अन्यौलमा बेलायती मेरो पुस्ता -भीम बानिया

1484
3

व्यक्तिको जीवनको शुरुवात आमाको कोखबाट हुन्छ र आमा त्यसबेला जुन ठाउँमा बस्छिन्, साधारणतया उसको वाल्यकाल पनि त्यही ठाउँमा बित्छ । तर जब उसको पखेटा लाग्छ अन्त कहाँ गएर हुन्छ वा कता पुग्छ, ऊ स्वयंलाई थाहा हुँदैन । निरत्न्तर प्रगतिको खोजीमा गंगा बगेझै निरन्तर बगिरहन्छ । तर गंगाको त एउटा निश्चित गन्तव्य छ …समुन्द्र । तर मानव गन्तव्यहीन छ । उसको जन्म ठाउँ थाहा भए पनि मर्ने कहाँ र कहिले होला, थाहा हुँदैन । यो बुझाइ राख्नु पर्ने कुरो होइन । झन आजकल त पृथ्वी खुम्चिएजस्तो सानो भएकाले र संचारको चरम विकासले गर्दा त जहाँ गएर अन्त भए पनि के भयो र भन्नेहरु पनि धेरै नै भेटिन्छन् । तर पनि कोही व्यक्ति मातृभूमिबाट बाहिरिएपछि अन्त कता वा कहाँ गएर हुने होला भन्ने प्रश्न त उसको मनमा भए कै हुन्छ । किनकि ऊ आफूले कल्पना नै नगरेको ठाउँमा आइपुगेको छ, जहा उसको कोही छैन । भोलि त मातृभूमि नै फर्किने नै होभन्दा भन्दै उसको सारा जीवन बित्छ । उसले इतिहास र अतीतलाई पनि फर्केर पटक पटक हेर्छ, अझै पनि यसै, यतै, भन्ने निर्णय गर्न सकिरहेको हुँदैन र अन्यौल मै व्यस्त भई समय विताइरहन्छ ।

यो सन्दर्भ मजस्ता धेरै नेपालबाट विदेश लागि वैदेशिक नागरिकता ग्रहण गर्ने वा विदेश पलायन भएकाको अन्तिम गन्तव्य कता भन्नेमा हो । बेलायतको परिवेशमा वसेर यो लेख कोर्न लागे पनि सायद यही कथा व्यथा अन्य देशका नेपाली वासिन्दामा पनि लागू हुन्छ भन्ने मेरो ठम्याइ छ । विदेश पलायन भएको यो पुस्ताको बेलीविस्तार लगाउनुपहिला अलि कति बेलायतमा विद्यमान तीन समूहको चर्चा गर्न सान्धर्भिक होला ।

विद्यमान तीन समूहमध्य पहिलो समूह बेलायती सेनावाट निवृत्त (पेन्सन) भई नेपाल गइसकेका र पछि बेलायत सरकारले आवासीय सुविधा दिएर बेलायत आई वसोवास गर्ने जसलाई आम नेपाली जिव्रोले भत्ता खाने टोली भने पनि म पेन्सनवाला टोली भन्न मन पराउँछु । दोश्रोमा म जस्ता हंगकंगबाट आएका (जो आईडीवाला हो ?) भनेर चिनिने, माओवादीले गर्दा ज्यान खतरामा छ भनी आउने, भुटानी हुँ भनी आउने, विद्यार्थी भई आउने र उच्च प्राविधिक भई आउनेहरु वा यी जे जसरी भए पनि बेलायती पासपोर्ट लिन भ्याएका वा पाएको टोली भनेर बुझौ । तेश्रो रह्यो यी दोश्रो समूहका सन्तान यहीँ जन्मेका हुन् वा अन्य देशमा जन्मेर वाल्यकालमा नै यता आएकाहरु जसको स्कुले शिक्षा यहीँबाट शुरु भयो ।

