बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु
यो पटक–पटकको बसाइ हो,
उठ्नुको हदबन्दी नाघेको मनमा
कुँजिएका तृष्णाहरुको बैसाखी बोक्दै
एकरत्त आफ्नै पनका अतीत सराप्ने
यो लगातारको निर्विकल्प अभ्यास हो ।

मलिन आस्थाको शेष लतारेर
सीमाको हदभित्र अझै साँघुरिंदै
बेहिसाब जोड–घटाउको
यो सानो आकारभरिको विशालता हो ।

फेंद काटेर अग्लिँदै चुलिने मनाभासभित्र
स्वच्छन्द झाङ्गिएका सत्ववोधको समावेशितामा
निराकार मथिङ्गलका मैथुनीय आवेग हो ।

यहाँ शान्तिका परेवाहरु आकासिँदै गर्दा
अर्कै माटोमा हुने रगतिलो पौरखहरु
इतिहासभित्रै ख्वै कतिन्जेल चम्कन्छन् ?
फगत, दम्भजस्तो भित्ता लगाउँदै
न्यानो आभासको अभावमा चिस्सिँदै जाने
मन्त्रणा–वोधको आवेगसँगै
यो पटक–पटकको बसाइ हो ।

नितान्त नाङ्गो मन बोकेर अपार भई,
अपराधीन बनेका आभासलाई
अराजकताको कवचभित्र आम बनाउने
उही स्वमनको उदण्डता लाग्ने,
यो पटक पटकको बसाइ हो ।

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु
विखण्डित सीमाभित्रका विशालतामा
यो आफ्नै जरा छिचोलर उम्रन खोज्ने
यो उही पटक–पटकको बसाइ हो,
यो उही लगातारको निर्विकल्प अभ्यास हो ।

-प्रकाश के.सी.