिन हेय हुँदै गएँ । एउटा मिहिन आस्थाको पनि शेष नरहेर आज उसैद्वारा एउटा व्याकूल अवसाद भएँ, विषाक्त उपस्थिति भएँ र यसरी अब गिराईँदैछु कि सायदै फेरी उसकोअगाडि शिर उठाउन सकुँला ।

अतः एउटा विषाक्त र विवस परिस्थितिबीच लाचार, निरुपाय अनि बेवारिसे भई आफ्नैहरुको सौहार्दताले जमिन भइरहेकोछु । लाचारीको चरम सीमामा शिरनत गर्दै माफी मागेर ती बिगतका सपनाहरुलाई थाँती राख्ने बिचारको मेरो मनमा र उक्त भावले उद्देलित भएको शरमको आगोले पोलेर राँकिएको अनुहारमा उसको झट्कारो स्तरको लोप्वाले अचानक छिद्र भई तीर्ण–तीर्ण हुुन पुगेछु । ती उही सुकोमल हातहरु थिए, जसद्वारा ऊ ताली बजाई मलाई प्रेरणा दिने गर्दथिई, जसलाई म सगर्व चुम्वन गर्दथेँ, मेरो जीवन बनाईदिने हातहरु भनेर र जसले बार–बार मेरो मुहार सुम्सुम्याइरहन्थे ।

थाक्नुको सीमाभन्दा बढी थाकेर म बद्हवाश भास्सिन पुुगेँ, मेरो हालात र सपनाका चरमचुलीबीच । लामो वक्तव्यझैँ गाली र अन्य तथानामका बोली बचनहरुको सम्प्रेषण गरिसकेपछि ऊ उनीहरुसँगै पलायन भई सजिलैसँग र म मनभित्रको भुइँचालो या टाइफूनले आक्रान्त भई मूक भएकोछु । मलाई थाहा छ, मेरो सामु अब अनगिन्ति प्रश्नहरु उभिइनेछन्, र केही समयभित्र म यो प्रवासबाट धपाईनेछु र ती भविष्यका स्वप्निल दृश्यहरु, एउटा भयँकर स्वरुपमा एकाकार भएर मतिर यसरी कालो अन्धकार फैलाउँदै लम्कनेछ कि म सम्पूर्णतः अनि स्वतः विलीन हनेछु ।

दृश्यहरु उस्तै सँधैकै जस्तो लाग्छन् । म यो कुनाबाट उस्तै देख्दैछु । मानिसहरु आइरहेछन्, गइरहेछन् गन्तव्यतिर सायद! हाँसिरहेकाछन्, रमाइरहेकाछन् । कोलाहलले व्याप्त यो शहरको यो कुनामा मेरो मनभित्रको रोदन, एउटा क्षणिक र सतही हावाभित्रै हावा भएको छ ।

यसरी आँषिक लडिरहेकोछु यो कुनाको भुँइमा… सबै आ–आफ्नै धुनमा मस्त भई चलायमान छन् । म उस्तैगरी विखण्डित् मन मस्तिष्कसहित बेवारिशे टोलाइरहन्छु । …पर–पर… कतै टाढा… कतै समाधानको आशामा र सहानुभूतिको प्रलोभनमा । …एउटा घिस्रिएरै पनि बाँच्न सकिन्छ कि भन्ने आशामा… निरन्तर अनि रिरुत्तर… उदास अनि उजाड… ।

205