पहिलो समूह प्राय उमेरले ६५ नाघिसकेर ९८ वर्ष सम्मका भेटिएका छन् । उनीहरुलाई बेलायती नागरिकता वा पासपोर्टको कुनै वास्ता नै छैन र जे जसरी हुन्छ, आप्mनो अधिकार बेलायत सरकारले दिनै पर्छ भन्ने, सरकारले दिन सक्ने सबै सुविधाको उपभोग गर्ने र सकेसम्म दैनिक खर्च कम गरी केही वचत गरेर नेपालमा भएका पारिवारिक सदस्यको भरण पोषण गर्ने र बस्ने छन् । उनीहरुको अन्त लगभग सबैको बेलायतमै हुने निश्चित छ, जसमा केहीले मेरो लास नेपालमै पठाइदिनु भन्छन्, बांकी सबै यतैबाट स्वर्गतिर जानेछन् सायद । अरु, उनीहरुको दैनिकीतिर नलागौ, किनकि यो कथामा त्यो पाटो पर्दैन । तेश्रो समूह वा नेपालीको बेलायती दोश्रो पुस्ता म भन्छु , जसको अन्त कता भनेर सोच्ने बेला आएकै छैन र उसलाई त्यो सोच्ने फुर्सद नै छैन, ऊ अध्ययनमा व्यस्त छ । शतप्रतिशतले अति राम्रो अध्ययन गरेका छन् र मूलधारमा हरेक क्षेत्रको प्रतिस्पर्धामा व्याप्त छन् ।

दोश्रो समूह यानिकि मेरो मान्यताको पहिलो नेपाली पुस्ता, हुन त केही नेपालीहरु यो वर्गीकरण भन्दा अगाडि नै बेलायतमा वसेर दोश्रो पुस्ता हो म भन्ने पनि भेटिन सक्छन् तर ती नगन्य होलान् ।

“होइन साथी, घर त ठूलै किन्नु भयो त, नेपाल नफर्किने विचार छ क्या हो ?”
यसमा साथीको जवाफ आउँछ –
“नेपाल नफर्केर त के हुँदो हो, कति दुःख गरी राख्ने यो अर्काको देशमा ? सधैको चिसो हावापानीमा सकिंदैन बुढेसकालमा त, नेपाल नै जाने हो ।”
“..होइन, आफूले त रातो पनि लिइसक्यो अरे त ?”
“ए त्यो त फर्कने बेलामा फिर्ता गरी दिने हो । अहिले अरु देश घुमफिर गर्न सजिलो हुने भएर हो ।”
“ए हो । अनि कहिले भन्न खोजेको कति उमेरतिर फर्कदा होला त ?”

तर माथिकाे सो प्रश्नमा फरक फरक जवाफ पाइन्छ, केटाकेटी साना हुनेको जवाफ ‘केटाकेटी सानै छन्, तिनीहरुलाई यूनीतिर पठाएपछि लाग्नु पर्ला’, छोरा छोरी यूनी हुनेको जवाफ ..’भरखर पढ्दै छ, त्यो जागीरमा लागेपछि हिंडिहाल्ने हो’ । छोराछोरी जागीर खानेकाको जवाफ ..’अब विवाह गरी दिने अनि लौ गरी खाओ भन्ने अनि आफू नेपालतरि लाग्ने हो’ भन्ने हुन्छ ।

“कामधाम छोडेरै जाने त होला नी ?”
“होइन, ६५ सम्म त काम गर्न सकिएला नी, पाइन्छ के रे ।”

