बरु धावा नै बोल न प्रिय ! -नीर खड्का

2
86

बरु धावा नै बोल न प्रिय !
के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ?

म हारेर लम्पसारिएको होइन,
पराजिताको पराधीन मानसभित्र
लम्पसार पर्नुको नियति भोगेको पनि होइन,
त्यो त समय हो, जसको चक्रपथमा
नियतिले यो पल्ट फड्का खाएको छ ।
भावनाको अकर्मण्यताले गर्दा
विवश म निराधर पल्टेको हुँला, सायद !
बरु घोँची नै हाल न भालाले प्रिय !
के तिखार्छौ आँखाहरु व्यर्थै ?

मैले गुमाएँ नै के जो तिमीले पायौ ?
तिमीले गुमाएका थियौ नै के, जो मैले पाएथें ?
तिमीले पिएकै पानीबाटै अँजुली मैले भरेको हुँ,
तिमीले लिएकै श्वाससँगै हावामा म पनि बाँचेको हुँ,
के पोख्छौ रिस हिजोको,
मायाको रत्ति नै बाँकी नराखी ?
विभेदको खाडल गहिरिँदै छ झन्-झन्,
बरु धकेली हाल न एकै लप्कामा प्रिय !
के छेउ-छेउमै अड्काई राख्छौ व्यर्थै ?

मसिनो झोँक्का हावामा पनि पातहरु थर्थरिन्छन् भने,
के दोष थोप्छौ हावालाई -पातकै मजबुतिमा नहाँसी ?
जमीन नै मुनि त झुक्न सकिँदैन नि !
उही झुक्नुको पराकाष्ठाको परिणाम हो ‘वर्तमान’ ।
कतै ‘चित्’ पल्टेका छन् भने कतै छन् ‘पट्’
‘दम्भ’ घटेको छ कतै, ‘अहँकार’ बढेको छ कतै,
के अचेट्छौ कुनातिर मलाई ?
पूनरावृतिको ‘अँश’ अचेट्दै छैनौ र सँगै ?
बरु अट्टहास लगाऊ न जोड-जोडले प्रिय !
के खिसी-खिसी मुस्कुराइरहन्छौ व्यर्थै ?

बरु धावा नै बोल न प्रिय !
के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ?

About: Prakash K.C.

A nature lover who enjoys roaming around and play with camera as hobby and writes his mood, memory, experience and present social affairs across the different web portals.

Top
www.000webhost.com