यी माथिका जवाफ मजस्ता सबैका एकै छन् । यो पुस्ताले बेलायत आएदेखि कामबाहेक अरु सबै अक्षरशः नेपालको धर्म संस्कृति, राजनीति, जाति, क्षेत्र र वानीव्यहोरासमेत पालन गर्छ । अधिकांश समय नेपालकै राजनीति र विकासकै कुरामा खर्चिन्छन् । नखर्र्चीयोस् पनि कसरी ? त्यही हुर्के पढेको, त्यही धूलोमाटो र पानी खाएर पचाएको, त्यही राजनैतिक संस्कार बोक्दाबोक्दै विदेश पलायन भएको, गाउँबाट सदरमुकाम झर्ने सपना, सदरमुकामबाट काठमाण्डौ चढ्ने सपना देखेको र ती सपना सबै पूरा भई बेलायतमा समेत सके २÷३ वटा नभए पनि एउटा घर र परिवारका सदस्यैपिच्छे एउटा एउटा कार भई सकेकोले अबको सपना भनेको नेपाल जाने र मोज गर्ने नै छ । यो समूह धेरै बाठो मान्छे मध्यमा पनि पर्दछ किनकि यिनीहरु प्राय नेपालको कलेजतहसम्म पुगेको, नेपालको कर्मचारीतन्त्रको जाने बुझेर काम लिन पनि सक्ने, अलि अलि अंग्रेजी पनि झारी हाल्न सक्ने, कमप्युटर पनि पटापुटु पारी हाल्ने तर दक्षता भने केहीमा नभएको, राजनीतितर्फ भनौ भने नेपालको सबै राजनितीक पार्टी, तिनका भातृ संगठन र तिनी भित्रको गुट उपगुटमध्य एकमा अवश्य सहभागी भएका, उमेरका कारण नेपालमा पनि कोही न कोही आफ्नाे मानिस वा साथी माथिल्लो ओहोदामा पुगेको, जसको प्रयोग उसले सजिलै गरिरहेको, सम्पत्तिमा पनि केही पैतृक र केही शुरु शुरुमा पेपर बन्दैन कि, नबनेमा फर्किहाल्न पर्छ कि भन्ने सोंचले आफैले आज्र्यको पनि केही भएको, त्यो पनि नेपालको एनआरएन नियमले के कतिसम्म राख्न पाउने हो अझै निश्चित नभएका आदि पर्दछन् । यी यावत कुराले उसलाई अझै पनि नेपालतिरै अन्त गर्नुपर्छ भन्ने अन्तरमनको एक कुनाले भन्दै गरेको हुन्छ ।

तर अर्को पाटो उसले बाहिर नदर्शाए पनि भित्र मनमा के छ होला भन्ने विस्तारमा जाउँ । देश छाडेको धेरै भइसक्यो जति नै बाहिर बसेर नेपालको सिस्टमको विरोध गरे पनि देशले विकाशको लामै फड्को मारिसकेको छ । साथी भाइहरु हिजोको मोटरसाइकल होइन, करोडभन्दा बढी पर्ने कार फेरी फेरी चढ्ने भएका छन् । यता आफू नियम कानूनको परिधि ननाघ्ने बानी परिसकेको छ भने त्यहाँ नियमअनुसार जाउँ भने कुनै काम पनि समयमा हुन सक्दैन । सानातिना कामका लागि पनि नेता, दलाल वा पैसा अगाडि सार्नु पर्दछ । मालपोत जाउँ, तपाईंको यो कागज मिलेन, मिलाएर ल्याउनुस् र सिफारिस खै ?, नापीमा जाउँ जतिपटक जानु त्यही जग्गा र कागज हो तर तपाईंको जग्गा बढी देखियो वा जग्गा पुगेन, जिल्ला प्रशासन जानुस् फाइल भेटिएन हजुर वा तपाईंको फाँटको मानिस विदामा छ भोलि आउनुस्, म नै हेरिदिउँला, वडा जाउँ लालपुर्जा खै ? जग्गा नै नहुनेलाई पनि । यता जति नै ठूलो रोग लाग्दा पनि निःशुल्क उपचार पाउने बानी, उता टाउको दुख्यो डाक्टर साहेबभन्दा, आज भर्ना हुनुहोस्, तपाईको दिशा पिसाब र रगत जांचपछि एक्सरे गर्न पर्छ भन्छ । पैसा झरिन्जेल यहीं ठीक हुन्छ भनी राख्ने, पैसा तिर्न नसक्ने देखिएपछि भने यहाँ राम्रो भएन, मणिपाल, बीर अस्पताल लानुहोस् भन्ने ।

अब साथीभाइ इष्टमित्रतिर जाउँ, के हाल छ त ?

इष्टमित्रमा दाजुभाइ दिदीबहिनी बाहेकका कसैका छोराछोरीले चिन्दैनन् । अरुका छोराछोरीलाई आफूले चिन्न कोशिस गर्दा उसको बाबु बाजेको अनुहार सम्झी अनुमान लगाइसोध्नु पर्छ । आफूलाई चिनाउनु पनि भाइ भतिजको नामको सहारा लिनु पर्ने, कतै कुनै कार्यक्रम वा सामाजिक भेटघाटमा जाँदा पनि सबैले ट्वाल ट्वाल्ती हेर्ने, कसैले पनि वास्ता नगर्ने । आफ्ना साथी भाइ दौतरी पनि आआप्mनै पारिवारिक जनजालले घेरिएका हुने र भेटिए समय पनि दिन सक्दैनन्, उसका पनि आप्mनै समय तालिका र कार्याक्रम हुने, कता न कोही भेटिहाले पनि विदेश बसिन्जेल कहिल्यै नसम्झने वा अघिल्लोपटक आउँदा नभेटी गईस् भन्ने गुनासो मात्र गर्ने । सम्पन्न साथीलाई हेर्याे भने विलाशी गाडी र महल अनि उसका कुरा सबै अरबपति र आफ्नै पार्टीका दाइ(नेता)को मात्र कुरा हुने, कुने काम भनिदिन्छु र गराइ दिनसक्छु भन्ने । आफू त विदेशी लाहुरे । यता आफ्नै गति सं.म्झदा ६५ नाघेपछि सके सबै नभए पनि २÷४वटा दाँत झरिसकेको, प्रेशर वा डाइविटिजको रोगी, खानामा यो पनि खान नहुने, त्यो पनि खान हुँदैन, झन मन मस्तिष्कमा अशुद्द (मिसावट) खाना भन्ने छाप । विरामी परेमा विदेशबाट छोराछोरी समयमा आउन नसक्न,े सबैको समान परिस्थिति । अरुलाई भन्दा उमेर छँदा विदेशमा मस्ती गर्यौ, अहिले बुढेसकालमा हामीलाई दुःख दिने भन्ने आफन्तहरुबाट प्रश्न आउने प्रशस्तै सम्भावना पनि हुने म जस्ताको भविष्यको अनुमान लगाउन सकिन्छ । के गर्ने त ? अन्त कता त ? प्रश्नमै रहेको हुन्छ ।

लौ भो यतै अन्त गर्नु पर्छ भनौ भने ?

छोरा, छोरी, बुहारी, नाति नातिनी सबै यतै पढेका, सबका सब नोकरी गरेका, वा अध्यनमा व्यस्त हुने समान अवस्थाको अनुमान लगाउन सकिन्छ । उनहीरुको समय पाउन अग्रिम अनुरोध गर्नु पर्दछ ताकि उसले पनि आफ्नो मालिकसँग, कामसँग, परिवारसँग अनुरोध गर्ने समय पाओस् । उनीहरुको र आफ्नो समय, कुरा, र चालन केही मिल्दैनन् । विहान र साँझ त नित्यकर्म गर्दा ल, समय सजिलै जाला तर दिनको समयमा जीवन साथी र आफू मात्र । रोग त कुनै कुनै अवश्य हुन्छन् नै दुवै जनाको, एकै प्रकृतिको विमार भए त धेरै सजिलो हुन्छ तर फरक प्रकृतिका भए भने त झन् समस्या । एउटालाई एक छिन बसौ न त भन्यो ढाडले हुँदैन भन्छ, अर्कोलाई एकछिन उठौं न त भन्यो घुँडाले हुँदैन भन्ने हुन्छ । जवानीमा साथसाथै हिँड्ने भनी खाएका कसम आजसम्म निभाउँदै आए पनि अब शरीरले साथ नदिँदा तोडिन्छन् । तिमी जाऊ, खाऊ मैले सकिन भन्नु पर्ने । एउटालाई व्लड प्रेशर हाइ छ, नुन खानै नहुने, अर्काेलाई लो छ, चर्को चाहिने, दुई भान्सा गर्न परेमा के होला ? यी यावत कुरा यो पुस्ताका समस्या हुन् । दिन आज भोलिभन्दा झन छिटो छिटो आए जस्तो छ, जतिसुकै व्यायाम र खानपिनमा ध्यान दिए पनि अनुहार र खुम्चिँदै गएको छ र शरीरमा कहिं न कतै दुखाइ थपिंदै गएको छ तर पनि निर्णय अझै पनि लिन सकेको छैन, भोलि म कता लाग्ने भन्नेमा अन्यौल नै छ, योजनाविहीन राम भरोसे ।

हुन त जीवनलाई बुझेका भन्नेहरुले अक्सर भन्ने गर्दछन्, बाँच्ने क्रममा भएका अतीतका गल्तीहरुलाई सम्झेर चुक्चुकाई अनि भविष्यको रुपरेखामा उल्झेर चिन्तित भई आफ्नो अमूल्य वर्तमानलाई खेर नफालौं, जीवनमा सक्दो मस्तसँग आजको फाइदा लिऔं, र मनग्य बाँचौं । यो खासगरी तेस्रो पुस्ताको बेलायती नेपालीहरुमा लागू हुन्छ तर जति नै सम्झे तथा बुझे पनि मजस्ता पुस्ताको मनमा बस्नै नसकेको यस उक्ति, पढ्नलायकको मात्रै भएको छ । मजस्ताको जीवन वास्तवमा भन्ने भए मरुभूमिमा भौंतारिएको मृगको तृष्णाजस्तै भएको छ । कहिलेकाहिँ त लाग्छ, हामी वास्तवमा धोबीको कुकुरजस्ता भएका छौ, घरको न घाटको जस्तै न बेलायतको हुन सकेका छौं, न नेपालका रह्यौं ।

About: Bhim Baniya

Former President of Chhetri Samaj UK who likes to travel, read and write. He represents community activities for Mero UK and regular blogger

One thought on “अन्यौलमा बेलायती मेरो पुस्ता -भीम बानिया”

  1. लेखक दाजुलाइ धन्यवाद । शिर्षक रोचक लाग्यो एक पटक साथीहरुलाइ नजर लगाउनु हुना अनुरोध गर्दछु ।

  2. विश्वमा यस्ता ‘अनागरिक’हरुको संख्या निकै ठुलो छ । रेमिटेन्स भित्र्याउने देशले बिदेशिएको भन्ने श्रम दोहन गरेको देशले बिदेशी भन्ने ! यिनीहरुको न त मताधिकार छ न देश नै यकिन छ । उदारवादको मानवाधिकार र प्रजातन्त्रले यस्तो मानव श्रोतका बारेमा कहिँ कतै नीतिगत व्यवस्था गरेको देखिन्न । स्वदेश – विदेश दुबैले यस्ता आप्रवासीहरुबाट भरमग्दुर लाभ लिएर पनि यिनीहरुका बारेमा सोच्नसम्म कन्जुस्यांई गरिरहेका छन । आप्रवासीहरुका लागि अन्तराष्ट्रिय स्तरको संगठन आइ ओ एम त् छ तर यसका गतिविधि पर्याप्त छैनन् । नागरिक समाज सक्रिय हुनु पर्ने हो; तर अनागरिकहरुको नागरिक समाज चुनावका वेला कार्यक्रम (?!) घोषणा गरेर काम चाहिं नगर्ने नेपालि राजनीतिको विकृति विश्व भर फ़ैलाइरहेछन । वास्तवमा यो निकै संवेदनशील इस्यू हो, यसमा विश्व नै उदासिन छ।

  3. It is so reality based and objective!
    What you have said is very true,Bhim Daadaa.Thank you so much for bringing such things into light…………..!

Comments are closed.

Top
www.000webhost.com